सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सोचेर बस्ने की गरेर बस्ने!’

२०७९ पुष १, ०८:४० खबर संवाददाता

रोहित चन्द, धनगढी: आम निर्वाचन सकियो। परिणाम सार्वजनिक भयो। अरु आम निर्वाचनभन्दा अहिले केही त विशेष भएको छ। गत स्थानीय तह निर्वाचनले ढोका खोलेको थियो। अब चाहिँ राजनीतिको कोठामै प्रवेश गर्ने वातावरण सृजना भएको छ।

यो निर्वाचनले पार्टी राजनीति र चुनावी राजनीतिमा प्रवेश गर्न धेरैलाई सहज बनाएको छ। खासगरी युवा पुस्तालाई सजिलो बनाई दिएको छ। युवाहरु स्वतस्फूर्त रूपमा राजनीतिमा अग्रसर हुन थालेका छन्। हिजोसम्म तीन ओटा पार्टीलाई निर्विकल्प सोचिन्थ्यो। आज विकल्पहरू थपीएका छन्। विकल्प रोज्न इच्छा नभएकाहरुलाई स्वतन्त्रतबाट पनि अगाडि बढ्न सकिन्छ है भन्ने सन्देश दिएको छ। आफै अगाडि नबढ्ने हो भने अरूलाई प्रेरित गर्दा पनि राम्रै परिवर्तनको झिल्को बल्ने रहेछ भन्ने प्रमाणित गरिदिएको छ।

देशैभर यो चुनावले सुदूरपश्चिममा पनि तरंग पैदा गरेको छ। धेरै युवाहरुको सोच्ने शैली र टिप्पणी गर्ने लयहरु नै परीवर्तन भएको छ। हिजोसम्म नेताहरुलाई गाली गरेर देशभक्ति प्रकट गर्ने जमात आज आफै विकल्प बन्न अग्रसर हुँदै छ। हिजो देश ठीक ठाउँमा आएन भन्ने जमात आज पाँच बर्ष पछि फलानो ठाउँमा उठ्नु पर्यो कि भन्ने सोच्न थालेका छन्। हिजो फलानाले गल्ती गर्यो भन्नेहरु आज त्यो गल्तीमा अध्ययनसहित प्रस्तुत हुन थालेका छन्।

आम निर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा मेरो धेरै युवाहरुसँग छलफल भइरहेको थियो। धेरैसँग अबको राजनीति कस्तो होला, यो परिणाम संस्थागत कसरी गर्न सकिएला, यो परिवर्तन दिगो रहला की नरहला, अब युवाहरु कसरी अग्रसर हुनुपर्छ लगायत विभिन्न विषयहरुमा अलग अलग ढंगले गफगाफ भइरहेको थियो। 

धेरै मान्छेहरु यो परिणामले आशावादी छन्। धेरै उत्प्रेरित भएका छन्। कति त आफै पनि पाँच वर्षपछिको योजना बनाउन थालेका छन्। अहीलेबाट नै आफ्नो सक्रियता देखाउन थालेका छन्। 

यती हुँदा हुँदै पनि केही संशयहरु प्रकट भइरहेका छन्। त्यो संशय जित्नेहरूप्रतिको होइन। यात्रा कति कठिन होला भन्ने कोणबाट आशंकाहरु प्रकट हुँदै छन्। सुदूरपश्चिममा यति सजिलै मत परिवर्तन होला त? के हाम्रा मतदाताहरु त्यो तहमा पुगिसकेका छन् त? यदाकदा त्यस्ता प्रश्नचिन्हहरु बोल्न नसके पनि मुखमा झल्किन्छ।

राष्ट्रिय मीडिया बढी सुनेर काठमाण्डौंमा त केके पो भइसक्यो, हामी पछाडि पर्यौं की क्या हो भन्ने विश्लेषण नगरौं। सुदूरपश्चिमको मनोविज्ञान नबुझेकाहरुले भन्छन्, सुदूरपश्चिममा लहरले काम गरिएको छैन। चार तारे होटलमा विज्ञता देखाउनेहरुले यहाँको विकटता मात्रै देख्नु स्वाभाविक हो। अन्तरवार्ताकारहरुले जन्माई दिएका बौद्धिकहरुले यहाँको अशिक्षा मात्रै देख्नुलाई अन्यथा नमानौं। काठमाण्डौमै हुर्किएर, त्यही राजनीति गरेकाहरुले काठमाण्डौंलाई मात्रै परिवर्तनको संवाहक मान्नु नौलो कुरा होइन। 
सुदूरपश्चिम मूलधारबाट टाढा भएकै कारणले यहाँका सकारात्मक कुराहरू चर्चामा नआउनु हाम्रो दुर्भाग्य हो। चर्चामा आएन भन्दैमा प्रयासहरू भइरहेका छैनन् भन्नु गलत हो। मीडियामा सुनिएन भन्दैमा ती प्रयासहरुको परिणाम देखिएन भन्नु हामी आफैप्रति विश्वस्त नहुनु जस्तै हो। 
सुदूरपश्चिमको प्रखर राजनीतिक चेतना विश्लेषण गर्न देखिएका र सुनिएका केही तथ्यहरु मात्रै अध्ययन गर्ने हो भने पनि काफी हुन्छन्। जस्तै ः
–मधेशमा जनमत पार्टी र काठमाण्डौंमा स्वतन्त्र पार्टी उदाउँदा सुदूरपश्चिममा नागरिक उन्मुक्ति उदाएको छ। यी पार्टीहरुको बारेमा बिस्तारै बहस होला तर आखिर मतदाताले मत परिवर्तन त गरेकै मान्नुपर्यो।

–काठमाण्डौमा नयाँ पार्टीबाट २१ वर्षकी नेतृ उपविजेता बन्दा धनगढीले स्वतन्त्रलाई झण्डै जीताएको थियो। जतिबेला स्वतन्त्र शब्द बागीहरुका लागि मात्रै प्रयोग हुन्थ्यो। 

–केपी ओलीलाई हराउन गएका दीपक कुमार पाठकले ३५६ मत पाउँदा कांग्रेसलाई उपविजेता बनायो। यता देउवालाई विश्राम दिन आएका सागर ढकाललाई सिङ्गो सुदूरपश्चिमले मत जोड्न सहयोग गर्यो र उपविजेता बनायो। दीपक कुमार (उर्फ युग पाठक) लाई झापालीहरुले के गरे, त्यो उनीहरू नै जानुन।

– यो निर्वाचनमा सुदूरपश्चिमका अधिकांश पूर्व तथा वर्तमान प्रदेश मन्त्रीहरु र पूर्व पालिका प्रमुख सहित आधा भन्दा बढी निवर्तमान प्रदेश माननीयहरुले पराजयको स्वाद चाखेका छन्। 

के सुदूरपश्चिमले मत परिवर्तन गर्दैन भन्ने भ्रम अझै बाँकी छ? अझै हाम्रो विवेकमाथि हामीलाई नै अविश्वास छ? राजनीतिक चेतना विश्लेषण गर्न यति उदाहरण काफी होइनन? 

यी तथ्यहरु मैले दुई कारणले प्रस्तुत गरेको हुँ।

१) राष्ट्रिय मीडियामा आइरहेका अन्तर्वाताहरु हेर्दा÷सुन्दा लाग्छ, परिवर्तनको बिगुल काठमाण्डौं बाहेक कसैले फुक्न सक्दैन। कसैले भन्दै छन्, सुदूरपश्चिम अशिक्षित छ। कसैले भन्दै छन्, सुदूरपश्चिम विकट छ। कसैको मुखबाट निस्कियो, सुदूरपश्चिमका जनतालाई धेरै कुरा थाहै छैन। घुमाउरो रूपमा सुदूरपश्चिमको विवेकमाथि हेपहापूर्ण प्रश्नचिन्ह उठाईदै छ।

 सुदूरपश्चिम अशिक्षित र विकट हुन सक्छ। यहाँका जनतामा उच्च स्तरको प्रविधि प्रयोग गर्नेहरु भन्दा कम जानकारी होला। तर यहाँका मतदातामा कुनै पनि सहरका सचेत मतदाताभन्दा कम राजनीतिक चेत छ भन्नु हास्यास्पद कुरा हो। बरु जान्ने, सुन्ने र सफा कोट लगाउनेहरुले यहाँको चेतनालाई हलुका विश्लेषण गरेका हुन। अथवा चर्चामा ल्याउन नचाहेका हुन सक्छन्।

डडेल्धुराकै सन्दर्भलाई पनि यसरी व्याख्या गर्न सकिन्छ, सागर ढकालले पाएको मत उनको व्यक्तित्व, उनको नाम वा क्षमताले मात्रै आएको मत होइन। मैले सागर ढकाललाई तल पार्न खोजेको हुँदै होइन। विश्वचर्चित विश्वविदयालयमा पढेको युवाको क्षमता नजरअन्दाज गर्ने मूर्खता म गर्दिनँ। बरु के चाहिँ भन्न खोजेको हो भने जनतामा गुम्सिएका आकांक्षा र परिवर्तनको हुटहुटी चाहने जनताका कारण सागर ढकाल उपविजेतासम्म बनेका हुन। सागर ढकालको मिहेनत र एजेण्डाले पाएको जुन मतभार छ, त्यति नै वा त्यो भन्दा बढी मतभार त्यहाँका मतदाताको विवेकलाई दिनुपर्छ।

२) यी तथ्यहरु यहाँ उल्लेख गर्नुको अर्को पनि एउटा उदेश्य छ। त्यो के हो भने हामी संशयबाट मुक्त बनौं। अब के होला, कसरी होला, गर्न सकिएला की नसकिएला जस्ता प्रश्नहरूमा समय खेर नफालौं। यी तथ्यहरु हेरेर ढुक्कले मानौँ, हाम्रा मतदाताहरु परिवर्तनको पक्षमा छन्। विकल्पको खोजीमा छन्। बरु आफू कसरी सक्षम बन्ने भन्नेतिर समय खर्च गरौं।

जसले अगाडि बढ्ने योजना बनाएको छ, निर्धक्क भएर योजनालाई कार्यान्वयन गर्ने चरणमा प्रवेश गरौ। आफ्नो माटोसँग घुलमिल हुने कोसिस सुरु गरी हालौं। त्यहाँको स्थानीय आवश्यकता र मनोविज्ञान अध्ययनमा जुटी हालौं। आफ्नो क्षेत्रबाट के कुरा मुखरित हुनुपर्ने हो, त्यसमा केन्द्रित होऔं। दबिएका आवाजहरू प्रस्फुटन गर्ने प्रयास गरौं। रत्ती ढिला नगरौं। म ढुक्कसँग दाबी गर्न सक्छु, सुदूरपश्चिमका मतदाताको विवेक र राजनीतिक चेतना कुनै पनि सहरिया मतदाताको चेतनाभन्दा प्रखर छ।

बेथितिको दलदल अहिले भएकाहरूले सोहर्ने होइनन। बरु यो दलदल बढाउने उनीहरूको निरन्तर प्रयास रहनेछ। इतिहासले एउटा सुनौलो घडीमा तपाईं हामीलाई उभ्याएको छ। तपाईं हामीलाई परिवर्तनको संवाहक बन्ने मौका दिएको छ। परिवर्तनको कारक बन्ने मौका दिएको छ। समयचक्र बलवान छ। सधैं एकैनास परिस्थिति रहँदैन। यो ऐतिहासिक आवश्यकता पनि हो। नेपाल देशको परिस्थितिले दिएको एउटा जिम्मेवारी पनि हो। त्यसैले देशको परिस्थितिले दिएको जिम्मेवारी पनि बहन गरौं। इतिहासले सुम्पिएको आवश्यकता पनि पूरा गरौं। निर्णय गरौं, ‘सोचेर बस्ने की गरेर बस्ने!’

कमेन्ट लोड गर्नुस