सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत भाग्ने सुरमा थिए हत्या आरोपी कोली, दाहिने हातमा चोट

बैतडी घटना

२०७९ मंसिर १८, ०२:०२ टेकसिंह धामी

धनगढीः बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोली भारत भाग्नै लाग्दा समातिएको खुलेको छ। प्रहरीका अनुसार कोली भारततर्फ भाग्न भनेर कञ्चनपुरको महेन्द्रनगर पुगेका थिए। 

शिवनाथ गाउँपालिका–४ का २२ वर्षीय कोली आइतबार बिहान महेन्द्रनगरस्थित बसपार्कबाट पक्राउ परेका छन्। कोलीलाई समातिएको र अब अड्डासार गरी कोलीलाई बैतडी लैजाने तयारी थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए। यसअघि मृतक मायाका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए। मायाको बुधबार शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। उनकी १५ वर्षीया भदै नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर घाइते अवस्थामा भेटिएकी थिइन्। उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी थिइन्। घाइते नेहाले दिएको बयानका आधारमा आरोपी कोली पक्राउ परेका हुन्।

माया र नेहा मंगलबार घरबाट लुगा सिलाउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए। बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो। खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी थिइन्।

मंगलबार मायाको हत्यापछि कोली बैतडीबाट भाग्दै डडेल्धुरा पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनको मोबाइलको अन्तिम लोकेसन पनि डडेल्धुरा देखिएको थियो। प्रहरीका अनुसार त्यसपछि कोली अत्तरिया पुगेका थिए। आज बिहानै उनी गाडी चढेर महेन्द्रनगर आएका थिए।

‘कोली भारततर्फ भाग्ने सुरमा महेन्द्रनगर पुगेको खुलेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘भाग्नका लागि तयारी गरिरहेका कोलीलाई बसपार्कमा डिउटीमा रहेको प्रहरी टोलीले पक्राउ गरेको हो।’ यस्तै आरोपित कोलीको दाहिने हातको औँलामा चोटको आलो खत पनि देखिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी श्याम चौधरीले बताए। अब कोलीलाई बैतडी प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए।

मृतक माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत भएकी थिइन्।

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस