सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरका विमानस्थल निर्माणमा ७ अर्व लगानी, बमबार्डिअर ड्यासदेखि सीआरजेसम्म उडान

२०७९ माघ २७, ११:५०

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिमका विमानस्थल निर्माण र सुधारमा अहिलेसम्म ७ अर्व लगानी भइसकेको छ। प्रदेशभित्र डडेल्धुराबाहेक सबै जिल्लामा विमानस्थल छन्।

१० वटा विमानस्थलमा राज्यको अर्वो लगानी भइसक्दा पनि अधिकांश सञ्चालनमा छैनन्। विमानस्थल निर्माण सुधारको नाममा वर्षेनि करोडौँ लगानी हुँदै आएको छ। विमानस्थल निर्माण र सुधारको नाममा खर्च हुने तर सञ्चालनमा नआउने पुरानै समस्या हो।
धनगढी–काठमाण्डौ १२ उडान
पहाड र तराईका समेत गरेर ८ जिल्लालाई हवाई मार्गबाट जोड्ने एकमात्र धनगढी विमानस्थल हो। यहाँबाट दैनिक एक हजारको संख्यामा यात्रु ओहोरदोहोर गरिरहेका छन्। संघीय राजधानीबाट धनगढीमा अहिले दैनिक १२ वटासम्म सिधा उडान भइरहेका छन्। तराईका आन्तरिक हवाईमध्ये सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थल हो।

हिउँदमा शीतलहर चलेपछि ५ किलोमिटर भिजिबिलिटी नपुग्दा हप्तौं उडान रद्द गर्ने धनगढी विमानस्थल अहिले मुलुकका व्यस्त हवाई अड्डाको सूचीमा छ। धनगढीबाट हप्तामा दुई दिन बाजुराको कोल्टी, अछामको साँफेबगर र बझाङको चैनपुरमा समिट एयरले १८ यात्रु क्षमताको लेट विमान उडाइरहेको छ। 
पोखरा–धनगढी उडान बन्द
केही महिनाअघि बुद्धले पर्यटकीय सहर पोखराबाट सुरु गरेको धनगढी उडान भने अहिले बन्द छ। सुदूरपश्चिमको सम्वन्ध पोखरासँग जोड्ने गरी बुद्ध एयरले हप्तामा तीनदिन उडान भर्दै आएको थियो। तर पछिल्लो समय यो सेवा बन्द गरिएको छ।

अहिले काठमाडौं–धनगढी श्री एयरलाइन्सको ७६ यात्रु क्षमताको बमबार्डिअरड्यास क्यू–४००, बुद्धले एटीआर–७२ र सौर्य एयरलायन्सले ५० यात्रु क्षमताको बमबार्डिअर सीआरजे उडाइरहेका छन्। धनगढीले सुदूरपश्चिमका नौवटै जिल्लालाई काठमाडौंसँग जोड्दै आएको छ। भिजिबिलिटी १७ सय मिटरभन्दा कम भएमात्रै विमानस्थलले उडान बन्द गर्छ। 
१० विमानस्थलमा ७ अर्व लगानी
सुदूरपश्चिममा १० वटा विमानस्थल छन्। तत्कालीन हवाई विभाग र प्राधिकरणको कम्तीमा ७ अर्ब लगानीमा विमानस्थलका टर्मिनल भवन र धावनमार्ग बनिसकेका छन्। तीमध्ये सबैभन्दा धेरै धनगढी विमानस्थलमा लगानी भएको छ। १० विमानस्थलमध्ये अछामको कमलबजारमा मात्रै उडान भएको छैन। बाँकी नौवटामा उडान भइसकेका छन्। तर, अहिले जहाज र यात्रु अभावले बझाङ, अछाम र बाजुरामा मात्रै उडान भइरहेको धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए।
थप ३३ करोड खर्च गरिदैँ
नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिममा विमानस्थल पूर्वाधारमा ३३ करोड खर्च गरिरहेको छ। द्वन्द्वकालदेखि बन्द भएको दार्चुलामा ३ करोडमा ५ सय ९० मिटर लामो धावनमार्गमा ग्राभेल राखेर असार मसान्तसम्म सुधार्ने ठेक्का छ। प्राधिकरणले दोस्रो चरणमा त्यहाँ टर्मिनल भवन बनाउने छ। ५ सय ९० मिटर लामो बैतडीको धावनमार्ग कालोपत्र भइसकेको छ।

जहाज अभावले त्यहाँबाट धनगढीका लागि हुने उडान १० महिनादेखि बन्द छ। महेन्द्रनगर विमानस्थललाई प्राधिकरणले स्थानीय सरकारसँगको लागत साझेदारीमा स्तरोन्नति गर्दै छ। ४८ करोड लागतमा भइरहेको सुधार कार्यमा ८ सय ८४ मिटर धावनमार्गको लम्बाइ दोब्बर बनाई ७२ यात्रु क्षमताको एटीआर विमान अवतरण गराइनेछ।

बाजुराको कोल्टी विमानस्थलको ५ सय २० मिटर लामो धावनमार्ग कालोपत्र भइसकेको छ। प्राधिकरणले करिब ८ करोड खर्च गरेर यात्रुका लागि टर्मिनल भवन पनि नयाँ बनाएको छ। बझाङको ६ सय ३० मिटर लामो धावनमार्ग पनि कालोपत्र गरिसकेको प्राधिकरणले डोटीमा करिब ५ करोड बजेट छुट्याई नयाँ टर्मिनल भवन बनाइरहेको छ।

झन्डै २० करोड खर्च गरेर साँफेबगरमा ५ सय ५० मिटर लामो धावनमार्ग कालोपत्र, नयाँ टावर र टर्मिनल भवन सञ्चालनमा आइसकेको छ। अछामको कमलबजार विमानस्थलको धावनमार्गलाई जोगाउन एक करोडमा तारबारको काम हुँदैछ। अहिले कुनै पनि सुधारको काम नभएको टीकापुर विमानस्थल मात्र हो।

कमेन्ट लोड गर्नुस