सुदूर नेपाललाई विश्वसँग जोड्दै

बान्नी हुँदै बेनीघाटसम्म

२०७५ चैत्र १६, १०:१६

मध्यय श्रावण भएर पनि केहि दिनदेखि चर्को घाम लागिरहेको थियो। छितिजमा कहिँ कतै झुल्किने बादल पनि स्थिर थिएन। एकैछिन देखिने अनि फेरि खुल्ला आकासमा छरपस्ट भएर विलिन हुने । यो उपक्रमका बिच सूर्यको राप र तापका कारण घरतीमा धाजा फाटेका थिए। काकाकुल बनेको धरती आफ्ना तिर्खाएका आँखाहरू एकटकले आकासतिर बाँधिरहेको प्रतित हुन्थ्यो।

बिद्यालयको बर्षे बिदा थियो । मेरो गाउँका सबै साथीहरू अस्ति नै घरतिर लागिरहेका थिए तर म चाँहि यसपाली अर्कै योजनामा थिए । त्यसैले घर गइन ।साथीहरु घर गएकै दिन मैलेपनि मिश्रबाडा ( मिश्रहरु बसाई सरेर धेरै वर्ष पहिले नै मधेश झरिसकेकाले उनीहरुका खालि घरहरु हामी टाढाका बिद्यार्थीहरुले छात्रवासको रुपमा उपयोग गर्ने गरेका थियौ ) छोडेर मफघरमा बसाइ सारे । मझघरमा साथी नरबहादुर र मित कृष्ण बस्थे अब म पनि उनिहरुसंगै मिसिए । दुई दिन भुँइपत्ताल लगाएर वर्षे बिदाको गृहकार्य सिध्याए पछि हामी हाम्रो योजनामा लाग्यौ । योजना थियो सेती–कर्णाली दोभान सम्मको पदयात्रा। 

आज पदयात्रको पहिलो दिन , घरपेटी फुपूले बिहानै रोटी पोलिन तर यसो–उसो गर्दै केहि समय लाग्यो ।केहि रोटी निलेर अनि केहि रोटी झोलामा हालेर हामी घरबाट निस्कँदा लालिमाका किरणहरु दरिइसकेका थिए । सूर्यको राप र तापमा हिजो झै आज पनि कुनै कमी थिएन । हिजोअस्ति छितिजमाथि लुकामारी खेल्ने बादलका सानाठूला पहाडहरु आज कतै बेपत्ता थिय । बिहानीले दिनको संकेत दिइसकेको थियो। 

खत्याडीलाई पछि पारेर थला नपुग्दै पृष्टभूमिका दृश्यहरू पनि फेरिइसकेका थिए ।थलाको सुन्दरता साँच्चै लोभलाग्दो छ । पूर्बपट्टि देउपुरको सल्लेरी पाखो , त्यस भन्दापनि तल गैरीलेक , पश्चिम पट्टि मालिकाको दक्षिण पाखोमा लहरै मिलेर बसेका बाँझ,कटुस,काफल,घंगारू अनि लालिगुराँसका बोटहरू अनि बिचमा उत्तर दक्षिण लमतन्न फैलिएर रहेको थलाको मनमोहक चौर । खत्याडीबाट निस्किए पछि हामीले पनि पहिलोपटक थलाकै पिपल चौतारोमा आड लियौं र वरपरको दृश्यलाई आँखा भरि कैद गर्यौ । मनको क्यानभाषमा अजम्वरी बनेर बसेका ति हरेक दृश्यहरु अहिले पनि स्मृतिको फ्ल्यास ब्याकमा चम्कि रहन्छन् । 

केहि छिन थलाको चौतारोमा सुस्ताएपछि हामी देउपुरको पश्चिम पाखो हँदै उधो लाग्यौ । पानीनिल्ने खोलामा पुग्दा एक हुल गोरू उभो लाग्दै थिए । गोठाला गोठाल्नीहरू थिएनन् तर पनि गोरूको सिंगै लाम पङ्तिवद्ध भएर गाउँतिरको गोरेटो नापिरहेको थियो । लुल्वा पुगेर उभो दृष्टिपात गर्दा चौपायाको मनमोहक लाम धेरै माथि पुगिसकेको थियो तर गोठालाको अझै अत्तोपत्तो थिएन । 

चौपातीलाई पछि पारेपछि बन्डारिबाको खोलोमा पुग्दा खोलाको गति सुस्त बनेको थियो ।साउने खडेरीको मारमा बन्डारी खहरे पनि परेको थियो । आकासभरि मडारिएको कालो बादल अनि गर्जदै बर्सने साउने झरीको प्रतिक्षा हामीलाई भन्दा धेरै बन्डारीबालाई रहेको कुरा जस कसैले पनि सहजै अनुमान लगाउन सक्थ्यो । काकाकुल बनेको बन्डारीखोलामा खुट्टाको धुलो टक्टक्याएर हामी पनि उधो लाग्यौ ।

लामो ओरालोलाई पछिपारेर गलागाढ पुग्दा घुँडाका जोर्नीहरु छोइसक्नु थिएनन् । थकानको हिसाब किताब थिएन । शरीर पसिनाले निथ्रुक्क भिजेर त्यसैको अमिलो गन्धना डुबेको थियो । गलागाढमा पुग्दा भने शरीरलाईधोरै त्राण मिलेको अनुभुति भयो । गलागाढ तरेर आफ्ना झोलाझ्याम्टा थोरै माथिको खेतको आलिमा थान्को लगाएर हामी फेरि खोलामा झरेर पौडिन थाल्यौ । धित मरुन्जेल पौडिएर पारि पाखोमा लाग्दा हातगोडा थकानले लल्याक–लुलुक भएका थिए भने पेटमा हावामात्रै बाँकि थियो ।

हामीलाई भोकको त्यति धेरै चिन्ता थिएन किनभने फुपूले माया गरेर हाम्रो झोलामा हालेका रोटी अझै झोलामा नै थिए । हामीले लुगा फेरेर झोलाबाट रोटी निकाल्यौ तर भैदिएछ के भने झोलामा रोटी मात्रै , रोटीको साथी हामीसंग रहेनछ  । फुपूले रोटी झोलामा हाल्दा खुर्सानी पिसेको नुन हाल्न बिर्सिएकी रहिछन् । त्यसको जोहो गर्न पनि हामीलाई हम्य परेन किनभने खेतको तल्लो किनारामा रहेको पानीघट्टमा पिठो पिस्न आएका बैनीहरू संग नुन मागेर हामीले तत्कालको गर्जो टार्यौ ।  घाँटी अमिलो पार्न र रोटी सजिलै निल्न टाउकै माथि पहेलपुर आँप अघिदेखि नै पाकेका थिए । 

गलागाढबाट दुई दुई अन्जुली पानी निलेर हामी पहिले खेतैखेत र पछि बुट्यान र झाडी पन्छाउँदै कोल्तडीको खोला किनार पुग्यौ । यसको हालत पनि बन्डारीको जस्तै थियो । कोल्तडीको सुख्खा खहरे तरेपछि उकालो हुँदै इनडातिर उभो लाग्यौ हामी । लमतन्न ठडिएको उकालोमा जति उभो लाग्दै गयौ भोक , तिर्खा र थकानले एकैसाथ गाँझ्न थाल्यो । अब हामीसंग न गलागाढ थियो न घट्ट छेउको लटरम्म पाकेको आँपको रुख अनि न त फुपूले पोलेका रोटी नै । 
उकालोको अन्तमा इनडा गाँउ झुल्किए पछि भने हामीले थोरै राहतको सास फेर्यौ ।

इनडाको पुछारैमा रहेको घरमा बम्बैया आँप ( उन्नत जातको ठूला दाना भएको आँप ) रूखमै पहेंलपुर भएर पाकेको रहेछ । हामीले दश रुपयाँ खर्चिएर पोल्टो भरि आँप किन्यौ र आँप चुस्दै गाउँको साँघुरो गोरेटो हुँदै उभो लाग्यौ । इनडालाई तल पारेर कानाचौरको पाखोमा पुग्दा सुर्यले पश्चिम छितिज नाघिसकेका थिए । सन्ध्याका काला पखेटाले क्रमश ः धरतीलाई छोप्दै गरेका बेला हामीले दक्षिणतर्फ दृष्टिपात गर्यौ । धालछडा चकमन्न अँध्यारोमा एकरातलाई भएपनि गुमनाम हुने तरखर गर्दैथियो । 

कानाचौरको डाँडामा तिनताका एउटा बिद्यालय र एउटा सानो चियापसल थियो । सायद हुलाक र सानो स्वास्थ्यचौकी पनि थियो क्यारे । हामीले त्यहि चिया पसलबाट दश रूपयाँका पाँचवटा चमेना बिस्कुट लियौ र पल्लो पाखो हँदै ओरालो बाटो समात्यौ । कानाचौरबाट धालछडा पुग्दा अध्यारो भैसकेको थियो ।
 अध्यारो मात्रै भए पो ? केहि दिन देखि उदाङ्ग रहेको निलो आकास केहि छिन मै कालो भयो । चारैतिरबाट ओइरिएको बादल शान्त भएर कतिबेर बस्न सक्थ्यो र ? हेर्दाहेर्दै मुसलधारे पानी दर्कन थाल्यो । अघि निदाउने तरखर गर्दै गरेको धालछडा अब रातभर अनिदो अनि जागै बस्ने कुरामा कुनै सङ्का थिएन । धरतीको कोखमा ओतलाग्दै बग्ने धालछडालाई झै हतारो त हामीलाई पनि थियो तर हामीसंग ओतलाग्ने साधन केहि थिएन । थकानले अघिनै लखतरान भएका हाम्रो हालत अब चै भिजेको बिरालो जस्तो भयो । पानीको तालबाट चोबलेर निकाले जस्ता भएका हामी डौटीबाट उभो लागेर कोटिला पुग्दा रातको नौं बजिसकेको रहेछ ।

मेरा मित कृष्ण जोशी , हो उनैको घर छ कोटिला गाऊँमा । आजको हाम्रो मुकाम पनि मितजी कै घर थियो ।मकैबारी पन्छाउँदै मितजीको घरको आगनमा पुग्दा घरको भुईतलाबाट आकासै छेडुलाझै गरेर धुवाको बाक्लो मुस्लो निस्कंदै थियो । मितबा मझेरीमुनि टोलाएर बसेका थिए । हामीले मितबालाई ढोगभेट गरि नसक्दै मितिनी आमा आगाको फिलिङ्गो बनेर धुवाको मुस्लोबाट बाहिर निस्कनु भयो ।

साँझका पाहुनालाई देउता समान मान्ने हाम्रा गाऊँघरमा मितआमाको त्यस्तो ब्यबहार मेरालागि अप्रत्यासित र अकल्पनीय थियो तर मेरा मितको जीवन भोगाईको अभिन्न हिस्सा रहेछ त्यो । तिनी मेरा मितकी सौतेनी आमा हुन् । उनी फत्फताउँदै थिइन । मितबा बसिरहेकै ठाऊँबाट जुरूक्क उठे र हामीलाई डोर्याउँदै घरबाट उभो लगे ।

सांघुरो गोरेटो छिचोलेर हामी फेरि अर्को घरको आगनमा पुग्यौ । हाम्रा लागि संयोगले जुराएको त्यो घर साँच्चै घर रहेछ । मध्य रातमा पनि घरपेटी आमाले हामीलाई गरेको आतित्थ्य सत्कार म जीवन रहेसम्म कहिल्यै बिर्सन सक्नेछैन ।
खाना खाएर न्यानो लुगाको शरणमा पुग्दा रात निकै ढलिसकेको थियो ।
बिहान जाग्दा छ्याङ्ङ उघ्रिएको आकासमा सूर्य निकै उकालो लागिसकेका रहेछन् । हाम्रा भिजेका लुगा घरपेटी आमाको मायाको रापले हामी नजाग्दै सुकिसकेका थिए । तिनै लुगा आँङमा टाँगेर तात्तातो चिया निलेपछि हामीले दयालु घरपेटी आमालाई धन्यवाद दिदै बिदा माग्यौ । अबको हाम्रो गन्तब्य थियो मेल्टा । खेतका गर्हा अनि कान्लाहुदै सिस्नेखोला तरेर उभो लागेका हामी दिन नढल्दै मेल्टा नरबहादुरको घरमा पुग्यौ ।

नरबहादुरको घर के भन्नु र ? आफ्नै घर । नरबहादुरकी आमा के भन्नु र ? आफ्नै आमा ।घर पुगेको आधाघण्टा नहुँदै आमाले तात्तातो खिर खुवाएर हाम्रो स्वागत गर्नु भो अनि हाम्रा हिजो देखिनै भिजेका हिलाम्य सबै लुगाफाटा बोकेर पँधेरा तिर लाग्नुभयो । आमा पंधेरा लागेपछि हामी आनन्दको लामो सास फेरेर घरको टाँडीमा निदायौ । 
आमा हुनु र नहुनुले हाम्रो जीवनमा कति फरक पर्दोरैछ भन्ने कुराका प्रतिनिधि घटना थिए मेल्टा अनि कोटिलाका बसाईहरु । मेरा मितकी आमा हुनभएको भए हिजोको रात हामीले आफ्नै घरबाट अपमानित भएर अर्काको घरमा रात काट्नु पर्ने थिएन । आमा हुनुभएको उहाँको ममत्वमा लुटपुटिदै हामी एक रातमात्र होइन अरु केहि रात पनि कोटिलामै निदाउने थियौँ । मितकी आमा नहुनुले हामीलाई एक रात मात्रै पनि त्यसरी बिझायो भने मेरो मितका आमा बिनाका हरेक रातहरु कसरी बित्दा हुन् ? त्यो मेरो कल्पना भन्दा बाहिरको कुरा थियो ।हुनसक्छ आमा खोस्नेले मेरो मितलाई आमाको ममत्वको अभावमा पनि बाँच्ने अनि हाँस्ने शक्ति प्रदान गरेको थियो र त मितले कालकुट पिएर पनि हाँस्न अनि बाँच्न जानेका थिए । 
मेल्टा पुगेको बेलुका लोकल कुखुराको झोलसंग थपि–थपि भात खाएर राती अबेर निदायौ । हामीले भोली सबेरै बेनीघाट ( सेती कर्णालीको दोभान ) जानु थियो ।
झोलामा दिनभरिलाई पुग्ने रोटी हालेर दुधसंग चार गास भात निल्दै हामी तीन भाइ बेनीतिर उधो लाग्यौ । पोखरीताल , बान्नी अनि मटेला हुँदै हामी बेनीघाट पुग्यौ । बेनीघाट त्यहि ठाऊँ हो जहाँ सेती र कर्णाली संधैका लागि एकाकार हुन्छन् । डोटी , अछाम र सुर्खेतलाई तीन तिर पारेर अथाह जलराशीका साथ सेती र कर्णालीको घम्साघम्सी अनि जुहारी हेर्दा महसुस हुने अनुभुतिलाई नाथे शब्दले मात्रै कसरी चित्रण गर्न सकिन्छ र ? सकिन्छ भने एकपटक तपाईँहरू पनि अवश्य पुग्नुहोला है ! 

कमेन्ट लोड गर्नुस