सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा गर्भवती तथा सुत्केरी बचाउँदै डा. जस्मिता

२८ जना गर्भवतीको सफल अप्रेसन

२०७९ मंसिर १४, ११:१८ खबर संवाददाता

धनगढी: जिल्ला अस्पताल बाजुरामा कार्यरत महिला चिकित्सक डा.जस्मिता बलमपाकी जिल्लाका गर्भवती महिला र आमाको ज्यान बचाइरहेकी छिन्। जिल्ला अस्पताल बाजुरामा जस्मिताले गत वैशाखदेखि आकस्मिक प्रसुती सेवा दिइरहेकी छिन्।

जस्मिताले बाजुरा अस्पतालमा २८ जना गर्भवतीको सफल अप्रेसन गरेकी छिन्। उनले गरेका अप्रेसन सबै सफल भएको र नवजात शिशु पनि सकुशल जन्मेका अस्पतालले जनाएको छ। डा. जस्मितालाई स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटले  जिल्ला अस्पताल बाजुरामा पठाएको हो।

बाजुरा अस्पतालमा पुरुष चिकित्सकमार्फत गर्भवती महिलाको अप्रेसन गर्ने गरिएको थियो। डा. जस्मिता आइसकेपछि अस्पतालमा महिला चिकित्सकबाट अप्रेसन हुँदा निकै सहज भएको गर्भवती महिला बताउँछन्। पुरुष चिकित्सक हुँदा महिलाहरु खुलेर बोल्न सक्दैनन्, महिला चिकित्सकसँग खुलेर समस्या राख्ने गरेको अस्पतालमा कार्यरत स्टाफ नर्स विमला ओलीले बताइन्। 

आकस्मिक प्रसुती सेवा मात्र नभई अस्पतालमा महिला चिकित्सकको सेवा प्रभावकारी बन्दै गएको छ। वषैँदेखि रोग पालिरहेका महिलाले अहिले खुलेर उपचार गर्न आउने गरेको अस्पतालले जनाएको छ। डा. जस्मिताले अस्पतालमा मानसिक समस्यामा परेकालाई पनि परामर्श सेवा दिदै आइरहेकी छिन्।

उनले जिल्ला अस्पताल बाजुराभन्दा पहिला जिल्लाको जगन्नाथ र गौमुल गाउँपालिकामा समेत सेवा दिइसकेको बताइन्। उनी दुई वर्षदेखि दुर्गमका बिरामीको सेवामा व्यस्त छिन्। दुर्गममा चिकित्सक नबस्ने समचार आइरहँदा बलमपाकी भने बाजुराको दुर्गम ठाउँमा सेवा दिइरहेकी छिन्।

जस्मिता भन्छिन्, म पैसाभन्दा सेवा गर्नुपर्छ भन्ने भावनाले दुर्गममा सेवा दिन आएकी हुँ। पहिला किताबमा दुर्गमका समस्या र कथा व्यथाका बारेमा पढ्ने गरेकी थिए, त्यही भएर पनि यहाँ सेवा गर्न पुगे। उनले आफ्नो एउटै लक्ष्य दुर्गममा आर्थिक अभावका कारण सेवा नपाएका बिरामीको उपचारका लागि पुग्नु रहेको र त्यही अनुसार पहिलो रोजाई बाजुरा बनेको बताइन्।

उपचारसँगै बिरामीलाई परामर्श दिँदा सेवा नै प्रभावकारी हुुने हुुँदा अहिलेसम्म आउने बिरामी सबै सन्तुष्ट भएर जाने गरेको जस्मिताको दाबी छ। धेरै बिरामी सञ्चो भएर खुसी भएर जान्छन्, त्यही नै मेरो कमाइ र सम्पत्ति हो, उनी भन्छिन्। 
जस्मिताले जिल्ला अस्पताल बाजुरामा आकस्मिक प्रसुति सेवा मात्र नभई दैनिक २५ भन्दा बढी बिरामीको उपचार गर्ने गरेकी छिन्।

धेरैजसो पेट दुखेको बिरामी, महिलाको पाठेघर सम्बन्धी समस्या, चिलाउने, प्रजनन स्वास्थ्य सम्बन्धी समस्या ल्याएर आउने गरेको उनले बताइन्। महिलाहरु सुरुमा रोग लुकाउने गरेका र बिस्तारै परामर्श दिँदै जाँदा समस्याका बारेमा खुल्ने गरेका छन्।

कमेन्ट लोड गर्नुस