मेरो विश्वविद्यालय मन्थन
दलबहादुर सिंह, धनगढीः विश्वविद्यालय नामै काफी छ। विश्वमा विश्वविद्यालय अवधारणाको निकै लामो इतिहास रहेको छ। पूर्वीय दर्शनमा झन्डै २००० बर्ष पूर्वको तक्षशिला विश्वविद्यालयदेखि आधुनिक समयको मोरक्कोको काइरुन विश्वविद्यालयसम्म आइपुग्दा विश्वविद्यालयको विकासक्रम फरक-फरक ढङ्ग र शैलीमा भएको पाइन्छ।
नेपालमा पठनपाठन र शिक्षा आदानप्रदानको परम्परा वैदिक कालदेखि प्रचलनमा भएपनि आधुनिक विश्वविद्यालयको विकासक्रम भने विक्रम सम्वत् २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै सुरु भएको मानिन्छ। झन्डै ६४ बर्ष पुरानो आधुनिक विश्वविद्यालयको इतिहास रहेको देशमा अझै पनि पटकपटक विश्वविद्यालयको संरचनालाई लिएर प्रश्न उठैदै आएको छन्। राष्ट्रिय बहसको केन्द्रमा प्रायः हाम्रा विश्वविद्यालयहरु रहदै आएका छन्।
'विश्वविल्यालय परिसर प्रवेश गर्ने बडेमानको प्रवेशद्वार, अगाडि चटक्क परेको पार्किङ स्थल, ठुलाठुला भौतिक संरचनाको अगाडि खुला चौर, चौरमा सुकिला मुकिला पोसाकमा सयौं विद्यार्थी, त्यहीँ बीचबीचमा पर्दाको नायकझै आदर सत्कार ग्रहण गर्दै हातमा डायरी, आँखामा पावरवाला चस्मा र कोटको गोजिमा कलम भिरेका प्राध्यापक, सायद यस्तै हुनुपर्छ विश्वविद्यालय।' यो एउटा माध्यामिक तहको विद्यार्थीको बाल मस्तिष्कले परिकल्पना गर्ने विश्वविद्यालयको चित्र हो।यति भनिरहदा हाम्रा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा विश्वविद्यालय बारे स्पष्ट चित्र छ त भन्दा हाम्रो शैक्षिक नीति र परिकल्पना स्तरको अवमूल्यन हुनसक्छ।
हाम्रो शैक्षिक गुणस्तर, शिक्षा प्रणाली र राज्यको संरचना नै सिकिस्त बिरामी छन् भन्दा अनुचित नहोला। तर यर्थात यहीँ हो। एक जना एसइई पास गरेर सहर पसेको विद्यार्थीलाई आफ्नो रुचि, चासो, क्षमताको छनकसम्म पनि हुदैन।
त्यस्तै, कुनै अर्को विद्यार्थी गाउँबाट कक्षा १२ पास गरेर सहर आउँछ। कुनै नाम चलेको, दाइ दिदीहरु पढ्दै गरेको कलेजमा भर्ना हुन्छ। मानीलिम कसैले सोध्यो, 'भाइ कुन विश्वविद्यालयमा पद्छौ ?' 'फलानो कलेज हो?' सायद .... विश्वविद्यालय होकि! यो निर्दोष उत्तर हो। यहाँ मैले कुनै आक्षेप लगाइराख्या छैन। यो त मेरो, म जस्तै कैयौं विद्यार्थीहरुको यथार्थ हो। आजपनी हाम्रो विश्वविद्यालयहरुमा कयौ यस्तै बिद्यार्थीहरु अध्ययन गरिराख्याछ्न् होलान् ।
दुनियाँ आधुनिक युगको अन्तिम अभ्यास गरिरहदा, विश्वविद्यालयको विकल्पबारे छलफल गरिरहदा हामी भने त्यसको पूर्वार्धमै छौँ। अझैसम्म विश्वविद्यालयको संरचना मै हाम्रा बहसहरु केन्द्रित गरिरहेका छौँ। यति भन्दै गर्दा विश्वविद्यालयको संरचना ठिक छ अब यसमा बहस नै नगरौ भन्न खोजेको होइन्।
अब यसको थप परिपक्क सुदृढीकरण सहित संरचना भन्दा स्तरीयताको बिकासमा जिम्मेवारपूर्वक केन्द्रित हुनुपर्छ भन्न खोजेको हो। संरचनागत दृष्टिकोणले विश्वविद्यालय भित्र थुप्रै कमजोरी होलान त्यसबारे सम्बन्धित प्राध्यापक र शिक्षाविद्हरु बढी जानकार होलान्। यद्यपि एउटा विद्यार्थीको दृष्टिकोणबाट पनि हाम्रा विश्वविद्यालयहरुमा कयौ कमीकमजोरीहरु स्पष्ट देखिन्छन्।
जब एउटा बिद्यार्थीलाई आफू अब विश्वविद्यालयको विद्यार्थी भएको थाहा हुन्छ। ऊ प्रफुल्लित हुन्छ। विश्वविद्यालयका बहुआयामिक कल्पवृक्षमा ऊ डुबुल्की मार्छ। सपनाका कयौ पुष्पगुच्छाहरुको इन्द्रेणी बुन्छ। लाग्छ, अब उसले संसार बुझ्नेछ, दुनियाँको बौद्धिक जगतको केही हिस्साको अंश ऊ पनि बन्दैछ। उसले सपनाको कल्पनाजाल यति फराकिलो बनाइदिन्छ कि दुनियाँमा त्यस्तो चिज शेष रहनेछैन, जो उसले देख्दैन, सुन्दैन र बुझ्दैन। अथवा लाग्छ कि, विश्वविद्यालयको परिधिभन्दा बाहिर संसारमा केही हुदैन र हुनै सक्दैन।
यहीँ यथार्थलाई आत्मसात गर्दै विश्वविद्यालयमा प्रबेश गरिरहदा त्यहाँ हुने हरेक गतिविधिमा सक्रिय भएर भाग लिन चाहन्छ। हाम्रा विश्वविद्यालयबारे अनभिज्ञ उनीहरु केही यथार्थसगँ सम्झौता गर्न बाध्य हुन्छ्न् भने केही अन्तर्राष्ट्रियस्तरको फरक धारको विश्वविद्यालयको कल्पना गर्न थाल्छन्। प्रतिफलस्वरुप पटकपटक गरिने विद्यार्थी आन्दोलनले तालाबन्दीको रुप लिएका छन्। विश्वविद्यालयको संरचना र नियतमाथि विद्यार्थीबाट प्रश्न उठ्दै आएका छ्न।
अचेल हुने आत्महत्याको कारण मध्येको एक कारण विश्वविद्यालय पनि हो। त्यसमा पनि विश्वविद्यालयको चरम लापरबाही, ढिलासुस्ती र प्रमाणपत्रको प्रभावकारिता अथवा उपयोगीता खास जिम्मेवार छन्। देशभरिका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये आधाभन्दा बढी ग्रामीण क्षेत्रका विद्यार्थी हुन्छन्।
जो मध्यमदेखि न्यून आय भएका परिवारबाट आएका हुन्छन्। विश्वविद्यालयको संरचनाअनुसार प्राय: जिल्लाहरुमा स्नातक र स्नातकोत्तरका लागि सदरमुकाम भन्दा अन्य स्थानमा कलेज उपलब्ध छैनन् भने अलि स्तरीय भनिएको कार्यक्रमहरु मुख्य सहरका केही चलेका कलेजभन्दा अरुलाई दिने गरिएको छैन। यस अर्थमा ७० प्रतिशतभन्दा बढी विद्यार्थी घरभन्दा टाढा रहेर अथवा भाडामा बसेर अध्ययन गर्न बाध्य छन्। न्यून तथा मध्यम वर्गीय बिद्यार्थीहरु विश्वविद्यालयको अनिश्चित शैक्षिक पात्रोबाट तुलनात्मक रुपमा बढी प्रताडित छन्।
यसर्थ, कति परिवारका लागि विश्वविद्यालयहरु उठिबासका कारक पनि बन्दै आएका छन्। औपचारिक शैक्षिक योग्यता र प्रमाणपत्र पाए पश्चातको राजनीतिक तथा सामाजिक वातावरण र परिवेशले अर्को कहाली लाग्दो स्थिति निर्माण हुने गरेको छ। जसले पटकपटक हाम्रा विश्वविद्यालयको औचित्यमाथि प्रश्न उठाइरहन्छ।
विश्वविद्यालयको सुधारका लागि विद्यार्थी, प्राध्यापक र विश्वविद्यालयको त्रिपक्षीय तदारुकता चाहिन्छ। यसका साथै सरकार, नागारिक समाज, विभिन्न संगठन तथा अन्य सरोकारवाला पक्षको सही मार्गदर्शन र सहयोग आवश्यक छ। यदि राज्यको अघोषित प्रभावलाई अलग गर्ने हो भने नेपालको सन्दर्भमा मुलतः दुई कुराले विश्वविद्यालयको विगत, बर्तमान र भविष्य निर्धारण गर्दै आइरहेको छ। पहिलो प्राध्यापक , दोश्रो विद्यार्थी संगठनहरु। तर, पछिल्लो अवस्थामा प्राध्यापक र विद्यार्थी संगठनमा विकृती छाएको छ। जुन दु:खद हो।
विद्यार्थी संगठन विद्यार्थीका साझा आवाज हुन्। यिनले एकातिर विद्यार्थीका मुद्दालाई विश्वविद्यालयको निर्णायक स्थानसम्म पुर्याउनुपर्छ भने अर्कोतिर सम्बन्धित राजनीतिक वाद, बिचार र चेतनालाई व्यवहारिक तथा मार्यादित ढङगले सिर्जनशील मन्थन र बहसमार्फत विद्यार्थी माझ लैजानुपर्छ। दुर्भाग्य, यो हुन सकिरहेको छैन।
वर्तमानमा विद्यार्थी संगठनको गलत भाष्य निर्माण हुनु डरलाग्दो अवस्था हो। विद्यार्थी संगठन पार्टीका कार्यकर्ता र गुन्डा उत्पादन गर्ने कारखानाको रुपमा विकास हुँदै गएका छन्। अनावश्यक रुपमा टिप्पणी गर्ने, विद्यार्थीका झुन्ड उप-झुन्ड निर्माण गर्ने, प्राध्यापकहरुलाइ धम्काउने, परीक्षामा चिट चोर्न पाउनु पर्यो भन्ने, कलेज तथा विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक गतिविधिमा अनावश्यक गतिरोध सिर्जना गरि शक्ति प्रदर्शनमा पार्टीका मिनी-पावर स्टेसन बन्दै गएका छन्।
यसो भनिरहदा विद्यार्थी संगठनको औचित्य समाप्त भयो भन्दै छैन। विद्यार्थी संगठन सही ढङ्गले प्रस्तुत हुने हो भने हाम्रा विश्वविद्यालयका धेरै समस्याहरु नि:संन्देह समाधान हुन्छन् । अत: विद्यार्थी संगठन थोरै परिमार्जित धेरै सिर्जनशील बन्न आवश्यक छ।
हाम्रा विश्वविद्यालयको शैक्षिक स्तर खस्किदै जानुमा प्राध्यापकहरुको आचारण र व्यवहार पनि दोषी देखिन्छ। नि:सन्देह विश्वविद्यालय संसारका बौद्धिक केन्द्र् हुन भने यहाँका प्राध्यापकहरु ज्ञानका स्रोत हुन्। हरेक विद्यार्थी आफ्ना प्राध्यापकहरुसँग विभिन्न विषयमा अन्तरक्रिया बहस र बौद्धिक विमर्श गर्न चाहान्छन् ।
संसारका विश्वविद्यालयमा यसका विभिन्न अभ्यासहरु हुँदै आएका छन् पनि। प्राध्यापकले समाजका निरन्तर बहसका मुद्दाहरुमा विश्वविद्यालयमा आफ्नो अनुसन्धानमुलक धारणा प्रस्तुत गर्दै आएका छन्। हाम्रो विश्वविद्यालयका प्राध्यापक भने राजनीतिक टिप्पणी, सामाजिक संजालमा बुद्धिविलास गर्नमा समय र शक्ति खर्च गरिरहेका छन्। संजालमा फलोलर्स बढाउनेमा हाम्रा प्राध्यापक व्यस्त देखिन्छन्। कलेजमा विद्यार्थीहरुसँग अन्तक्रिया गर्ने झिजो मान्ने प्राध्यापकहरु रेडियो, टेलिभिजन र सार्बजनिक मञ्चमा भने प्रेरणादायी गफ दिने होडबाजीमा लागेर आत्मसन्तुष्टि लिन्छन्।
विश्वविद्यालयको सुधारका मुद्दामा कहिल्यै गम्भीर नहुने प्राध्यापकहरु राजनीतिक दलका विभिन्न संगठन तथा महाधिवेशनहरुमा भने गम्भीरता पूर्वक भाग लिन्छन्। अनि कसरी हुन्छन् हाम्रा विश्वविद्यालय प्राज्ञिक थलो? यी त पार्टी र नेताका अन्धसमर्थक र विरोधी भिड उत्पादन गर्ने कारखानान परिणत भएका छन्। । एउटा प्राध्यापकको दृष्टिकोणले कयौं विद्यार्थीको विचारलाई निर्देशित र नियन्त्रण गर्दछ। प्राध्यापक हुनुको गरिमा स्वयम् प्राध्यापकले नै स्खलित गरेका छन्। यो कुरामा ध्यानाकर्षण हुनु जरुरी छ।
शिक्षाले मानिसलाइ जीवन र समाजसगँ जोडनुपर्ने हो। शिक्षामा जीवन र जीवनमा शिक्षा खोजिनु पर्छ। पाठ्यसामग्रीमा समाजका विम्बहरू समेटिएको हुनुपर्छ। 'सिकाइ व्यवहारिक र जीवन्त हुनुपर्छ' भनिन्छ। तर, त्यसो हुन्थ्यो भने डिग्री पढेर खाडीमा न्यून पारिश्रमिकका लागि राहदानी बनाउनेको लाइन जिल्ला प्रशासनमा लाग्ने नै थिएन होला।
आजसम्म आइपुग्दा विश्वविद्यालय पढेको व्यक्तिको दृष्टिकोणमा केही फेरबदल भएकोछ? हाम्रा विश्वविद्यालयमा ज्ञान, विज्ञान, खोज, अनुसन्धानमा प्राध्यापक र विद्यार्थी घोत्लिएका छन्? विश्वविद्यालयको अनुसन्धानले राष्ट्रलाई सहयोग गरेको छ? अनुसन्धान गर्न राज्यको लगानी र ध्यान खिच्न विश्वविद्यालय सफल भएका छन्?
हाम्रो अवस्था, हाम्रा प्राध्यापक र विश्वविद्यालयको अवस्था हिजो जस्तफ थियो आप पनि त्यस्तै छ। शिक्षा प्रणालीले समाज र राष्ट्रलाई डोर्या्उन सक्नुपर्छ। तर त्यसो भएको देखिन्न। हामी र हाम्रो शिक्षा प्रणाली, प्राध्यापक र विश्वविद्यालय असफल भएका छन्।
विश्वविद्यालयका शैक्षिक कार्यक्रम र तिनका संरचना पनि अव्यवहारिक र अभद्र तरिकाले विकास गरिएका छन्। विश्वविद्यालयहरु प्रमाणपत्र वितरण गर्ने केन्द्र र बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा विकास भएका छन्। अत: तत्काल विश्वविद्यालयहरुले आफ्नो उपादेयताबारे गम्भीर समीक्षा हुनु जरुरी छ।
(सिंह कैलाली बहुमुखी क्याम्पसमा बिबिएम छैटौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्)