सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक करोड २० लाखको बजेट फिर्ता हुँदा बैतडीमा खेत बाँझै

। फोटो स्रोत ।
२०७९ चैत्र १६, ०१:०८

बैतडी : सिँचाइ कुलो निर्माणका लागि प्राप्त बजेट किसानलाई थाहा नदिई सिँचाइ डिभिजन कार्यालयले फिर्ता पठाएपछि बैतडी मेलौलीका ५० घरपरिवारको १० हेक्टर खेत बाँझो हुने अवस्था आएको छ।

मेलौली नगरपालिका–१, मुद्रे–स्यालतडीमा सिँचाइ कुलो निर्माणका लागि प्राप्त एक करोड २० लाख रुपियाँ बजेट सिँचाइ डिभिजन कार्यालयले फिर्ता गरेको किसानले आरोप लगाएका छन्। 

सुर्नया नदी किनारमा रहेको मेलौली नगरपालिका–१, मुद्रे–स्यालतडी खेतमा लाग्ने कुलो २०६२ सालमा आएको बाढीले बगाएपछि सो स्थानको खेत १८ वर्षदेखि बाँझो छ। सिँचाइ कुलो निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालमा बजेट विनियोजन गरे पनि बहुवर्षीय ठेक्का हो भन्दै अलमल पारी सिँचाइ डिभिजन कार्यालयले बजेट फिर्ता गरेको किसान लालमनी भट्टले बताए।

तत्कालीन सिँचाइ डिभिजन कार्यालय बैतडीका प्रमुख तेजप्रसाद दाहालले अहिले कोरोनाको डर छ, काम गर्न सकिन्न भनेर बजेट फिर्ता पठाएको बताइन्छ। प्रमुख दाहालले सिँचाइ योजना बहुवर्षीय भएकाले कोरोनाको कारण देखाउँदै योजनाको टेन्डर नै आह्वान नगरेको बताइन्छ। स्थानी किसान लालमनि भट्टले सिँचाइ कुलोका लागि आएको बजेट किसानसँग सल्लाह नै नगरी फिर्ता पठाएकोमा दुःख व्यक्त गरे।

मेलौली नगरपालिकाको केन्द्रबाट चार घण्टाको पैदल दूरीमा रहेको मुद्रे–स्यालतडी गाउँ जान सिँचाइका कर्मचारीले अल्छी गरेका कारण बजेट फिर्ता भएको किसानको गुनासो छ। बाढीले सिँचाइ कुलो बगाएपछि यहाँका ५० परिवार विस्थापित भएर छिमेकी वडामा बसाइँ सरेको अगुवा किसान चिन्तामणि भट्टले बताए। धान फल्ने खेतको कुलो बगाएपछि २०६२ सालदेखि कुलोका लागि तत्कालीन गाविस र जिविस धाए पनि माग पूरा नहुँदा बसाइँ सरेको उनले बताए। उनले भने, “अब त हाम्रा घर पनि भत्किसके। खेतबारी झाडीमा परिणत भइसक्यो।”   गोरखापत्र 

कमेन्ट लोड गर्नुस