सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकपमा आज चार खेल हुँदै 

२०७९ मंसिर १४, ०९:०४ खबर संवाददाता

काठमाडौँ: फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन्। जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुईरदुई वटा खेल हुनेछन्। आजको पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ।

यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछन्। यो खेलबाट समूह ‘डी’ मा अन्तिम १६ मा पुग्ने एउटा देशको टुङ्गो लाग्नेछ। फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ। आज राति हुने दोस्रो दुई वटा खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुनेछ। यी खेल नेपाली समयअनुसार राति पौने १ बजेबाट सुरु हुनेछन्।

यो खेलबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने दुई वटा देशको टुङ्गो लाग्नेछ। समूह चरणको पहिलो खेलमा साउदी अरबसँग पराजित अर्जेन्टिनाले मेक्सिकोलाई हराएको थियो। आजको खेल अर्जेन्टिलाई जित्नुपर्ने दबाब छ भने पोल्यान्डले बराबरी खेले पनि पुग्नेछ।

समूह ‘सी’ मा पोल्यान्ड ४ अंकका साथ शीर्ष र अर्जेन्टिना तथा साउदी अरब समान ३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छ। त्यस्तै मेक्सिकोको १ अंक छ। फिफा विश्वकप फुटबलमा गएराती भएका खेलबाट समूह ‘ए’ र ‘बी’ बाट इंग्ल्यान्ड, अमेरिका, सेनेगल र नेदरल्यान्डस् अन्तिम–१६ मा पुगेका छन् । त्यस्तै ब्राजिल र पोर्चुगल पनि यसअघि नै अन्तिम १६ मा पुगेका छन्।

कमेन्ट लोड गर्नुस