सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा फागुन ११ बाट हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइने

२०७९ फाल्गुन ९, ०५:२१ खबर संवाददाता

धनगढीः कैलालीमा हात्तीपाइले रोग विरुद्ध फागुन ११ बाट औषधि खुवाउने अभियान सुरु गरिने भएको छ। फागुन ११ गतेदेखि २५ गतेसम्म औषधि खुवाइने अभियान सुरू गर्ने सबै तयारी पूरा भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

सरकारले यो वर्ष कैलालीसहित ६ प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ। आउँदो ११ गतेदेखि २५ गतेसम्म स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोगका फोकल पर्सन मिनबहादुर धामीले बताए।

'धेरैले औषधि लिएर घरमा जाने तर नखाएको पाइएको छ,' उनले भने, 'अहिले हामीले स्वास्थ्यकर्मीकै अगाडि औषधि खानुपर्ने भनेका छौँ।'

यो वर्ष कैलालीसहित झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ र बाँके जिल्लामा यो अभियान सुरु हुनेछ। कैलालीमा यो वर्ष ९ औं चरणको अभियान सुरू हुने भएको हो। यसअघि धेरैले औषधि नखाइदिएकाले रोग निवारणमा समस्या भइरहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

कैलालीमा यो वर्ष १३ पालिकाको १२६ वडाका १४२ स्वास्थ्य संस्थाबाट औषधि खुवाइने फोकल पर्सन धामीले बताए। जिल्लाका ९ लाख २६ हजार ८८८ जनालाई औषधि खुवाउन पालिकाहरूले पालिका स्तरीय योजनाअनुसार काम गर्ने बताइएको छ।

हात्तीपाइले रोग शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ।यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने भएकाले रोगबाट बच्न औषधि खानु एक मात्र विकल्प भएको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए।

'हात्तीपाइलेबाट बच्न औषधि सेवन गर्नु एक मात्र विकल्प हो,' उनले भने, 'औषिध खाए सामान्य स्वास्थ्य समस्या देखिन सक्छन् तर अहिलेसम्म ‍औषधि खाएर जटिल स्वास्थ्य समस्या कसैमा पनि देखिएको छैन। दीर्घ रोगीबाहेक अन्यले औषधि खान हुन्छ।'

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु नहुने डाक्टर कमरले बताए।

कमेन्ट लोड गर्नुस