सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पूर्व सांसददेखि बहालवाला मन्त्रीसमेत पराजित 

आम निर्वाचन

२०७९ मंसिर ८, ०६:२६ नारायण अवस्थी

धनगढीः संसदीय निर्वाचनमा सुदूरपश्चिमका बहालवाला मन्त्री र निवर्तमान सांसदसमेतले पराजय व्यहोरेका छन्। प्रदेशभर बाजुरा जिल्लाबाहेक मत गणनाबाट प्राप्त विवरणअनुसार पूर्व सांसद र पालिका प्रमुखलाई पनि मतदाताले पत्याएका छैनन्। 

२०७९ को चुनावमा संघीय र प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका र २०७४ मा निर्वाचित भएका नेताहरू पराजित बनेका छन्। आम निर्वाचनमा सुदूरपश्चिम प्रदेशका बहालबाला मन्त्रीसमेत पराजित भएका छन्। प्रदेशका भरको मत परिणाम सार्वजनिक हुँदै गर्दा संघीय सरकारका पूर्व मन्त्रीदेखि पूर्व सांसद र पूर्व पालिका प्रमुख पनि पराजित हुन पुगेका हुन्।

प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डाक्टर रणबहादुर रावल कैलाली निर्वाचन क्षेत्र नम्बर १ को (२) मा पराजित भएका छन्। मन्त्री रावललाई नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले पराजित गरेका हुन्। यस्तै प्रदेश सरकारमा सामाजिक विकास मन्त्री रहेका काँग्रेस नेता गोविन्दराज बोहरा डडेल्धुराको प्रदेश (२) मा पराजित भएका छन्। 

गठबन्धनका साँझा उम्मेदवार बोहरालाई स्वतन्त्र उम्मेदवार डाक्टर ताराप्रसाद जोशीले पराजित गरेका हुन्। यस्तै, प्रदेश सरकारका पूर्व मन्त्री लालबहादुर खड्का कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को (२) मा उम्मेदवार थिए। खड्का पनि यो पटक नेपाली काँग्रेसका बहादुरसिंह थापासँग पराजित भएका छन्। 

यस्तै, प्रदेशका पूर्व राज्य मन्त्री अमर साउँद पनि पराजित भएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को (२) मा उम्मेदवार रहेका साउँदलाई नागरिक उन्मुक्ति पार्टीका खुशीराम डगौरा थारूले पराजित गरेका हुन्।

पूर्व मन्त्री पठानसिंह बोहरा र झपट बोहरा पनि पराजयको भागेदार भए। डडेल्धुरा प्रदेश (१) मा उम्मेदवार रहेका पठानसिंह बोहरालाई नेकपा माओवादी केन्द्रका खगराज भट्टले पराजित गरे। यस्तै झपट बोहरा अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा समाजवादीका शेरबहादुर कुँवरसँग पराजित भएका हुन्।

यो पटक २०७४ मा स्थानीय तहमा पालिका प्रमुख भएर काम गरेका उम्मेदवारलाई पनि जनताले अनुमोदन गरेनन्। २०७४ मा बैतडीको सुर्नया गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका काँग्रेस नेता वीरबहादुर विष्ट बैतडी प्रदेश (१) मा गठबन्धनका साँझा उम्मेदवार थिए। विष्टलाई नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर पालले पराजित गरेका छन्। 

कैलालीमा पनि पूर्व पालिका प्रमुख पराजित भएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को (१) मा नेकपा एमालेबाट उम्मेदवार रहेका गौरीगङ्गा नगरपालिकाका पूर्व नगर प्रमुख भीमबहादुर देउवा र प्रदेश (२) मा उम्मेदवार रहेका गोदावरी नगरपालिकाका पूर्व नगर प्रमुख हरिसिंह साउँद पनि पराजित भएका छन्।

देउवालाई बहालवाला प्रदेश मन्त्री दीर्घबहादुर सोडारी र साउँदलाई काँग्रेस नेता प्रकाबशहादुर बमले पराजित गरेका हुन्। कञ्चनपुरको भीमदत्त नगरपामलिकाका पूर्व नगर प्रमुख सुरेन्द्र विष्टले प्रदेश सभा सदस्यमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को (२) बाट उम्मेदवारी दिएकोमा उनलाई गठबन्धनका उम्मेदवार काँग्रेस नेता बेलबहादुर राना मगरले पराजित गरेका छन्।

यस्तै, संघीय प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका पूर्व मन्त्री र सांसदहरूले पनि यो पटक चुनाव हारेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रदेश इन्चार्ज लेखराज भट्ट पराजित भएका छन्। भट्टलाई पूर्व मन्त्री वीरबहादुर बलायरले पराजित गरेका हुन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व मन्त्री रामजनम चौधरी र ३ नम्बर क्षेत्रमा उम्मेदवार रहेका पूर्व मन्त्री गौरीशंकर चौधरी पनि पराजित भएका छन्। चौधरी द्वयलाई नागरिक उन्मुक्तिका उम्मेदवारहरूले झट्का लगाएका हुन्। दार्चुलाबाट पूर्व मन्त्री गणेशसिंह ठगुन्नाले पनि चुनाव जित्न सकेनन्।

बैतडीमा पूर्व प्रदेश सभा सदस्य लिलाधर भट्ट पराजित भएका छन् भने कैलाली १ (१) मा उम्मेदवार रहेका पूर्व प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरीको पनि पराजय भएको छ। यो समाचार तयार गर्दासम्म पूर्व सांसद नरबहादुर धामी कञ्चनपुर २ बाट चुनाव हार्न पुगेका छन्। पूर्व सांसद निरुदेवी पाल पनि चुनाव जित्न असफल भएकी छन्।

२०७४ मा जित निकालेका जनप्रतिनिधिमध्ये धेरैजसोलाई यो पटक मतदाताले फेरि मत दिएर प्रदेश र प्रतिनिधि सभामा पठाउन अस्वीकार गरेका छन्। पूर्व पालिका प्रमुखले भने यो पटको चुनावमा दोस्रो र तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो। 
    
    

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस