सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन्यजन्तुको आहरा व्यवस्थापन गर्न राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन

२०७५ चैत्र ११, ०७:१६

चितवन राष्ट्रिय निकुञ्जले जंगलमा रहेका दुर्लभ वन्यजन्तुको आहारमा समस्या आउन नदिन घाँसे मैदान व्यवस्थापनलाई थप प्रभावकारी रुपमा गर्ने भएको छ। पहिलो पटक ठेक्कामा लगाएर निकुञ्जले घाँसे मैदान व्यवस्थापन गर्न लागेको हो। पछिल्लो समय निकुञ्जमा शाकाहारी जनावर बढेका कारण घाँसे मैदान पनि बढाउनुपर्ने अवस्था देखिएको छ। शाकाहारी जनावर बढ्दै जाने र घाँसे मैदान घट्दै जाने क्रमले निकुञ्जमा रहेका वन्यजन्तुको आहारामा समस्या देखिन थालेको छ। 
निकुञ्ज स्थापनाको समयमा २० प्रतिशत घाँसे मैदान रहेकामा अहिले ९ दशमलब ६ प्रतिशत मात्र घाँसे मैदान रहेको छ। निकुञ्जभित्र ४२५ वटा घाँसे मैदान छन्। निकुञ्जको कुल १० हजार ४९७ दशमलब २ हेक्टर क्षेत्रफलमध्ये भित्री भागमा आठ हजार ९५५ दशमलब २ हेक्टर र मध्यवर्ती क्षेत्रमा एक हजार ५४१ दशमबल ९ हेक्टर रहेको छ। निकुञ्जले यस वर्ष करिब २०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले जानकारी दिए। निकुञ्जले पहिलो पटक ठेक्का प्रणालीवाट घाँसे मैदन व्यवस्थापन गर्न लागेको जानकारी दिँदैै उनले ५० हेक्टर क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्न ठेक्का दिन लागेको बताए। ८० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन निकुञ्ज आफैले गरेको बताउदै घिमिरेले दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, हरिण, जरायोलगायतका संरक्षित जनावरका लागि घाँसे मैदान व्यवस्थापन गर्न लागिएको बताए।
विभिन्न साझेदार संस्थासँगको सहकार्यमा निकुञ्जले घाँसे मैदान व्यवस्थापन गर्न लागेको घिमिरेले जानकारी दिए। ९५२ वर्ग्किमी क्षेत्रफलमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र करिब १० हजार हेक्टर क्षेत्रफलमा घाँसे मैदान रहेको छ। 
शाकाहारी जनावर बढे
चितवन राष्ट्रिय निकुञ्जभित्र शाकाहारी जनावर बढेका छन्। शाकाहारी जनाबर बढेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र आवश्यक घाँसे मैदान व्यवस्थापन चुनौती बनेको छ। निकुञ्ज भित्र घाँसे मैदान क्षेत्र घट्दै जानु र शाकाहारी जनावर बढ्दै जानुले चुनौती देखिएको थियो। निकुञ्जमा गैँडा, चित्तल, जरायोजस्ता जनावरको संख्या थपिँदै जाँदा घाँसे मैदान व्यवस्थापन गर्दै बढाउनुपर्ने देखिएको छ। घाँसे मैदानमा थेमेडा, नर्कट, दुबो, सिरु, काँस, कुशजस्ता घाँसका जात पाइन्छन्। हरेक वर्ष घाँस काट्ने, आगो लगाउने, घाँसे मैदानमा उम्रिएका रुखका पोथ्राहरु हटाउनेजस्ता कार्य गर्नुपर्छ। ठूलो क्षेत्रमा यी सबै काम व्यक्तिमार्फत गरिँदै आएकाले निकै खर्चिलो र समय लाग्ने गरेको छ।
माइकेनिया झार समस्या
निकुञ्ज र आसपासमा क्षेत्रमा फैलीदै गएको माइकेनिया नामक मिचाहा प्रजातिको झारले पनि घाँसे मैदानलाई घटाउँदै आएको छ। त्यसैगरी खयर, सिमलजस्ता रुखहरु फैलिएर पनि घाँसे मैदान साँघुरिने गर्दछ। मुख्यगरी वन्यजन्तुको बासस्थान तथा उनीहरूको आहारामा असर गरिरहेको छ। वन्यजन्तुले खाने घाँसेमैदान समेत माइकेनिया माइक्रान्था नामको मिचाहा प्रजातिको झारले सखाप पारिरहेको छ। माइकेनिया नामको वनमारा प्रजातिको झारले रूख बिरुवामा चढेर मार्ने गरिएको छ, जसका कारण वन्यजन्तुहरू आहारा प्रजाति खोज्नका लागि बासस्थानसमेत परिवर्तन हुदै आएको छ। संरक्षणका लागि चुनौती मानिएको चितवन निकुञ्जको वनमारा प्रजातिको मिचाहा वनस्पति माइकेनिया माइक्रान्थालाई जैविक मलका रूपमा प्रयोग गर्न सकिने विभिन्न अनुसन्धानले देखाए पनि सफल प्रयोग हुन नसकेको घिमिरेले बताए।
आहारा अभावले बस्ती पस्छन् जनावर
निकुञ्जभित्र घाँसको पर्याप्त व्यवस्थापन हुन सकेको अवस्थामा एकसिङ्गे गैँडा, हरिण, जरायो लगायतका जनावर बस्ती प्रवेश गर्ने भएकाले निकुञ्जले हरेक बर्ष घाँसे मैदान व्यवस्थापन गर्दै आएको छ।
निकुञ्जभित्र राम्रो घाँसे मैदान नहुँदा जङ्गली जनावर बस्ती पस्ने समस्यासमेत देखापर्दै आएको छ। जंगलमा आहराको अभाव हुने गरेका कारण जंगली जनावर मानव वस्तीमा प्रवेश गर्ने गरेकाछन्। मानव वन्यजन्तुको द्धन्द्ध बढ्दै जानुको कारण मध्यको एक घाँसे मैदानको अभाव पनि हो। वन्यजन्तु संरक्षणको प्रयासले वन्यजन्तुको संख्या बढ्दै गएको तर आहराको लागि पानीका श्रोत र घाँसे मैदानको अभावका कारण वन्यजन्तु मानववस्तीमा प्रवेश गर्दछन्। जलवायु परिवर्तन, बाढीपहिरो, डढेलो र मानव अतिक्रमणले आहारामा कमी आउँदा वन्यजन्तु आहाराको खोजी गर्नेक्रममा मानव बस्ती प्रवेश गर्छन्। 
वन्यजन्तु मानववस्तीमा प्रवेश पछि हुने गरेको मानवीय क्षती र अन्य भौतीक क्षती कम गराउनका लागि पनि निकुञ्ज र आसपासका क्षेत्रमा घाँसे मैदान व्यवस्थापनमा गम्भिर हुनुपर्ने सूचना अधिकारी घिमिरेले बताए। सांभार - उज्यालो खबर
 

कमेन्ट लोड गर्नुस