सातौं राष्ट्रिय धाम शैल्य शिखर मालिकार्जुनको संक्षिप्त इतिहास
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं.–३ मडमा मालिकार्जुन स्वामी बिराजमान हुनुहुन्छ।
मालिकार्जुनको बारेमा चित्रण गर्दै गर्दा मालिकार्जुन को हुन् र मालिकार्जुन नाम कसरी रहन गयो भन्ने जिज्ञासा पाठकलाई हुनु स्वभाविक नै हो। पाठकको जिज्ञासालाई ध्यानमा राखी मालिकार्जुन नाम कसरी रहन गयो भन्ने कुरा यो लेखमा समेट्नु सान्दर्भिक होला जस्तो लाग्छ।
स्कन्द पुराणमा अर्जुन पर्वतको बारेमा उल्लेख गरिएको पाइन्छ। हालको महाकाली नगरपालिकाअन्तर्गत दत्तु र धापको टुप्पो, मालिकार्जुन गाउँपालिका अन्तर्गत मडको टुप्पो र शैल्य शिखर नगरपालिका अन्तर्गत ग्वानीको चुचुरो (टुप्पो) शिखर रहेको करिब १२/१५ कि.मी. को दुरीमा फैलिएको लामो नागबेली आकारका बलशिखर, न्वालपानी, मौतामौती समेतका शिखरहरुको मिश्रित रुप नै पौराणिक अर्जुन पर्वत हो ।
यस्ता पौराणिक घटना र हालको अवस्थितिले पौराणिककालमा यस क्षेत्रमा मानव बसोबास क्षेत्र रहेको र ऋषिमुनिहरुको तपोभूमि र देवताहरुको निवास स्थलको रुपमा देवभूमि रहेछ भन्ने कुरा स्पष्ट हुन्छ। भगवान शिव मालिकार्जुन अवतारको रुपमा यस क्षेत्रमा बिराजमान रहेको कुरा स्कन्द पुराण मानसखण्डले पनि पुष्टि गरेको छ। यस पर्वतमा शिवरुपी अर्जुनले बास गरेकोले यस पर्वतलाई अर्जुन पर्वत भनियो । यसै पर्वतमा पार्वती र मालिकादेवीको समेत बास भएकोले अर्जुन र मालिकाको योगले यस क्षेत्रलाई मालिकार्जुन भनिएको हो ।
मालिकार्जुन मन्दिरको बारेमा वर्णन गर्दैगर्दा पूर्णागिरी माता मन्दिरको झझल्को आइरहेको छ। पूर्णागिरी माताको दर्शन गर्न जाँदा जति उचाइ चढ्नु पर्छ, सायद मडबाट अर्जुन पर्वत (शैल्यशिखर पर्वत धुरा) पुग्न पनि उति नै दुरी र समय लाग्छ होला।
मडमा अवस्थित मालिकार्जुन मन्दिरबाट करिब दुई अढाई घण्टाको पैदल यात्राको उचाइ पार गरेपछि शैल्यशिखर धाम अर्थात शिखर धुरामा पुगिन्छ। तथापि मैले भने शैल्यशिखर धाम (शिखर धुरा) को दर्शन गर्ने अवसर जुराउन सकेको छैन। द्वितीय ज्योतिर्लिङ्ग मालिकार्जुनको मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणबाट पुष्टि भएको पाइन्छ। त्यहाँबाट सौराष्ट्र प्रदेश हुँदै कत्युर, गढवाल, कुमाऊँ हुँदै दार्चुलातिर आएको मालिकार्जुन भक्ति गाथामा वर्णन गरिएको छ।
भारतमा भइरहेको धार्मिक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ति त्यहाँका हिन्दुहरू एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण हुँदै गए। स्थानान्तरण हुँदै जाने क्रममा भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरू आफ्नो इष्टकुलसहित नेपाल प्रवेश गरेको तथ्य मालिकार्जुनको भक्ति गाथाहरुबाट स्पष्ट हुन्छ।
धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिङ्ग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुँदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको हालको लेकम गाउँपालिकाअन्तर्गत रिठाचौपाता आएर रिठा भन्ने ठाउँमा बास बसेको श्रुति छ। त्यही शिवलिङ्ग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पूजा गरेको भन्ने मालिकार्जुनको झोडोमा उल्लेख छ।
श्री शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणीय स्थलहरू खोजी गर्दै हिड्ने क्रममा दुहुँको हुतीमा समेत बास बसेको मालिकार्जुनको भक्ति गाथाहरुमा उल्लेख गरिएको छ। श्री मालिकार्जुन ज्योर्तिलिङ्गको स्थायी बासस्थान खोज्दै जाने क्रममा मालिकार्जुन श्री शैल्य शिखर पर्वतमा आएर बस्नुभएको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतिगानमा उल्लेख भएको पाइन्छ। मालिकार्जुनको धाम मालिकार्जुन गाउँपालिका र शैल्यसशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको बिच माथि शिखरधुरामा पर्दछ ।
आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिँडेपछि अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिङ्ग खोज्दै थिए। उनका अन्य साथीहरू प्रभुको ज्योर्तिलिङ्गको खोजीका क्रममा विभिन्न ठाउँहरूमा घुम्दै गए।
तर, कहीं कतै पनि आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिङ्ग नभेट्टाएपछि उनीहरु भक्ति र शोकमा व्याकुल भए। यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राति सपनामा दर्शन दिई आफू मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाइ बसेको बताए।
भगवानले सपनामा अभयराज पाण्डेयलाई भनेछन्, तिमी भक्त एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको सुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्नो बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि–पछि आउदै गर्नू । बाघले तिमीलाई म कहाँ पु–याउने छ।’
त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युँझी हेर्दा बाहिर उज्यालो भएको देखिन्छ। सपनीमा भने जस्तै वहाँको अगाडि प्रभुले खुट्टामा निङालाको सुरा भएको बाघ पठाइदिन्छन्। बाघलाई देखेपछि अभयराजले बाघको खुट्टाको निङालाको सुरा निकाली दिनुभयो।
अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि पछि लाग्छन्। बाघले उनलाई शिखर पर्वतको शिलामा पु–याउँछ। त्यहाँ पुग्दा अभयराजले साच्चीकै ज्योर्तिलिङ्ग भेटाउँछन्। अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले आकाशवाणी सुन्छन्।
महाराज मालिकार्जुनले अभयराजलाई भने, “हे भक्त मेरो स्थायी वसोवास अबदेखि यहीं नै हुनेछ, अबदेखि तिमी यहीं आएर मेरो पूजन र दर्शन गर्न सक्छौ।’ अरु भक्तहरूलाई पनि यहीं आउन भनिदिनू“ भन्दै आकाशवाणी बन्द हुन्छ।
यसरी शिखरबाट घर फर्केका अभयराजले श्री शैल्य मालिकार्जुनको ज्योर्तिलिङ्ग खोज्दै हिँडेका अन्य भक्तहरू भिमराज भट्ट, निमनाथ योगी, सुरदास औजी र धिराधारालाई खबर गर्न गाउँ-गाउँ मान्छे पठाएछन् र ज्योर्तिलिङ्ग शिखर पर्वतमा विराजमान भएको र त्यहीं पूजापाठ गर्नुपर्ने सन्देश दिन्छन्।
साँच्चिकै शिखर पर्वतमा रहेको शिलाभित्रको अदृश्य गुफामा यस्तो महान एंव अद्वैत शक्ति छ, जसको बयान गर्न प्रयाप्त शब्दहरू नै छैनन्। मसँग भक्तिभाव र सर्मपण छैन, त्याग, तपस्या र साधना पनि छैन्। यसरी मैले आफ्नो त्याग, तपस्या र संकल्प बिना मालिकार्जुन स्वामीको बारेमा प्रशंसा गर्दा मालिकार्जुन स्वामीको अपमान गरेको ठहरिने छ।
महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिक कालदेखि हरेक वर्ष आसार शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशीका दिन विधिअनुसार पूजा र दर्शन गर्ने गरिन्छ। महिना दिन अगाडिदेखि नुहाइ धोई चोखो बसी विशिष्ट खालको नीति नियम र विधि पार गर्दै पुगिने यो श्री शैल्यशिखर पूजन र दर्शन गर्नाले विघ्न वाधा हट्ने, शत्रु नास हुने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मान–सम्मानका साथै मुक्ति प्राप्त हुने जनविश्वास रहेको छ। म पनि माथि उल्लिखित कुराहरुमा शतप्रतिशत विश्वस्त छु। मालिकार्जुन स्वामीको बारेमा पाठकलाई थप जिज्ञासा भएमा यश पछिको लेखमा उल्लेख गर्ने नै छु ।
जय मालिकार्जुन स्वामी !!!
श्रोत सामाग्री :
काशीदत्त भट्ट (२०४३) मालिकार्जुन भक्तिखण्ड काव्य हरिद्धार ः फैन्डस प्रिन्टिङ प्रेस ।
इश्वरदत्त बडु (२०७१) दुहूँ क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन स्नातक शोधपत्र ने.स. वि.वि. शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर ।
दयाकृष्ण पन्त (२०६७) दार्चुलाको इतिहास महेन्द्रनगर ।
धामी, राजेन्द्र, दामोदर (२०७८), आराध्यदेव हुनैनाथको महिमा तथा औल्लेकी धामीहरुको वंशावली । गोकुलेश्वर, दार्चुला ।
लेखक : मान सिंह धामी, उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी