सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीले लिए वनमन्त्रीको शपथ

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ लिएका छन्।
आइतवार ५ बजे प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमबिच प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ खुवाए। सुदूरपश्चिम प्रदेशसभाको चौथो ठुलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केही दिन पहिले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएकी थिइन्। संसदीय दलको बैठकले अध्यक्षको निर्देशन विपरीत घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो। शनिवार बसेको अर्को बैठकले विवादबिच नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई मन्त्री पदको शपथ ग्रहण गराउन सिफारिस गरेको थियो।

सात प्रदेश सभा सदस्यमध्ये चार जनाको उपस्थितिमा बहुमतको आधारमा चौधरीको नाम टुङ्गो लगाइएको सो दलले भनेको थियो। कैलाश चौधरी मन्त्री बन्नबाट पछाडि हटेपछि रामेश्वर चौधरीलाई अगाडि सारिएको थियो। कैलाली क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभामा निर्वाचित चौधरी यसअघि कमलबहादुर शाह नेतृत्वकै सरकारमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए।
विवादास्पद अडियो सामग्री सार्वजनिक भएपछि सो पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारीमा रहेको लक्ष्मणकिशोर चौधरीले पदबाट राजिनामा दिएका थिए। त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सो पार्टीका सात जना सदस्य रहेका छन्। नेपाली कांग्रेसबाट १८, नेकपा (एमाले) बाट ११, नेकपा (माओवादी केन्द्र) बाट ११, नेकपा (एकीकृत समाजवादी) बाट ४, तथा राप्रपा र स्वतन्त्र एक–एक सदस्य रहेका छन्।