कञ्चनपुरका पाँच स्थानमा छाडा चौपाया व्यवस्थापन
कञ्चनपुरः कञ्चनपुरका पाँच स्थानमा छाडा चौपाया व्यवस्थापन गरिने भएको छ। जिल्लाको कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ। यसका लागि नगरपालिकाका पाँच स्थान तोकिएका छन्।
निगाली, वनहरा, गजविजुला, वनदेवी र ग्वासी समैजीमा एक हजार एक सय छाडा चौपाया व्यवस्थापन गरिएको छ। छाडा चौपायाका लागि तत्काल टहरा र ‘मेसवायर’ जडान गरी व्यवस्थापन गरिएको नगरप्रमुख हेमराज ओझाले बताए।
‘जेठ महिनाभित्रै स्थायी प्रकृतिका भौतिक पूर्वाधार निर्माण गरी छाडा चौपाया व्यवस्थापनको कार्यलाई टुङ्गोमा पुयाउछौंँ’ उनले भने, ‘त्यसका लागि कार्य अगाडि बढाइसकेका छौंँ।’ उनका अनुसार हालसम्म छाडा चौपाया व्यवस्थान गर्नका लागि १६ लाख बढी रकम खर्च गरिएको छ।
छाडा चौपाया व्यवस्थापन गरिएका पाँचवटै स्थानमा १५ हजार तलब दिने गरी हेरालाको व्यवस्था गरिएको उनले बताए। व्यवस्थापन गरिएका चौपायालाई चारोको व्यवस्था गर्ने र वन क्षेत्रमा चरनका लागि लैजाने ल्याउने कार्य हेरालाले गर्ने गरी राखिएको छ।
छाडा चौपायालाई खुवाउनका लागि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा ५० क्वीन्टल प्लेट दाना, ५० ट्राली पराल प्राप्त भएको छ। ५० हजार रकम खर्च गरेर नगरपालिकाले थप दाना र पराल खरिद गरी छाडा चौपायालाई खुवाउने कार्य भइरहेको नगरप्रमुख ओझाले बताए।
नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त साझेदारीमा छिट्टै छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिन लागेको उनले बताए। छाडा चौपाया व्यवस्थापनको कार्यका लागि दुवै स्थानीय तहबीच छलफल गरी सहमति भएको छ। दुवै स्थानीय तहले आधा–आधा लागत खर्च व्यहोर्ने गरी कार्य अगाडि बढ्ने भएको हो।
नगरपालिका क्षेत्रमा विगतमा छाडा चौपायाका कारण किसानले निकै हैरानी खेप्दै आएका थिए। ‘छाडा चौपायाले किसानले लगाएको अन्नबाली खाइदिने गरेकाले निकै नोक्सानी व्यहोर्दै आएका थियौँ’ नगरपालिका–२ बाणिका बासिन्दा सोभाराम खुनाले भने, ‘छाडा चौपाया व्यवस्थापनको कार्य गरिएपछि सहज रुपमा बाली लगाउन र भित्र्याउन पाएका छौँ।’
छाडा चौपायाको दीगो रुपमा व्यवस्थापनको कार्य गरिनुपर्ने उनले बताए। नगरपालिकाले वडा नं १, २, ३, ४ र ५ मा छाडा चौपाया व्यवस्थापनको कार्य गरेको छ। अन्य वडामासमेत छाडा चौपायाको समस्या समाधानका लागि लाझाडी गाउँपालिकाको साझेदारीमा सो काम अगाडि बढाइएको छ।