सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीको सुदूरपश्चिममा लागुऔषध विरुद्धको महाअभियान सुरू

२०७९ माघ २६, ०९:०५ नारायण अवस्थी

धनगढी: नेपाल प्रहरीले सुदूरपश्चिममा लागु औषध विरुद्धको महाअभियान थाल्ने भएको छ। लागु औषध प्रयोगकर्ताको संख्या घटाउन र कारोबार नियन्त्रण गर्न प्रहरीले महाअभियान थालेको हो। सुदूरपश्चिममा लागु दुर्व्यसनीहरूको संख्या अत्यधिक बढेकाले लागुऔषधको कारोबार ध्वस्त गर्न प्रहरीले स्थानीय तहसँग समन्वय गरेर अभियान थाल्ने भएको हो।

लागु पदार्थ प्रयोग गर्ने किशोरकिशोरी तथा युवाहरूको संख्या बढ्न थालेकाले जथाभावी औषधि बिक्री नगर्न औषधि व्यवसायीलाई आग्रह गरिएको छ। सुदूरपश्चिममा लागु औषधको प्रयोग तथा ओसारपसार बढेको भन्दै लागु औषध विरुद्ध महाअभियान थाल्नुपर्ने माग गरिँदै आएको थियो।

लागु औषध दुर्व्यसनमा किशोरकिशोरी तथा युवाहरूको संख्या बढेकाले लागु औषधको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रण गर्न प्रहरी तथा सर्वसाधारणले मिलेर काम गर्नुपर्ने कैलाली उद्योग वाणिज्य संघकी कार्यकारी निर्देशक गोमा अधिकारीले बताइन्।

'लागु औषध प्रयोगको कुलत निकै बढेको छ, स्कुल र कलेज जाने किशोरकिशोरीको संख्या बढ्नु चिन्ताको विषय हो,' उनले भने, 'लागु औषधको दुर्व्यसन रोक्न सबैले प्रयास गर्नु जरुरी छ।'
कैलाली र कञ्चनपुरमा लागु औषध प्रयोगकर्ताको संख्या प्रदेशमै उच्च रहेको प्रहरी तथ्याङ्कले देखाएको छ।

भारतसँगको खुला सीमानाको फाइदा उठाएर लागु औषध बिक्री वितरण र प्रयोग गर्ने गिरोहले ओसारपसार गर्ने गरेको छ। लागु औषधको ओसारपसार र प्रयोग नियन्त्रण गर्न प्रहरी निर्मम भएर काम गर्ने प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक अशोक सिंहले बताए। 'सुदूरपश्चिममा ठुला अपराधका घटना कम घटेको देखिन्छ तर यहाँ लागु औषधको प्रयोगकर्ताको संख्या बढी देखिएको छ,' उनले भने, 'लागु औषधको कारोबार रोक्न सबैको सहकार्यमा प्रहरीले निर्मम भएर कारबाही चलाउँछ।'

लागु औषधको कुलतका कारण परिवार, समाज र राष्ट्रकै प्रगति र उन्नतिमा आघात पुग्ने भएकाले नियन्त्रणका सबै उपाय अपनाउनुपर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेले बताए। 'ुसबैतिर लागु औषध प्रयोगकर्ताको संख्या बढ्नुले सबैले सतर्क हुने अवस्था आएको छ,' उनले भने, 'प्रहरी प्रशासनले सबै पक्षसँग सहकार्य गरेर यस विरुद्ध काम गर्नेछ।' 

प्रदेशमा औषधि बिक्रेताहरूका कारण पनि ड्रगको पहुँच र प्रयोगमा किशोरकिशोरी र युवाहरूलाई सहज भएको बताइएको छ। औषधि बिक्रेताहरूले चिकित्सको सिफारिस बिना लागु औषधको रुपमा दुरुपयोग हुने औषधि बिक्रीमा पूर्ण रोक लाग्नुपर्ने हुन्छ।

तर, ‍अधिकृत औषधि बिक्रेताले गाउँघरमा सञ्चालनमा रहेका मेडिकल तथा क्लिनिकलाई विशेषज्ञ चिकित्सको सिफारिसमा बिक्री गर्नुपर्ने औषधि पनि बेच्ने गरेको बताइएको छ। यस्तै भारतबाट सीमावर्ती गाउँमा खोलिएका मेडिकल तथा क्लिनिकमा प्रतिबन्धित औषधिको कारोबार हुने गरेको छ।

सुदूरपश्चिममा ठुलो संख्यामा भारतबाट लागु औषध भित्र्याएर गरेर बिक्री वितरण हुने गरेको छ। धनगढी उपमहानगरपालिकाले नीतिगत रुपमै लागु औषधको ओसारपसार, बिक्री वितरण र प्रयोग विरुद्ध लाग्ने नीति लिएकाले प्रहरीको अभियानमा सहयोग गर्ने धनगढीका नगरप्रमुख गोपाल हमालले बताए।

'हामीले नीति तथा कार्यक्रममा नै लागु औषध विरुद्ध काम गर्ने कुरा समावेश गरेका छौँ,' उनले भने, 'कैलाली र कञ्चनपुरका सबै स्थानीय तहले लागु औषध विरुद्ध लाग्न जरुरी छ, यो महाअभियानमा धनगढीको पूरा साथ रहने छ।'

नगरप्रमुख हमालले प्रहरी प्रशासनले धनगढीमा कडाई गरे लागु औषधका प्रयोगकर्ता र कारोबारीले महेन्द्रनगरबाट कारोबार गर्ने, महेन्द्रनगर र धनगढीमा कडाई गरे टीकापुर र वेलौरी बसेर लागु औषधको प्रयोग र कारोबार हुने गरेको बताए। उनले एकिकृत रुपमा प्रहरी प्रशासन, स्थानीय तह र सर्वसाधारण मिलेर ड्रगको सञ्जाल ध्वस्त गरेर युवा, परिवार, समाज र देशको भविष्य बर्बाद हुनबाट बचाउन सबैले लाग्न जरुरी भएको बताए।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस