सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गिरी दम्पतिको ‘आनन्दी अचार’, यस्ता छन विशेषता

२०७९ पुष ९, ०७:१५ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका–८ का रामचन्द्र गिरी र शान्ति गिरीको ‘आनन्दी अचार’ उपभोक्ता माझ लोकप्रिय छ। गिरी दम्पतिको आनन्दी अचारको माग बढ्दै गएको छ। ७ वर्षदेखि धनगढीमा फलफूल खेती गर्दै आएका गिरी दम्पतिले अचार उद्योग सञ्चालनमा ल्याएको पाँच वर्ष भयो। एक वर्षमा करिव ६० क्वीन्टल अचार बिक्री हुने गरेको छ।

उद्यमी रामचन्द्र गिरीले शान्ति बाटिका फलफूल प्रशोधन उद्योगबाट ‘आनन्दी’ ब्राण्डको अचार उत्पादन गर्दै आएका हुन्। पत्नि शान्ति गिरीलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रले ६ महिने अचार बनाउने तालिम दिएपछि अचार उद्योग सञ्चालनमा ल्याएको रामचन्द्रले बताए। ‘सात वर्ष अगाडि आप्नै १४ कट्ठा जग्गामा आँप, कागति, लिचि र करौदा रोपेर फलफूल व्यवसाय गर्ने सोच बनाएएर सस्तोमा कागति र आँपलगायतका फलफूल बिक्री गर्नुपर्ने देखेपछि आफैले अचार बनाएर बिक्री गर्ने निधो गरेका हौँ।’

बगैँचामा विभिन्न प्रजातिका ४० रुख आँप, एक सय रुख कागति, ५३ रुख लिचि रोपेर गिरी दम्पतिले कागति र लिचिका कलमी विरुवा समेत विक्री गर्दै आएका छन्। यो वर्ष मात्रै १० हजार बोट कागति र ४ हजार लिचिको कलमी विरुवा बिक्री गर्ने योजना उनीहरुको छ। वर्षभरी नै ‘आनन्दी ब्राण्ड’का अचार तयार गरेर बिक्री गर्ने गरेका छन्। उनको उद्योगमा आँप, कागति, मिक्स, लसुन, अमला, लप्सी, तामा, अकबरे खुर्सानी, र करेलाको अचार बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ। यो वर्ष च्याउको अचार समेत बजारमा पठाउने तयारी छ। कोरोना महामारीका कारण अघिल्ला वर्ष व्यवसायमा समस्या आए पनि यो वर्ष ६० क्वीन्टल अचार बिक्री गर्ने योजना छ।

स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर अचार उत्पादन हुँदै आएको छ। अमला, अकबरे खर्सानी अदुवा र लप्सी सुदूरपश्चिमको पहाडी जिल्लाबाट आयात गरेर आफ्नै बारीका आँप, कागति, करेला र करोदा प्रयोग गरी अचार तयार गर्ने गरिएको छ। आनन्दी अचारको माग आए धनगढीका घरघरमै पुगाउने व्यवस्था समेत गरिएको छ। साथै हाट बजारमा गिरी आफैंले बिक्री गर्दै आएका छन्। अचार बनाउने विधि सिक्न चाहनेहरूलाई तालिम समेत दिने गरेको उद्यमी शान्ति गिरी बताउँछिन्। ‘अचारसँगसँगै विभिन्न फलफूलका कलमी विरुवा समेत बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ।’ 
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस