सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नागरिक उन्मुक्ति ठुलो दल, एमाले जितविहीन

२०७९ मंसिर १०, १०:३४

धनगढीः सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्ला कैलाली हो। कैलालीमा प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका १० निर्वाचन क्षेत्र छन्। आइतबार भएको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।

जिल्लामा नौ महिना पहिला स्थापना भएको नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ। जिल्लामा नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टीलाई पछाडि पार्दै ठुलो दल बनेको हो। कैलालीमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रतिनिधि सभा सदस्यका तीन र प्रदेश सभा सदस्यका पाँच निर्वाचन क्षेत्रमा विजयी भएका छन्। टीकापुर विद्रोहको जगमा २०७८ फागुन ३ गते नागरिक उन्मुक्तिको स्थापना भएको हो।

स्थापनाको छोटो अवधिमै एक्लै चुनावी मैदानमा उत्रेको पार्टी कैलालीमा ठूलो शक्ति बनेर उदाएको छ। प्रतिनिधि सभाका पाँच निर्वाचन क्षेत्र रहेकोमा १ देखि ३ सम्म नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन्। जिल्लामा प्रदेश सभाका पनि पाँच निर्वाचन क्षेत्रमा ढकिया अङ्कित झन्डा फहराएको छ। ढकिया नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न हो।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट ३० हजार ४०४ मतसहित विजयी भइन्। उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् टीकापुर घटनाका बन्दी रेशम चौधरीको श्रीमती हुन्। 

२०७४ को निर्वाचनमा फरार अवस्थाबाटै रेशमले कैलाली–१ मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। कारोगारमा रहेका रेशमको विरासतलाई जोगाउन पत्नी रन्जिता सफल भएकी छिन्। जिल्लाको क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुन चौधरी निर्वाचित भएका छन्। उनले २१ हजार ८७१ मत प्राप्त पाएका छन्।

क्षेत्र नम्बर ३ मा २३ हजार १२० मत प्राप्त गरी गंगाराम चौधरी विजयी भएका छन्। जिल्लाको क्षेत्र नम्बर १ र २ मा उक्त पार्टीले क्लिन स्विप गरेको छ।  प्रदेश सभा सदस्यमा १ को (१) मा कैलाश चौधरी, (२) मा लक्ष्मणकिशोर चौधरी, २ को (२) मा रामेश्वर चौधरी र ३ को (१) मा घनश्याम चौधरी, (२) मा खुशीराम डंगौरा थारु निर्वाचित भएका छन्।

पाँच निर्वाचन क्षेत्र रहेको जिल्ला कैलालीका ४ र ५ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर ४ मा काँग्रेस सुदूरपश्चिम सभापति समेत रहेका पूर्वमन्त्री वीरबहादुर बलायर र ५ मा पूर्व प्रदेश सभा सदस्य डिल्लीराज पन्त विजयी भएका हुन्। काँग्रेसले जिल्लामा प्रदेश सभाका तीन क्षेत्र जितेको छ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी) केन्द्रले प्रदेश सभा सदस्यतर्फ एक/एक क्षेत्र जितेका छन्। एसपाटीका उम्मेदवार सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले जिल्लाको निर्वाचन क्षेत्र ४ ९१० जितेका हुन। माओवादी केन्द्रका उम्मेदवार रमेश धामीले कैलालीको ५९१० निर्वाचन क्षेत्रमा जितेका छन्। नेकपा ९एमाले० भने कैलालीमा जितविहीन बनेको छ। 

‘टीकापुर थारु विद्रोह’ ले नागरिक उन्मुक्ति पार्टीको जन्म भएकोे घोषणापत्रमा उल्लेख गरेको छ। सो पार्टीले जन्मिदै मुद्दा लिएर जन्मेको उल्लेख गर्दै घोषणापत्रमा भनेको छ,‘पहिचानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने संगठन आज आएर पार्टीमा रुपान्तरण भएको हो।’ 

२०७२ मा घटेको टीकापुर घटनाको बारेमा छानविन आयोग र समितिले गरेको छानविनको प्रतिवेदन सार्वजनिक गराउनु नागरिक उन्मुक्ति पार्टीको उद्देश्य रहेको घोषणापत्रमा भनिएको छ। टीकापुर विद्रोहलाई राजनीतिकरण गरी झूठा मुद्दा लागेका सहकर्मी छुटाउन र समग्र देशको विकासमा हातेमालो गर्नका लागि यो पार्टीको जन्म भएको घोषणापत्रमा भनिएको छ। 

यो पार्टी टीकापुर थारु विद्रोहलाई राजनीतिकरण गर्ने र टीकापुर घटनाका बन्दी रिहाइसहित विकासलाई चुनावी एजेण्डा बनाएर निर्वाचनमा होमिएको थियो। सो पार्टीको एजेण्डालाई जनताले अत्यधिक मतका साथ अनुमोदन गरेका हुन्। नागरिक उन्मुक्ति पार्टी कैलालीमा शक्तिका रुपमा पनि स्थापित भएको छ।

नागरिक उन्मुक्ति पार्टी स्थापनाको छोटो समयमै स्थानीय तहको निर्वाचन पनि एक्लै लडेको थियो। गत वैशाखमा सम्पन्न सो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी भजनी, टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका गरी चार स्थानीय तहमा जित हासिल गरेर जिल्लामा पहिलो पार्टी बनेको छ।

कमेन्ट लोड गर्नुस