सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवैध घरेलु मदिरा जताजतै, घरेलु रक्सी उत्पादनमा केछ कानुनी सीमा?

२०७९ माघ २६, १०:५४

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशको उपभोक्ता बजार सुरक्षित छैन। कतै मिसावट छ त कतै दलालीको बाहुल्यता छ। पछिल्लो समय घरेलु मदिरा बजारमा छ्यापछ्याप्ती देखिन थालेपछि बजारमाथि उपभोक्ताको थप संशय पैदा भएको छ।

घरेलु मदिराको बिगबिगी कुनै नौलो विषय भने होइन। कैलालीमा पछिल्लो समय अवैध घरेलु मदिराको उत्पादन र विक्रीवितरण बढेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन्। मानव स्वास्थ्यका लागि हानिकारक मानिएको घरेलु मदिरा कैलालीको गोदावरी र धनगढी उपमहानगरपालिकाभित्र अवैध रुपमा उत्पादन र विक्रीवितरण भइरहेको छ। धनगढीका केहि किराना पसलहरुमा समेत घरेलु मदिराको विक्रीवितरण हुने गरेको नगरवासीको गुनासो छ।

घरेलु मदिरा धनगढी सबैजसो होटलमा विक्रीवितरण हुने गरेको धनगढी उपमहानगरपाकिा–१ पशुपति टोलकी राधिका चौधरीले बताइन्। ‘धेरैजसो किराना पसलमा समेत यस्तो मदिरा सहजै रुपमा देख्न र किन्न पाइने भए पनि प्रहरी प्रशासनले चासो देखाएको छैन्।’ प्रहरीले मदिरा पसलमा छापा मार्ने र घरेलु मदिरा बनाउने गिरोह पक्राउ गर्ने क्रम चलिनै रहेको दाबी छ।

घरेलु मदिरा बनाउने भट्टी धनगढी र गोदावरीमा सबैभन्दा बढी भएको सरोकारवाला बताउँछन्। सानादेखि ठुला होटलसम्मै घरेलु मदिराको विक्रीवितरण भइरहँदा पनि नियमनको पहल कहिँकतैबाट नभएको स्थानीयको गुनासो छ। खोकाछाप्रामा समेत सहजै रुपमा अवैध घरेलु मदिरा पाइन थालेपछि सेवनकर्ता समेत बढेका छन्।

यसले समाजमा असुरक्षा बढाएको गोदावरीका नगरपालिका–१ अत्तरियाका विष्णुराज जोशले गुनासो गरे। ‘बजारभित्रै घरेलु मदिराका भट्टी राखेर मदिरा उत्पादन र जताततै विक्रीवितरण भइरहेको भए पनि प्रभावकारी अनुगमन भएको छैन्।’ कैलालीका ग्रामीण भेगहुँदै बजारसम्मै अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने क्रम बढेको छ।

जिल्लाको ग्रामीण इलाका, जंगलसँग सिमाना जोडिएका गाउँ र भारतसँग सिमाना जाडिएका गाउँहरुमा अवैध रुपमा घरेलु मदिरा उत्पादन भइरहेको छ। सीमा क्षेत्रका गाउँमा मात्र नभएर बजार क्षेत्रमै पनि अवैध रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएपनि नियमन भएको छैन्। होटलदेखि किराना पसलसम्मै घरेलु मदिरा सहजै रुपमा पाइन थालेपछि स्थानीयमा त्रास बढेको छ। तर प्रहरीले भने अवैध घरेलु मदिरा जफत गर्दै आएको जनाएको छ। 

घरेलु मदिरा उत्पादन र विक्रीवितरण गर्न पाइदैन, कतै त्यस्तो भएको छ भने हामी नियमन गर्न सधै कटिबद्ध छौँ, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले भने। ‘अवैध रुपमा मदिरा उत्पादन विक्रीवितरण भइरहेको छ भने हामी आवश्यक कारवाही गर्न र अवैध मदिरा जफत गर्न तयारी अवस्थामै छौँ।’

सर्वोच्च अदालतले दुई वर्षअघि बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको थियो। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। अदालतले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो। मदिरा ऐन, २०३१ को दफा १६ लाई टेकेर ‘मदिरा नियमहरू, २०३३’ ल्याइएको छ। जसमा मदिराको उत्पादन, बिक्री–वितरण वा निकासी पैठारी गर्न चाहने व्यक्तिले इजाजतपत्र लिनुपर्ने उल्लेख छ।

कमेन्ट लोड गर्नुस