सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०७९ मंसिर २५, ०५:५९ खबर संवाददाता

काठमाडौं: साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। अल बायत स्टेडियममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो।

फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक एक गोल गरे। इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । तर, केन दोस्रो पटकको पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको यात्रा क्वाटरफाइनलमा टुंगिएको हो। रोमान्चक खेलको १७ औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए।

उनले एन्टोनियो ग्रीजम्यानको पासमा उत्कृष्ट गोल गरे। खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १–१ गोलको बराबरीमा फर्काए। फ्रान्सका चुवामेनीले बुकायो साकालाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो।

यस गोलसँगै केनले वायन रुनीको नाममा रहेको इंग्ल्यान्डका लागि सर्वाधिक ५३ गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन। खेलको ७८ औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए। उनले ग्रीजम्यानकै पासमा गोल गरेका हुन्।

खेलको ८४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो। फ्रान्सका थियो हर्नान्डेजले मासन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि इंग्ल्यान्डले दोस्रो पटक पेनाल्टी पाएको थियो । तर, केनको पेनाल्टी प्रहार बाहिरिएको थियो।

त्यसपछि दुबै टोलीबाट थप गोल निस्किएन र फ्रान्स २–१ ले विजयी भयो। अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ। मोरक्को पोर्चुगललाई हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
 

कमेन्ट लोड गर्नुस