सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले आउँदो डिसेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा सोमबार पत्रकार सम्मेलन गरी सो सम्मेलनको तयारीबारे जानकारी गराइएको हो।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.अम्मराज जोशीले सुदूरपश्चिम प्रदेशबारे ज्ञान निर्माणका लागि आउँदो डिसेम्बर १२ देखि १४ तारिख अर्थात् मङ्सिर २६ देखि २८ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी भइरहेको बताए। सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी क्षेत्र रहेको र यस क्षेत्रका सम्भाव्यताहरूको बारेमा अध्ययन अनुसन्धान गरी प्रवर्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको उनको भनाइ छ।
विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएका कारण त्यसलाई विस्तार गर्ने थलोका रूपमा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँग समन्वय गरी सम्मेलन हुन लागेको हो। सुदूरपश्चिम विश्वविद्यालयको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन गइरहेकोले यसले विभिन्न विधाको विकासलाई अध्ययन, अनुसन्धान गर्न मद्दत गर्ने विश्वास लिइएको छ।