सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सुझाव सङ्कलन

२०८२ जेठ २४, १०:२४ खबर संवाददाता

कञ्चनपुर : शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले कञ्चनपुरका पालिकाहरूमा विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन विषयमा सुझाव सङ्कलनको कार्य गरेको छ।

जिल्लाका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुखहरू, तीन वटै नगरपालिकाका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरूबाट शुक्लाफाँटा र बेलौरी नगरपालिकामा कार्यक्रमको आयोजना गरी सुझाव सङ्कलनको कार्य गरिएको हो।

सङ्कलित सुझावहरूलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बन्ने नीति नियममा समावेश गरिने भएको छ। योसँगै आगामी वर्षका सङ्घीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नका लागि प्रस्ताव गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक रामप्रसाद शर्माल बताए।

पालिकास्तरमा विद्यालयमा शिक्षा र शिक्षक व्यवस्थापन सम्बन्धमा कार्यक्रमको आयोजना गरी राय, सुझाव सङ्कलनको कार्य गरिएको छ। ‘कार्यक्रममा शिक्षा मन्त्रालय, शिक्षा विभागले गर्दै आएका र भावी दिनहरूमा लागू गर्नसक्ने योजनाका बारेमा छलफलसँगै राय सुझाव सङ्कलनको कार्य गरेका छौँ’, उनले भने, ‘कार्यक्रममा महत्वपूर्ण सुझावहरू आएका छन, सुझावलाई आगामी योजनामा समावेश गर्नका लागि पहल गर्छौँ।’

पालिकास्तरका कार्यक्रममा सहभागीहले पाठ्यक्रमलाई व्यवहारिक र जीवनोपयोगी बनाउने, स्थानीय भाषा, संस्कृति र सीपहरू समावेश गर्ने, प्रविधिमैत्री शिक्षण विधि प्रयोग गर्ने, विद्यार्थीको सक्रिय सहभागितामा हुने शिक्षण शैलीको विकास गर्ने, शिक्षकको नियमित प्रशिक्षण तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायत सुझाव दिएको उहाँले उल्लेख गरेका छन्।

शिक्षक दरबन्दी यथेष्ट बनाउने र रिक्त दरबन्दी तत्काल पूर्ति गर्ने, शिक्षक मूल्याङ्कन प्रणालीलाई पारदर्शी र गुणस्तरीय बनाउने, शिक्षकलाई प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्ने, विद्यार्थीको आवश्यकता पहिचान गरी व्यक्तिगत सहायता प्रदान गर्ने, सिकाइ मूल्याङ्कनलाई निरन्तर समावेशी बनाउन सुझाव दिइएको छ।

कार्यक्रममा शौचालय, खानेपानी, पुस्तकालय, प्रयोगशाला, खेलमैदानजस्ता आधारभूत पूर्वाधारको व्यवस्था गर्ने, शैक्षिक सामग्री तथा प्रविधि पहुँच सजिलो बनाउने, विद्यालय विकास योजना बनाउँदा समुदायको सहभागिता सुनिश्चित गर्ने, स्थानीय तह र विद्यालयबीच समन्वय सुदृढ गर्ने, विद्यालय व्यवस्थापन समिति प्रभावकारी बनाउने, शिक्षा नीति कार्यान्वयनमा निगरानी तथा जवाफदेहीताको सुनिश्चित गर्नेलगायत सुझाव सङ्कलन गरिएका छन्।

सुझाव सङ्कलन कार्यक्रममा सहभागीपूर्व संविधानसभा सदस्य तथा राष्टिय माध्यमिक विद्यालय पहरिया कृष्णपुरका अध्यक्ष कमल ठकुल्लाले विद्यालय सुधार योजना बनाई लागू गर्नुपर्ने बताए। उनले शिक्षामा देखा परेका नीतिगत र कानुनी अड्चनलाई हटाउनका लागि सुझाव दिए।

शुक्लाफाँटा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा शिक्षकदरबन्दी मिलान, प्रधानाध्यापकहरूको तहगत मिलनसँगै विद्यालय समायोजनको कार्य गरिएको बताए। विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई तालिम दिनुका साथै स्थानिय पाठयक्रम निर्माण गरी विद्यालयमा लागू गरिएको उनले बताए।

शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले शिक्षक व्यवस्थापन सुधार गर्नुनै विद्यालय शिक्षाको गुणस्तर बढाउने उपायका रूपमा रहेको चर्चा गर्नुहुँदै व्यवहारिक सिकाइसँगै प्रविधिको प्रयोग र विद्यार्थी केन्द्रीकृत शिक्षण विधिलाई अङ्गाल्नु पर्ने सुझाव दिइ।

कार्यक्रममा मानव स्रोत विकास केन्द्र सानोठिमीका निर्देशक शर्माले शिक्षकहरू तथा व्यवस्थापन समितिका अध्यक्षहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुहुँदै सङ्कलन गरेका सुझावलाई सिकाइका रूपमा लिइने र आवश्यक सुझावलाई आगामी योजना बनाउनका लागि लागि उपयोगी भएको बताए।

 

कमेन्ट लोड गर्नुस