सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-कञ्चनपुरमा झण्डै एक हजार योजना छानिए, बजेट पाएनन् 

फाइल फोटो/हुलाकी सडक
फाइल फोटो/हुलाकी सडक
२०७९ मंसिर १, १०:३२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत गठित पूर्वाधार विकास कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्षका लागि साढे तीन सय पूर्वाधारका योजना छनोट गरिएको छ। तर अहिलेसम्म कुनैपनि योजनाको ठेक्का सम्झौता गरिएको छैन। बहुवर्षीय योजना अन्तर्गत गत वर्ष छनोट भएर निर्माण सम्झौता गरिएका २ सय योजनाको प्रभावकारी रुपमा प्रगति देखिएको छैन। 

छनोट गरिएका योजनामा आवश्यक बजेट विनियोजन नहुँदा कार्यान्वयनमा समस्या देखिदैँ आएको छ। गत वर्ष छनोट भएका केही र चालु आर्थिक वर्षका लागि छनोट भएका सडक पूर्वाधार विकासका कुनैपनि योजनाको बोलपत्र नभएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख धीरेन्द्र भट्टले बताए।

उनले भने, ‘साना ठुला गरी सयौँ सडक पूर्वाधारका योजना छनोट गरिएको छ। तर गत वर्ष केही योजना बहुवर्षीय ठेक्का लगाइएको छ भने यस वर्षका लागि ठेक्का प्रक्रियामा लैजाने तयारी भइरहेको छ।’

यता कैलाली पूर्वाधार विकास कार्यालय अन्तर्गत पनि ४ सय २० वटा पूर्वाधार विकासका योजना छनोट गरिएको छ। हरेक वर्ष योजना थप हुँदै जाने तर आवश्यक बजेट विनियोजन नहुँदा कार्यान्वयन गर्न समस्या भइरहेको छ। २०÷२५ करोड आवश्यक पर्ने एउटा योजनाका लागि साढे ४ करोडको हारहारीमा मात्र बजेट विनियोजन हुँदा कार्यान्वयन गर्न समस्या हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षका लागि करिब ९० करोड मात्र बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय कैलालीका निमिक्त कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए। उनले भने, ‘निर्वाचन आचासंहिताका कारण अहिलेसम्म नयाँ कुनैपनि योजनाको ठेक्का भएको छैन्। स–साना योजना धेरै भएकाले कतिपय अवस्थामा कार्यान्वयन गर्न समेत समस्या हुने गरेको छ।’

कैलाली र कञ्चनपुरमा पूर्वाधार विकासका ९ सय ७० योजना छनोट गरिएको छ। ती योजना कार्यान्वयन गर्न अर्वौ बजेट आवश्यक पर्ने देखिएपनि चालु आर्थिक वर्षका लागि एक अर्व ८० करोड मात्र बजेट विनियोजन गरिएको छ। १० लाखदेखि ४ करोडसम्म मात्र योजना कार्यान्वयनका लागि बजेट विनियोजन हुँदा पूर्वाधार विकास कार्यालय अन्तर्गतका योजनाको प्रभावकारी प्रगति हुन सकेको छैन।

हरेक वर्ष पूर्वाधारका योजना थप हुँदै गएपनि त्यसका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्माणले अपेक्षित गति लिन सकेको छैन। 

कमेन्ट लोड गर्नुस