कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा निर्वाचन आचारसंहिताविपरीत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको नापजाँच तत्काल रोक्न निर्देशन दिइएको छ। निर्वाचन आयोगले नगरपालिकालाई नापजाँच रोक्न निर्देशन दिएको हो।
राष्ट्रिय भूमि आयोगमार्फत जग्गा नापजाँच भइरहेकोमा आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै तत्काल उक्त कार्य रोक्न निर्देशन दिएको छ। जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि भनेको छ।
आयोगबाट यसपूर्व नै प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्मका लागि यस्ता कार्य नगर्न भनेको थियो। तर कृष्णपुरमा आयोगलाई अटेरी गरी जग्गा नापजाँच भइरहेको थियो। आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गर्न आयोगले काठमाडौंस्थित भूमि आयोगलाई पत्राचार गरिसकेको छ।
कृष्णपुर नगरपालिकालाई लेखिएको पत्रमा भनिएको छ, ‘त्यस नगरपालिकाले आफू र आफ्नो मातहतबाट भइरहेका जग्गा नापजाँच लगायतका कार्यहरु तत्काल स्थगित गरी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म उक्त कार्यहरु नगर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्देशन दिइएको व्यहोरा निर्णयानुसार अनुरोध छ।’