सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै शव नउठाउँने आफन्तको चेतावनी

सेती अस्पतालमा उपचाररत युवती मृत्यु प्रकरण

२०७९ चैत्र ४, ०३:५५

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवतीको आज विहान मृत्यु भएको छ। कैलालीको चुरे गाउँपालिका–३ की ३५ वर्षीया झरना थापा मगरको उपचारका क्रममा मृत्यु भएको हो।

पाठेघरमा समस्या देखिएपछि चैत १ गते अस्पतालमा भर्ना भएकी उनको शनिवार मृत्यु भएको छ। शल्यक्रियाका क्रममा उनको मृत्यु भएपछि चिकित्सकको कमजोरीका कारण मृत्यु भएको आफन्तको आरोप छ। वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष टेकबहादुर शाहले बिरामीको शरीरमा रगतको मात्रा कम हुँदा पनि चिकित्सकले शल्यक्रिया गरेका कारण मृत्यु भएको बताएका छन्।

उनका अनुसार ती युवती भर्ना हुँदा शरीरमा १३ पिन्ट रगत थियो।  तर शल्यक्रियाका क्रममा शरीरमा ५ पिन्ट मात्र रगत थियो। ती युवतीको शल्यक्रिया डाक्टर जगदिशचन्द्र विष्टले गरेका हुन्। उपचारमा संलग्न डाक्टर विष्टले शल्यक्रियाकै कारण बिरामीको मृत्यु नभएको बताए। उनले भने, ‘मृतक युवतीको पाठेघरबाट रगत बगेको देखिदैन।

अन्यत्रबाट बगेको भए थाहा भएन। बिरामीमा अन्य रोगको समस्याले मृत्यु भएको हुन सक्छ जुन रोगबारे थाहा थिएन। तर अप्रेसनकै कारण मृत्यु भएको होइन।’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हेमराज पाण्डेयले मृत्यु यकिन कारण बारे अहिले भन्न नसकिने बताए। विज्ञ टोलीको अनुसन्धानपछि मात्र मृत्युको कारण बारे भन्न सकिने बताए। 

मृतक युवतीका आफन्त ठक्करबहादुर रानामगरले चिकित्सकको लापरवाहीका कारण मुत्यु भएकाले सत्यतत्य छानबिन नभएसम्म शव नउठाउने बताएका छन्। ‘ठुलो विश्वास गरेर सेतीमा उपचार गर्न ल्याएका थियो, तर चिकित्सकको लापरवाहीले यति ठुलो दुर्घटना हुन पुग्यो, हामी सत्यतत्य छानबिन र विश्वस्त हुने आधार नभएसम्म लास उठाउने पक्षमा छैनौँ।’

कमेन्ट लोड गर्नुस