सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमममा गेटा आँखा अस्पतालका तीन अन्य अस्पताल र २१ शाखा विस्तार

२०७९ माघ १९, १०:०३ नारायण अवस्थी

धनगढीः  आँखा अस्पतालले सुदूरपश्चिममा थप तीन वटा आँखा अस्पताल सञ्चालनमा ल्याएको छ। कैलालीको टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र डडेल्धुरामा आँखा अस्पताल सञ्चालनमा ल्याएको हो। तीनै ठाउँमा विशेषज्ञ चिकित्सकसहितको आँखा उपचार सेवा प्रदान भइरहेको छ।

यसैगरी प्रदेशका सबै जिल्लमा २१ वटा आँखा उपचार केन्द्र सञ्चालन छन् भने कञ्चनपुरको वेलौरी र धनगढीको बुद्धमन्दिरमा सर्जरी सेन्टर सञ्चालनमा छन्। वेलौरीमा महिनाको एक पटक र धनगढीको बुद्धमन्दिरमा हरेक हप्ताको बिहीवार आँखाको शल्यक्रिया गरिने गेटा आँखा अस्पतालका प्रशासन प्रमुख गोविन्दराज जोशीले बताए।

'गेटा आँखा अस्पतालले तीन ठाउँ महेन्द्रनगर टीकापुर र डडेल्धुरामा अस्पताल सुरू गरेको छ,’ उनले भने, ’प्रदेशभर २१ वटा आँखा उपचार केन्द्र र दुई ठाउँमा सर्जरी केन्द्र पनि छन्।’

स्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको गेटा आँखा अस्पतालमा उपचार गराउन आउने सुदूरपश्चिमका भन्दा भारतीय बिरामी बढी हुने गरेका थिए। तर, केही वर्षदेखि भारतीय बिरामी आउने संख्या घट्न थालेको छ। स्तरीय र भरपर्दो आँखा उपचार हुने अस्पतालमा भारतीय बिरामी केही कम भएको तर शल्यक्रिया गर्न आउने बिरामी भने नघटेको अस्पतालका प्रशासन प्रमुख जोशीले बताए।

'अहिले भारत सरकारले विभिन्न ठाउँमा आँखा अस्पताल खोलेको छ, जसले गर्दा ओपिडीमा आउने बिरामी केही घटेका छन्,’ उनले भने, ’शल्यक्रिया गराउन आउनेको संख्या भने उस्ताउस्तै छ।’

आर्थिक वर्ष २०७६/०७७ मा गेटा आँखा अस्पतालको ओपिडीमा आउने बिरामीको संख्या ७४ हजार २७९ थियो भने शल्यक्रिया गराउनेको संख्या १७ हजार २५८ थियो। आर्थिक वर्ष २०७७/०७८ मा ओपिडीमा आउने बिरामीको संख्या ६२ हजार २१७ र शल्याक्रिया गराउनेको संख्या ११ हजार ३०४ थियो। आर्थिक वर्ष २०७८/०७९ मा भने उपचार गराउन आउनेको संख्या बढेको देखिन्छ। यो वर्ष ओपिडीमा ९९ हजार ७८७ र शल्यक्रिया गराउनेको संख्या १९ हजार ५१८ पुगेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म गेटा आँखा अस्पतालमा ४५ हजार २५७ बिरामीको उपचार भएको छ।

गेटा आँखा अस्पतालले भारतीय नागरिकमाझ गुणस्तरीय र सस्तो उपचार सेवा दिएर विश्वास आर्जन गरे पनि बिरामीको संख्या घट्न थालेपछि गुणस्तर खस्किएको पो हो कि भन्ने आशंका गरिएको छ। तर, अस्पतालमा विगतको भन्दा सेवा विस्तार भएकाले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बिरामी आउने प्रतिशत बढेको गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेशराज पन्तले बताए।'अहिले अस्पतालमा प्रविधि र सेवा विस्तार भएको छ, कोरोनाको समयमा भारतीय बिरामीको संख्या घटेको थियो तर अहिले बढ्न थालेको छ,’ उनले भने, यो वर्ष ३५ प्रतिशतको हाराहारीमा भारतीय बिरामीको संख्या पुगेको छ।’

गेटा आँखा अस्पतालमा आँखाको आकस्मिक उपचार सेवा, विना टाँका मोतिविन्दुको शल्यक्रिया, फेको प्रविधिबाट मोतिविन्दुको शल्यक्रिया, आँखाको पर्दा अर्थात रेटिनाको विशेष उपचार तथा शल्यक्रिया हुने गरेको छ।

यस्तै,  जलविन्दुको विशेष उपचार तथा शल्यक्रिया, आँखाको नानी प्रत्यारोपण तथा उपचार हुने गरेको छ। गेटा आँखा अस्पतालले बिरामीलाई १६ किसिमको उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा अकुलोप्लाष्टिक सेवा, बाल आँखा उपचार तथा शल्यक्रिया सेवा, आँशु नलिको शल्यक्रिया सेवा, डेडो आँखाको शल्यक्रिया, लेजर सर्जरी सेवा, भिजुअल फिल्ड जाँच सेवा, कलर भिजन जाँच सेवा, एबी स्क्यान जाँच सेवा, प्रयोगशाला र फार्मेसी सेवा प्रदान गर्दै आएको छ। 


 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस