सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा सामुदायिक वन र जनप्रतिनिधिकै संग्लनतामा अवैध रुपमा रुख कटानी

२०७५ चैत्र १४, ०६:३६ नवराज पनेरु

कैलालीको चुरे गाउँपालिकामा रहेको विभिन्न सामुदायिक वनमा अवैध रुपमा रुख कटानी भएपछि छानविन भईरहेकै बेला समेत अनुमती विना रुख कटानी जारी राखिएको छ। चुरे क्षेत्रका सामुदायिक वनमा वनका पदाधिकारी र जनप्रतिनिधिको  संग्लनतामा अवैध रुपमा रुख कटानी जारी रहेको हो। विगतमा सडक निर्माणको नाममा अवैध रुपमा रुख कटानी गर्दै लाखौँ घोटाला गरेका सामुदायिक वनका पदाधिकारीले अहिले विद्युतीकरणका नाममा जनप्रतिनिधिसंगको मिलोमतोमा रुख काट्न थालेका हुन्।

चुरे गाउँपालिकामा पर्ने शिद्ध प्रगतिशिल सामुदायिक वनमा अवैध रुपमा रुख कटानी भएको फेला परेपछि अन्य सामुदायिक वनमा पनि छानविन भईरहँदा अवैध रुपमा रुख कटानी पनि जारी रहेको हो। चुरे गाउँपालिका वडा नम्वर ३ मा रहेको सालघारी सामुदायिक वनमा पनि साल र सल्लाका रुखहरु अवैध रुपमा काटिएको ईलाका वन कार्यालय खानीडाँडाका प्रमुख डवल बोहाराले बताए।

सालघारी सामुदायिक वन भएर डोटीको वीपिनगर क्षेत्रमा विद्युतीकरण भईरहेको छ। विद्युतीकरणका लागि रुख बाधक बनेपनि सामुदायिक वनका अध्यक्ष हिक्कम शाह र चुरे गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष टेकवहादुर शाहको ठाडो निर्देशनमा साल र सल्लाका रुख काटिएको हो। सामुदायिक वनका अध्यक्ष हिक्मत शाहले भने रुखका हाङगा काट्न निर्देशन दिएपनि रुख नै काटेको भन्दै उम्किने प्रयास गरेका छन्।

वीपिनगर क्षेत्र सम्म विद्युतीकरणको ठेक्का पाएका ठेकेदारले वडा अध्यक्ष र सामुदायिक वनका अध्यक्ष शाहलाई आर्थिक लोभमा पार्दै अवैध रुपमा रुख काटिएको आरोप स्थानीयले लगाएका छन्। स्थानीयका अनुसार विद्युतीकरणको ठेक्का पाएको ठेकेदारबाट वडा अध्यक्ष र सामुदायिक वनका अध्यक्षले २ लाख रकम लिएको र ३० हजारमा पदम भण्डारीलाई रुख काट्न आदेश दिएका हुन्।

बाँकी १ लाख ७० हजार भने वडा अध्यक्ष र सामुदायिक वनका अध्यक्षले खल्तीमा हालेको आरोप लागेको छ। स्थानीयको गुनासोपछि वन डिभिजन कार्यालय कैलालीले सालघारी सामुदायिक वनमा भएको अवैध कटानीको छानविन सुरु गरेको छ। ईलका वन कार्यालय खानीडाँडालाई छानविन गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिईएको डिभिजन वन कार्यालय कैलालीका प्रमुख अमर बुलनले बताए। ईलाका वन कार्यालय खानीडाँडाका अनुसार सालघारी सामुदायिक वनले अवैध रुपमा ४ वटा साल र ३ वटा सल्लाका रुख काटेको फेला परेका छन्। स्थानीयका अनुसार अन्य रुख पनि काट्दै लुकाईएको छ। वन डिभिजन कार्यालयसंग त परै जावस आफ्नै सामुदायिक वनमा समेत रुख कटानीको निर्णय गरिएको छैन्।

अध्यक्षलाई स्पष्टिकरण सोधिएपनि अहिले सम्म जवाफ नआएको ईलाका बन कार्यालय खानीडाँडाका प्रमुख डवल बोहाराले बताए। चुरे क्षेत्रमै पर्ने शिद्ध प्रगतिशिल सामुदायिक बनका अध्यक्ष हर्क वहादुर साउद र सडक निर्माण समितिका अध्यक्ष ज्ञानसिह धामीलाई अवैध रुपमा रुख कटानीको आरोपपछि पक्राउ गरिएको थियो। अहिले उनीहरु धरौटीमा छुटेका छन्। त्यसपछि अन्य सामुदायिक वनमा पनि छानविन सुरु गरिएको थियो तर छानविन भईरहेकै अवस्थामा समेत अवैध रुपमा रुख कटानी जारी रहेपछि स्थानीय जनप्रतिनिधिले सत्ताको दुरुपयोग गरिरहेको गुनासो बढ्दै गएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस