होली पर्वको साँस्कृतिक महत्व
मानसिंह धामीः होली हिन्दु संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ। जब ऋतुराज वसन्तको पुनरागमन हुन्छ, प्रकृति हराभरा भइ मुस्कुराउन थाल्छिन्, वरिपरिको पूरै वातावरण रमणीय देखिन थाल्छ तव बस्ती र गाउँ होलीमय हुन पुग्छन्।
संगीतका पारखीहरूले राग, आलाप, तान, हारमोनियम तथा ठुमरीका मीठा धुनहरू गुञ्जाउन थाल्छन् र शिशिरबाट कठ्याङ्ग्रिएको जाडो न्यानो हुन थाल्छ। होलीसँगै गाउँबस्तीमा पूर्ण आशा र उमङ्गका साथ नयाँ वर्षका शुभ संकेतहरू देखा पर्न थाल्छन्। अनि फागुन शुक्ल अष्टमीदेखि प्रत्येकका घरआँगनमा फागु महोत्सवले पाइला टेक्छ।
सनातनीहरुले समय समयमा विभिन्न धार्मिक तथा साँस्कृतिक चाडपर्वहरु हर्सोल्लासका साथ मनाउँदै आएका छन्। नेपालीहरूको महान चाड वडादशैं, भाइटिका, वसन्त पञ्चमी, फागु पूर्णिमा, गोःरापर्व आदि हुन्। यी चाडपर्वहरु मध्ये होली वसन्त ऋतुको आगमनसँगै एक विशेष उमंगले भरिएको रङ्गै रङ्गको चाड हो।
विभिन्न रङहरू दल्नु, रङ्गीन घोलले भिज्नु भिजाउनु, होली सम्वन्धी गीतहरू गाएर नाच्दै रमाइलो गर्नु होलीका विशेषता हुन्। तर, अरुको इच्छा विपरीत हिलो छ्याप्ने, लोला हान्ने, अण्डा फुटाउने, अनावश्यकरुपमा पूरै शरीरमा रङ, हिलो छ्याप्ने,गाँजा, भाङ, चरेस तथा मादक पदार्थ सेवन गरेर अश्लिल शब्द प्रयोग गर्दै चेलीबेटीहरू लक्षित कृयाकलापहरू गर्नु कदापि हाम्रो सामाजिक मूल्य मान्यता अनुकूल भने हुन सक्दैन।
होली सम्बन्धी यीं मेरा बिचारहरू पढ्दै गर्दा पाठकहरूलाई होली मनाउनुको कारण बारे पनि जिज्ञासा हुन सक्छ। अतः पाठकको जिज्ञासालाई समेत ध्यानमा राखी मैले जानेका, सुनेका र पढेका कुराहरूको आधारमा होली सम्वन्धी केही जानकारी यहाँहरू समक्ष पेश गर्ने जमर्को गरेको छु।
होली खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाका दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो। हिन्दु संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ। त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिएको छ। हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णुभक्त प्रल्हादलाई केही नभएकोले त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ।
यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्नको लागि कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ। यो चाडले वसन्त ऋतुको आगमनको सङ्केत गर्दछ। होली रङ्गहरूको चाड हो।
होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू दलेर एक अर्कालाई रङ्गिन बनाउँछन्। होली खेल्ने दिन भन्दा एक दिन पहिले रातिको समयमा होलीका दहन गरिन्छ। राति होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ। सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन्। युवा–युवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन्। भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित सुमधुर सम्बन्ध स्थापित गर्दछन्। यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ।
होली पर्वमा घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्म रङ्गीन परिवेश बन्छ। केटाकेटी, युवायुवती तथा प्रौढहरूका हुल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी मनमुटावलाई बिर्सेर उत्साह र उमङ्गका साथ होली पर्वको मनाउने गर्छन्।
अबिर रङको प्रयोग होलीमामात्र नभएर रातो अबिरको टीकाको प्रयोग त हाम्रो नेपालमा जुनसुकै विजय उत्सव तथा खुशियाली साटासाट गरिन्छ। होलीका बिबिध राम्र पक्ष हुँदाहुँदै पनि केही विकृतिहरू जानाजान बढाउने कामहरू भएको देखिन्छ। जाँड रक्सी सेवन गरेर होली खेल्ने, अनावश्यक रङ दल्ने, लोला हिर्काउने, फोहर र हिलो छ्याप्ने जस्ता काम जानाजान गरेर होलीको गरिमा र महत्व घटाउने काम पनि भएको पाइन्छ। यस्ता विकृत व्यवहारले होलीको महत्व घटाउनेतर्फ भने सचेत हुनु जरुरी छ।
अतः साथीभाइ, इष्टमित्र, सहकर्मी, छरछिमेक सबै मिलेर एक आपसमा खुसियाली बाँड्दै सभ्य र भव्य तवरले उमंगका साथ पुरानो वैमनष्यता, कटुता बिर्सेर रमेर रङ्गको होली खेलौँ। वसन्त ऋतु र नयाँ वर्षको आगमन निम्त्याउने यस वर्षको होली सफल पारौँ। असत्य माथि सत्यको विजय होस! सबैका दुःख, पिडा, रोगव्याधी हटेर जाउन! यस वर्षको होलीको सबै सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। (लेखक सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक हुन्)