सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुनावी मैदानबाट व्याक भएको डडेल्धुरामा एमालेको रणनीति के ?

२०७९ कार्तिक २५, ११:३० रोशन भट्ट

धनगढीः आम निर्वाचको मिति नजिकिएसँगै डडेल्धुरा निकै चर्चामा छ। सत्तागठबन्धनको नेतृत्व गरि रहेको नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, देउवाका पूर्व सहयोगी कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल चुनावी मैदानमा छन्। यी कारणले पनि अहिले डडेल्धुरा चर्चामा छ। यो अवस्थामा एमालेले डडेल्धुरामा के गर्छ भन्ने चासो धेरैको छ।

जिल्लाको विमति हुँदा पनि एमालेको केन्द्रले विपी काँग्रेसका उम्मेदवार कर्णबहादुर मल्ललाई समर्थन गर्ने निर्देशन गरेको थियो। पार्टी केन्द्रको निर्देशन एमालेका जिल्लाका नेता–कार्यकर्ताले पालना गर्ने वा नगर्ने भन्ने बिषयमा सबैको चासो छ। पार्टी केन्द्रको निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममै आएर फेरि निर्देशन दिएका थिए।

महेन्द्रनगरको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भनेका थिए–‘डडेल्धुरामा हाम्रो समर्थन कर्ण मल्ल समूहलाई हो। उनीहरुले पनि हामीलाई प्रदेशमा सहयोग गर्ने विश्वस छ। कार्ण मल्ललाई सहयोग गर्न म निर्देश गर्न चाहान्छु।’

डडेल्धुरा एमालेले पार्टी केन्द्रको निर्णय नमान्ने भनेर विज्ञप्ती नै जारी गरेको थियो। तर, अहिले भने उक्त निर्णयबाट पार्टीको जिल्ला नेतृत्व पछि हटेको छ। जिल्लामा प्रतिनिधि सभाका लागि उम्मेदवार नउठाएको एमालेले काँग्रेस विपीका उम्मेदवार मल्ललाई सहयोग गर्ने दाबी गरेको हो। प्रदेश सभा सदस्यका लागि विपीबाट सहयोग माग्ने र प्रतिनिधि सभा सदस्यमा सहयोग गर्ने एमालेको चुनावी रणनीति छ। 

तर, एमालेबाटै टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका विक्रम शाही भने चुनावी मैदान मै छन्। एमालेकै समर्थक रहेका शाही घरदैलो अभियानमा व्यस्त छन्। ‘म जनता माझ नै छु। शेरबहादुर कार्ण मल्लमा केही फरक छैन। मलाई जनताले विश्वस गर्नेमा ढुक्क छु,’ उनले भने।

प्रतिनिधि सभा सदस्यको एक क्षेत्र मात्र रहेको डडेल्धुराका लागि प्रधानमन्त्री देउवा, विपी काँग्रेसका मल्ल, स्वतन्त्र रुपमा शाही र ढकाल चुनावी मैदानमा छन्। प्रधानमन्त्री देउवा भने सोही क्षेत्रबाट २०४८ सालदेखि अपराजित छन्। यस पटक उनको विकल्प खोज्नु पर्ने भन्दै स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्। तर, डडेल्धुरामा देउवालाई पराजित गर्न सहज नभएको तर्क गरिएको छ। डडेल्धुराका सबै उम्मेदवारले आफु चुनाव जित्ने दाबी गरिरहेका छन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस