कञ्चनपुरमा भारतीय सीमा नाकाबाट दुई युवतीको उद्धार
कञ्चनपुर: कञ्चनपुरमा भारतीय सीमा नाकाबाट दुई युवतीको उद्धार गरिएको छ। जिल्लाको बेलौरी नगरपालिकास्थित भारतीय सीमा नाकाबाट वेदकोट नगरपालिका-५ धरमपुरकी १७ र २० वर्षीया युवतीको उद्धार गरिएको हो।
शनिबार दिउँसो बेलौरी-खजुरीया सीमा नाका भएर भारत जान लागेको अवस्थामा उनीहरुको उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीकी परामर्शदाता नितु विष्टले बताइन्।
भारत जान लागेका एकै घरका दिदीबहिनीहरूलाई शङ्का लागी सोधपुछ गर्दा लेखपढ गर्न नजान्ने, घरपरिवार कसैको पनि सम्पर्क नम्बर थाहा नभएको, कहाँ जान लागेको भन्ने पनि जानकारी नभएको र अपरिचित व्यक्तिले रोजगारीका लागि प्रेरित गरेकोले भारत जान लागेको खुलेपछि बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उनीहरूको उद्धार गरिएको बताइएको छ।
शान्ति पुनर्स्थापना गृहसँगै सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल र स्थानीय जनप्रतिनिधिले उनहिरुको उद्धारमा मद्दत पुर्याएको थियो। उद्धारपछि दुवैलाई बेलौरीमा रहेको अल्पकालीन सुरक्षित आवास गृहमा राखिएको र आइतबार परिवारको जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीले जनाएको छ।