सुदूर नेपाललाई विश्वसँग जोड्दै

दियोबत्ती हराएको तिहार 

२०७९ कार्तिक ५, ०२:४९ महेश वडू

आजभोलि बजारहरुमा बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ। धेरै समयपनि भएको छैन, हाम्रो समाज माटाको दियोबाट भिलीमिलीमा पुगेको। म अहिले १८ वर्षको भए। धनगढी झरेको पनि ५–६ वर्ष हुन लागेछ। 

धनगढी झरेको अघिल्लो वर्ष मात्रै मैले आफ्नै हातले घरको मूलढोका, सहायक ढोका, आँगनको डिल र तुलसीको मठमा दियो बालेको याद नै छ। गाउँमा हुँदासम्म भनौं या अझै पनि तिहार आउने बेला झिलीमिली भन्दापनि साझपख नुहाई–धुवाई गरेर दियो बाल्न हौसिएको नै याद आउँछ। तर धनगढीमा तिहार नआउँदै भएको रमझमले भने तिहार आएको आभास मलाई भने हुन सकेको छैन।

घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मोठ र गोठ जतातलै माटाको दियोमा बत्ती बाल्ने चलन थियो। आजकल हेर्ने हो भने घरको टुप्पादेखि छेपारोजस्तै रंग फेर्ने बत्ती बालेर तिहार मनाउने चलन आयो। धनगढीकै एक जेष्ठ नागरिक (बाजे) सँग कुरा गर्दा यसबाट मनोरञ्जन त प्राप्त हुन्छ। हेर्दा सुन्दर नै देखिएपनि विधान र तिहारको मौलिकता भने यसले मासेको थाहा पाए। 

माटाको दियो, अमिलाको पात र मैनबत्ती हुँदै अहिले बिजुलीको झिलीमिली बत्तीमा मनाइने तिहारको मौलिकता कुनै चिजमा पनि बाँकी नरहेको बूढापाकाको समेत भनाई छ। पहिलापहिला दियो माटोको हुन्थ्यो। अचेल बालिने कृत्रिम बत्तीका कारण मानिसलाई मनोरञ्जन त हुन्छ। तर मौलिकता रहँदैन। 

दियोपछि एकैपटक बिजुली बत्तीमा पुगिएको पनि होइन। यी दुईको बीचमा आए रंगिविरङ्गगी मैनबत्ती। अचेल माटोको दियो त केवल पूजाकोठामा सीमित भएको छ। त्यो पनि मैले देखेको धेरैको घरमा त बिजुलीबाटै बल्ने दियो राखिएको हुन्छ। कारण के रहेछ कुन्नी ? घ्यु–तेल किन्न पैसा हुदैन कि ? 

की बाल्न अल्छी लागेर हो ? कारण भने मैले अझैपनि थाहा पाउन सकेको छैन। आधुनिकतासँगै तिहार पर्वमा पनि अनेक खालका विकृति देखिन थालेको संस्कृतिविद्ले पनि नभनेका भने होइनन्।  तर पनि आधुनिकतातर्फ लम्कदै गरेको मेरो देशका नागरिकलाई मौलिकताको के चिन्ता ? प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने विविध कारणले हराउँदै गएको छ। 

युवापुस्ता आयातीत संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएको संस्कृतिविद्बाट सुन्छु। तिहार भनेपनि देउसी र भैलोको कुरालाई पनि जोडिहालौ। तिहारको आकर्षणमध्येको एक मानिएको देउसीभैलो आजकल आशिष दिने, मनोरञ्जन लिने र साथीभाइसँग रमाउने माध्यम नभई पैसा असुल्ने माध्यम बन्दै गएको छ।
 
तिहारका गीतमा नाच्दै खेलिने देउसीभैलोलाई पैसा असुल्ने माध्यम बनिरहेको तपाई हामीले नदेखेको पनि होइन्। परम्पराका अनुसार त मादल बोकेका हुनुपर्ने होइन र भन्या ?  ठूलाठूला साउन्डबक्समा गीत घन्काउँदै हल्ला गर्दै देउसीभैलोको नाममा असोभनिय गतिविधिहरु बढेको अचेलको तिहारमा देख्न सकिन्छ। यस्तै हो भने केही वर्षपछि तिहार र भैलीको मोलिकता हराउने निश्चित छ।
 

महेश वडू दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस