कैलालीको चुरे क्षेत्रको वनमा आगलागी

धनगढीः कैलालीको चुरे क्षेत्रको वनमा आगलागी भएको छ।
गर्मीयाम सुरु भएसँगै यस वर्ष पनि कैलालीको गोदावरी नगरपालिकाको चुरे क्षेत्रमा डँढेलो लागेको हो। शुक्रवारदेखि चुरेको वन क्षेत्रमा डँढेलो लागेको स्थानीयले बताएका छन्। गर्मी मौसममा बिरुवाका सुकेका पातले गर्दा वन क्षेत्रमा चाँडै आगो फैलिने गरेको छ।यसैगरी मान्छेले घाँस राम्रो पलाउने भनेर वन क्षेत्रमा आगो लगाउने गरेको वन कर्मचारीले बताउने गरेका छन्।
जसले गर्दा हरेक वर्ष पहाड हुँदै चुरे क्षेत्र र राष्ट्रिय वनमा आगलागी हुने गरेको छ। हरेक वर्ष वनमा हुने आगलागीका घटनाले जंङ्गली जीव, जनावर तथा पशुपन्छी मर्ने र वासस्थान नासिने गरेको छ। मान्छेको व्यक्तिगत लापारबाही तथा बिडी र चुरोटको ठुटा जथाभावी फाल्ने जस्ता प्रवृत्तिका कारण आगलागीका घटना घट्ने गरेको छन्।
चुरे क्षेत्रमा डँढेलो लागेपछि आसपासका स्थानीय चिन्तित भएका छन्। डढेँलोले सामुदायिक वन, खानेपानीका पाइप जल्नसक्ने भन्दै स्थानिय चिन्तित भएका हुन्। तर, गोदावरीको चुरे वन क्षेत्रमा डँढेला के कसरी लागेको भनेर थाहा भइसकेको नसकेको वन अधिकारीले बताएका छन्।

