कैलाली–कञ्चनपुरमा रेलमार्ग अध्ययन, कहिले बन्छ डीपीआर?
धनगढीः संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागले चार वर्षअघि कैलाली–कञ्चनपुरमा रेलमार्ग विस्तारको अध्ययन गरेको थियो।
मन्त्रालयको प्राविधिक समूहले कैलालीको सुखडदेखि गड्डाचौकीसम्म ९० किलोमिटर रेल विस्तारका लागि रेखांकन गरेको हो। बुटवलदेखि कञ्चनपुरको गड्डाचौकीसम्म झण्डै चार सय मिटर रेलमार्ग विस्तार गर्ने भन्दै विभागको प्राविधिक समूह २०७५ मा कैलाली आएको थियो। रेलमार्ग विस्तारका लागि अध्ययन भएको चार वर्ष वितिसक्दा पनि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम पूरा भएको छैन।
रेल विभागका प्रवक्ता अमन चित्रकारले डीपीआरको काम अन्तिम चरणमा रहेको बताए। पश्चिममा डीपीआरको काम करिबकरिब सकिएको छ। अरु काम केही भएको छैन। ‘पश्चिममा बुटवल–लमही, अमही–कोहलपु, कोहलपु–सुखड र सुखड–गड्डाचौकी गरेर सर्वेक्षण गरिएको हो। डीपीआरमा धेरै ठाउँमा स्टेसनहरु छन्।
पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको दुबैतिर (उत्तर–दक्षिण)बाट रेल मार्गको सर्वेक्षण गरिदैछ। डीपीआरको काम लगभग भएको छ। इआएको काम बाँकी छ। काम हुँदैछ,’ उनले भने। कैलाली–कञ्चनपुर खण्डमा रेल मार्ग विस्तारका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम पूरा नभएकाले वातावरणीय प्रभाव मूल्यांकनको काम बाँकी छ।
रेल विभागले डीपीआरको काम पूरा नभएकाले इआए हुन सकेको छैन्। रेलमार्ग निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागको समूहले कञ्चनपुर र कैलालीका जनप्रतिनिधिसँग छलफल गरेको थियो। बुटवलदेखि कञ्चनपुरको गड्डाचौकीसम्म झण्डै चार सय किलोमिटर रेल मार्ग विस्तार गर्ने योजना छ।
रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार पश्चिम नेपालमा रेलमार्ग विस्तार गर्ने क्षेत्रका नागरिकलाई दिइने मुआब्जाको कामसमेत सुरु भएको छैन्। उनले भने, ‘पूर्वमा जग्गा रोक्का राखेर सूचना निकालेको हो। मुआब्जाको काम भएको छैन। राष्ट्रिय गौरवको आयोजना हो। सरकारले पैसा एकै पटक खनाउन सकेको छैन्।’
मेची–महाकाली रेलमार्ग आयोजना अन्तर्गत कैलालीको सुखडदेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९० किलोमिटर लामो रेलमार्ग निर्माण गर्न अध्ययन गरिएको थियो। अध्ययन भएको चार वर्ष हुँदा पनि डीपीआरको कामसमेत पूरा नभएको हो। संघीय सरकारले रेलमार्ग विस्तारको राष्ट्रिय गौरवको आयोजनालाई बेवास्ता गरेको हो।
इआएको काम पूरा भएपनि मात्र डीपीआरको काम पूरा भएको मानिन्छ। कैलाली–कञ्चनपुरमा चार वर्षसम्म रेलमार्गको डीपीआर तयार भएको छैन्। रेल विभागले चार वर्ष पहिला कैलाली–कञ्चनपुरमा रेलमार्ग विस्तारका लागि अध्ययन थालेको थियो। तर रेल विभागले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम अझै सकेको छैन्।