म सफल किन भएन?
वेदप्रकाश उपाध्यायः अर्कोले जे गर्यो त्यही गर्छु। अरूको कुरा नियाल्दै हेर्छु , नागरिकता बोकेर पनि आफूले गर्ने कर्तव्यबाट विमुख छु। मलाई आफ्नो लक्ष्य थाहा छैन, भन्ने बेला स्नातक, स्नातकोत्तर पढिरहेको छु, भन्छु। सोच विचार गर्ने समय छैन, भन्छु। समय आएपछि गरुला भनेर पर्खिन्छु। समयले नेटो काटिसकेपछि अनि बल्ल बुद्धि पलाउँछ। पूर्वबाट घाम झुल्किन्छ। अनि बुझ्न थाल्छु। भाग्यलाई भाग पुगा भन्दै बसेको छु।
समयको महत्त्व के रहेछ भन्ने कुरा कहाँ सजिलै थाहा हुन्छ र? बाल्यावस्थामा खेल्न तर्फ ध्यान जान्छ। युवावस्थामा हुने शारीरिक मानसिक र भावनात्मक विकासले त झन सोच्नै दिन्न। त्यो बेला मोज मस्तिको गर्न मनले लखेटी रहन्छ। समाज पढ्न, बुझ्न अनि ज्ञान बढाउनमा ध्यान जाँदैन। बस्! केबल आफ्नो स्वार्थ पूरा गर्नमै समय जाने रहेछ। हामीलाई थाहा हुन्न कि ती स्वार्थ आफैमा क्षणिक छन्, केबल भौतिक शरीरलाई आनन्द दिने।
मान्छेले जीवनलाई मोज र भोजमा नै उडाउँछन्। मानिसको अन्तिम तयारी भनेको मृत्यु हो, तर त्यहीँ मृत्युसँग खेल्ने गर्छन्। जीवनलाई सार्थकता तिर लग्दैनन्। निरर्थक खोजमा लाग्छन्, मान्छेहरू। फलानोले यस्तो गर्यो। म यस्तो गर्छु। केवल प्रतिस्पर्धा मात्र। आत्म सन्तुष्टिको कुरा नै छैन यहाँ। इन्द्रिय र मनलाई भोगमा नै लिप्त गरेर जिन्दगी कटाउन खोज्छौँ। पैंसा मात्र देख्छौँ। मानवीय गुणलाई बिर्सन्छौँ। आफ्नो पुर्खाले सिकाएको धर्म, संस्कारलाई भुल्छौँ । बुद्ध दर्शनको भनाइ आत्म दीपो भवः मार्फत आफैँले आफैँलाई चिन्न खोज्दनौँ।
बुद्धका... थाह छैन अनि देखाउँछौँ खोक्रो कागज जसले केबल फोटोकपी गर्न मात्र सिकायो। भाग्यलाई दोष दिन्छौँ। भाग्यको अर्थ नबुझी आफैले आफैलाई नकारात्मक दोषी बनाउन अग्रसर हुन्छौँ। कतिले म सफल हुन् सक्दैन भनेर मन र तनलाई हार्नका लागि तयार पार्न पुग्छन्।
हामी आधुनिक मान्छे परोपकारलाई बिर्सदै हिंसाको मार्ग सजिलै जान्छौँ। कसैले कुनै विषयको बारेमा बोल्छ। त्यस कुराको खोजी गर्दैनौँ। कुनै पनि कुरा सत्य हो या गलत हो तथ्य नबुझेर ताली बजाउँदै हिड्छौँ। सही र गलत छुट्याउन सक्दनौँ। कर्म नै नगरी भाग्यको कुरामा जोड गर्छौँ। एउटै काम गर्छौँ। काम गर्ने तरिकामा बदलाव हुँदैन अनि नतिजा फरक आउनुपर्छ भन्ने आशा गर्छौँ। हामी जिव्रोको अधिनमा छौँ। जिव्रोको वशमा परेर खाना पनि यसरी खान्छौँ कि त्यसले स्वास्थ्यलाई बिगार्ने हेक्कासम्म राख्दैनौँ। विचार विकार उन्मुख हुन्छ। त्यसलाई ठिक ठाउँमा लिने प्रयत्न गर्दैनौँ। जान्नुपर्ने कुरा हाम्रो मगजका लागि ग्राह्य हुन्न अनि हामी भड्किन्छौँ देशदेखि विदेशसम्मको यात्रामा।
हामी सिक्दैनौँ आफूलाई कसरी निर्माण गर्ने भनेर, सिक्छौँ अरूलाई कसरी बिगार्ने भनेर। कदर गर्नुपर्ने कुरालाई बदर गर्दै हिड्ने अनि देश र नेतालाई गाली गर्ने विचार त आउने नै भयो। अर्काको क्षमता बुझ्ने, आफूमा के क्षमता छ भनेर थाह नपाउने, भएको क्षमता लुकाउँदै हिड्ने अनि मलाई केही आउँदैन भन्ने गर्नाले नै सफल हुन सकिन भनेर सोच्दैन मान्छे। पढ्न र समाज बुझ्नलाई फुर्सद छैन तर मनोरञ्जनका लागि जति पनि समय हुने गर्छ। आफ्नो लक्ष्मण रेखा आफै बनाउँदैनौँ। केवल बनिरहन्छौँ विषय भोगमा मात्र लिप्त। अनि रावण जसरी लक्ष्मण रेखा पार गर्न छलको सहारा लिन्छौँ। अर्काको नक्कल गर्दै बस्छौँ। के सहि के गलत बुझ्ने समय नै कहाँ छ र? म रमाउने मान्छे हुँ भन्दै रमाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा हाल्न पाए निकै ठुलो उपती भएको भ्रममा बाच्नु हाम्रो कर्मठ दिनचर्या बनेको छ।
गम्भीर भएर सोच्ने हो भने क्षणिक खुसी व्यक्तिको सफलताको मानक होइन। क्षणिक खुसी केबल एक ढोङ न हो। म किन सफल भएन भनेर कहिले निर्क्यौल गर्दैनन् अचेल मान्छेहरू। म यति पढेको छु भनेर अहमता प्रकट गर्नु र कुतर्कबाट भए पनि अरुलाई जित्नु पर्छ भन्ने भयङ्कर आडम्बरबाट मान्छे गुज्रेको हुन्छ।
'अल्प ज्ञानम् भयङ्करम्’ अर्थात् थोरै ज्ञान सबैका लागि घातक हुन्छ भन्ने कुरा बारे सोच्दैनन् । सोच्ने फूर्सद कहाँ छ र? कमजोरी कहाँ भयो? कहाँ सुधार गर्नु पर्ने छ? कहाँनेर पृष्ठपोषण आवश्यक छ? त्यो बुझ्न आवश्यक नै ठान्दैनन्। बाह्य रुपमा ठिकठाक जै लाग्ने तर भित्रभित्रै रुग्ण हुन पुगेको छ आधुनिक मान्छे। मैले सफल जसरी पनि हुनुपर्छ भन्ने मान्यता बोकेर कुद्ने मान्छे, सफलताका सुत्र छोडेर मृगतृष्णामा दौडिएको छ मान्छे। सफल हुन आफैंभित्र पूर्णताको खोजी गर्नुपर्छ भन्ने तथ्य विर्सेको छ मान्छे। सफल हुन संयम हुनुपर्छ भन्ने साधारण नियम जान्दैन मान्छे। सफल हुन अर्काको साहारा होइन आफैं उभिन, हिड्न र होसमा दौडिनु पर्छ भन्ने ठान्दैन मान्छे।