चुनाव जित्नेलाई गाउँघरका समस्या बुझ्न फेरि आउन मतदाताको आग्रह
धनगढी :आइतबार भएको प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावमा कैलाली-५ मा मतदाताले उत्साहित भएर भोट हालेको प्रतिक्रिया दिएका छन्। मतदाताहरुले भोट हाल्ने आफ्नो कर्तव्य पूरा गर्न पाउदा खुसी व्यक्त गरेका हुन्।
उनीहरूले चुनाव जित्ने उम्मेदवारलाई गाउँघरका समस्या बुझ्न फेरि पनि आउन आग्रह गरेका छन्। मतदाताहरूले उम्मेदवारले दिएका आश्वासन पूरा हुने भन्दै मतदान गरेको बताएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को बेलीकी मिना चौधरीले नेताले सडक बनाउने, पानीको निकास निकाल्ने, कटान र डुबानको समस्या हल हुने ठानेर मत दिएको बताएकी छन्। 'नेताले सडक बनाउलान्, डुबानको समस्या छ, त्यो समाधान होला भनेर मैले भोट दिए,' उनले भनिन्, 'स्कुलमा राम्रो पढाइ होला अनि खेतीको समयमा मल पाइएला भनेर मत दिन आएका छौँ।'
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा विभिन्न निर्वाचन केन्द्रमा भेटिएका मतदाताले उत्साहित भएर मत हालेको सुनाएका हुन्। मतदाताले मन परेको उम्मेदवारलाई भोट हालेर नागरिकको कर्तव्य निर्वाह गरेका छन्। उनीहरुले चुनाव जित्ने उम्मेदवारले पनि जनप्रतिनिधिको कर्तव्य र दायित्व बिर्सन नहुने बताएका छन्। धनगढी-१२ को दुर्गा आधारभूत विद्यालयको मतदान केन्द्रमा भेटिएकी विन्दु मल्लले चुनाव जितेपछि नेता गुमनाम नहोउन भन्ने कामना गरेकी छन्।
'हामीले भोट हालेर आफ्नो कर्तव्य पूरा गरेका छौँ,' उनले भनिन्, 'चुनाव जितेर जनताको काम गर्नु पर्यो। सबै क्षेत्रमा राम्रो विकास गर्नुपर्यो। भोट माग्न दैलोमा आए झै जितेर पनि आउनु पर्यो।'
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा वृद्धवृद्धादेखि पहिलो पटक भोट हाल्ने उमेर पुगेका मतदाताले खुसी साथ मतदान गरेका हुन्। यो पटक चुनाव जितेका उम्मेदवारले विकास निर्माणका काम गर्ने विश्वास गरेका छन्। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि जनप्रतिनिधिले आगामी पाँच वर्षमा काम गर्नुपर्ने मतदाताको माग छ। पहिलो पटक मतदान गरेका तिरेश जोशीले चुनाव जित्नेले जनताको काम गरुन् भन्ने आग्रह गरेका छन्।
'मैलै यो वर्ष पहिलो पटक भोट हाल्ने मौका पाएँ अनि निकै खुसी पनि भएको छु,' उनले भने, 'चुनाव जित्ने नेताले जनताको सेवक भएर काम गर्ने छन् भन्ने विश्वास गरेको छु।'
मतदाताले उम्मेदवारका कुरा पत्याएर मत दिएको बताएका छन्। सुविधा सम्पन्न सडक, डुबान समस्याको हल, कृषि मलको सहज उपलब्धता, शिक्षा र स्वाथ्यमा राज्यको लगानी बढाउन विजयी उम्मेदवारले काम गर्नुपर्ने मतदाताको अपेक्षा रहेको छ। चुनाव जितेर जनताका लागि सुविधा दिने कुरामा नेताको ध्यान जानुपर्ने जुगेडाका तिलमाया खरेलले बताए। 'बाटो-घाटो, सडक सुविधा विस्तार हुनु पर्यो,' उनले भनिन्, 'भोट माग्न आए जस्तै चुनाव जितेपछि समस्या बुझ्न गाउँमा आइदिउन यो नै मेरो आग्रह छ।'
प्रदेशको अस्थायी राजधानी रहेको निर्वाचन क्षेत्र नम्बर ५ मा १० जना उम्मेदवार छन्। यो क्षेत्रमा पूर्व मन्त्री नारदमुनि राना नेकपा एमालेबाट उम्मेदवार छन् भने पूर्व राज्य मन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार छन्। यस्तै, निवर्तमान प्रदेश सभा सदस्य डिल्लीराज पन्त गठबन्धनका उम्मेदवार हुन्।
क्षेत्र नम्बर ५ मा अन्य उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इश्वरी विष्ट, नेपाल मजदुर किसान पार्टीका नन्दाकुमारी दर्लामी मगर, लोकतान्त्रिक समाजवादीका दानबहादुर विश्वकर्मा उम्मेदवार छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा गगनबहादर धामी, जगदीश चौधरी, रामबहादुर सिंह र सत्यराज उपाध्याय पनि स्वतन्त्र उम्मेदवार छन्।