नयाँ सरकार बनेसँगै नेप्से परिसूचक ५६.८६ अंकले बढ्यो
काठमाडौंः देशमा नयाँ राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा नेपाली शेयर बजारमा उत्साह छाएको छ। अर्थमन्त्री नयाँ आउने भएसँगै शेयर लगानीकर्तामा उत्साह देखिएको हो। पछिल्लो समय निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से सोमबार एकाएक ५६ दशमलव ८६ अंक बढेर १९२४ दशमलव ०७ बिन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ८ दशमलव ३८ अंकले, फ्लोट इण्डेक्स ४ दशमलव ५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ९७ अंकले बढेको छ।
सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। नेप्सेका १३ उपसमूह मध्ये अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ६ दशमलव ५२ प्रतिशत बढेको छ।
त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकभने २ दशमलव २९ प्रतिशत घटेको छ।
सोमबार आधा दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा गोर्खाज फाइनान्स, श्रृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, हिमालयन पावर वार्टनर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, नेपाल टेलिकमको शेयरमूल्य भने ५ दशमलव ५६ प्रतिशत घटेको छ। आज नेपाल टेलिकमको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।