सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जग्गा प्लटिङमा नयाँ व्यवस्था, ‘लगत कट्टा गर्न तीन सर्त’

२०७९ चैत्र १४, ०६:४६ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाभित्र जथाभावी जग्गा प्लटिङ गर्न नपाइने भएको छ। धनगढी उपमहानगरपालिका क्षेत्रभित्र प्लटिङ गर्दा जग्गा व्यापारीले अनिवार्य सडक ग्राभेल गर्नुपर्ने नियम लागु गरिएको छ। विगतमा जथाभावी जग्गा प्लटिङ गरिँदा नाफा जति जग्गा व्यापारीले लग्ने सडक, नाली र बिजुलीको लाइन तान्ने दायित्व उपमहानगरलाई थपिँदै आएको थियो।

अब भने नयाँ बस्तीहरूमा आधारभूत सुविधाको विकास होस् भनेर जग्गा व्यवसायीले सडकमा ग्राभेल हाल्ने, बिजुलीको पोल गाडेर तार तान्ने र कच्ची नाली निर्माण गरेपछि मात्रै उपमहानगरले लगत कट्टा गर्ने नीति लिएको उपमहागरपालिकाका नापी शाखा प्रमुख भुवन शाहीले बताए।

‘धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङ गरेर बाटोको लगत कट्टाको सिफारिस गर्दा अनिवार्य न्यूनतम आधाभूत सुविधाको विकास जग्गा व्यवसायीले नै गर्नुपर्ने नियम लागु गरेको छ,’ उनले भने, ‘अब पहिलाजस्तो लगत कट्टाको सिफारिस मागेका आधारमा उपमहानगरले नदिने निर्णय भएको छ।’ जग्गा व्यवसायीले जग्गा प्लटिङ गर्ने तर बस्ती विकासका लागि कुनै लगानी नगर्ने अभ्यास विद्यमान थियो। जसका कारण सम्पूर्ण पूर्वाधारमा उपमहानगरले लागनी गर्नुपर्ने बाध्यता थियो।

अब भने जग्गा व्यापारीले प्लटिङ गर्दा सडक ग्राभेल गर्ने, कच्ची नाली खन्ने, चार्जिङसहितको दुई फेजको बिजुलीको लाइन तयार गरेपछि मात्रै २० फिटको सडकको लगत कट्टा लागि सिफिरस गरिने नगरप्रमुख गोपाल हमालले बताए। ‘हामीले धनगढीको सबै बस्तीको सडक ग्राभेल गर्ने नीति लिएका छौँ। अहिले सडकमा ग्राभेल माग्न उपमहानगर धाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘यो कार्यकालमा धनगढीका सबै सडक गाभ्रेल गर्न जग्गा व्यवसायीलाई पनि जिम्मेवार बनाउन यो निर्णय लिइएको हो।’

धनगढी उपमहानगरपालिकाले साउन १ गतेदेखि बाटोको लगत कट्टा गर्ने सिफारिस गर्दा प्लटिङ गरिएको जग्गामा २० फिटको  सडकमा १५ सेन्टिमिटर ग्राभेल हाल्नुपर्ने, सडकको दुबैतर्फ कच्ची नाली र हरेक ५० मिटरको दुरीमा पोल गाडेर दुई फेजको बिजुलीको लाइन तान्नै पर्ने अनिवार्य गरेको नगरप्रमुख हमालले बताए। ‘धनगढी उपमहानगरपालिकाले हरेक बस्ती र घरसम्म जाने सडक कम्तिमा ग्राभेल भएको हुनै पर्ने नीति लिएको छ,’ उनले भने, ‘अहिले उपमहानगरले १९ वटै वडाका ग्राभेल हुन नसकेका सडकको तथ्याङ्क संकलन गर्ने काम गरिरहेको छ।

लगत संकलनपछि सबै वडाका सडकमा ग्राभेल गर्ने र नयाँ प्लटिङमा जग्गा व्यवसायीले नै सडक ग्राभेल गर्नुपर्ने छ।’ धनगढी उपमहानगरपालिकाले ग्राबेल माग्न नागरिकले उपमहानगरपालिकासम्म धाउनुपर्ने अवस्थाको अन्त गर्ने जनाएको छ। एक टिप्पर ग्राभेल माग्न पटकपटक उपमहानरपालिको कार्यालयमा धाउनुपर्ने अवस्था आउन नदिन १९ वटै वडा कार्यालयबाट ग्राभेल गर्न बाँकी सडकको लगत संकलन गर्ने काम भइरहेको उपमहानगरले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस