कैलाली–४ः पुरानै एजेन्डा बोकेर मतदाता रिझाउँदै पूर्वमन्त्री भट्ट
बलायससँग पनि छैनन् नयाँ योजना
वीरेन्द्र भट्ट, धनगढीः कैलालीको निर्वाचन क्षेत्र नम्बर-४ बाट २०७४ सालमा उम्मेदवारी दिएका लेखराज भट्टले अत्तरियालाई प्रादेशिक आर्थिक राजधानी बनाउने विषय जोडतोडका साथ उठाएका थिए। खुटिया–दीपायल द्रुतमार्ग निर्माणको काम यथाशीघ्र सम्पन्न गरिनेदेखि मालाखेती–गोदावरी–गौरीगंगालाई कञ्चनपुरको कृष्णपुरसँग जोडेर रिङरोड बनाइनेसम्मका विषय भट्टको घोषणा पत्रमा उल्लेख थिए।
चुनावी घोषणापत्र अनुसार कुनै काम भएन्। त्यति मात्र नभएर नेता भट्टले धनगढी र गोदावरीलाई जोडेर महानगरपालिका बनाइने प्रतिबद्धता समेत गरेका थिए। सुरुङ निर्माण गरेर सुनपालमा ४० मेगावाट विद्युत् उत्पादन गरी सिँचाइ र खानेपानी योजना कार्यान्वयन, निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने टुडेला, गोदावरी, नर्मदा, मोहना, खुटिया, गौरीगंगा, मनहेरा, शिवगंगा, लिक्मा, सुर्मा, कटैनी लगायत ठुला एवम् साना नदीबाट भइरहेको कटानी रोक्न आधुनिक तटबन्धनको ब्यवस्था, बुढितोला र खानिडाँडा क्षेत्रलाई इ–को डाइभर्सिटी पर्यटकीय हवको रुपमा विकास, गोदावरीदेखि बुढीतोलासम्म केवलकारको स्थापना लगायतका सपना भट्टले देखाएपनि कार्यान्वयन भने भएनन्।
भट्ट २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। तर चुनावी प्रतिबद्धताअनुसार काम भएन्। अहिले पुनः कैलाली क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभाका लागि उनी पुरानै योजनासहित मतदाता रिझाउँदैछन्। गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय, सेती लोकमार्ग, महाकाली करिडोर धनगढी–दीपायल द्रुततमार्ग निर्माणका लागि आफ्नो उम्मेदवारी भएको नेकपा एमालेका सचिवसमेत रहेका उम्मेदवार लेखराज भट्टले बताए। ‘कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का लागि मात्र नभएर समग्र सुदूरपश्चिमको विकासका लागि मेरो उम्मेदावरी अपरिहार्य छ, ठुला विकासका योजना अगाडी बढाउन सक्षम नेतृत्व अपरिहार्य हुन्छ।’
कैलाली क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री भट्ट र सत्ता गठबन्धका साझा उम्मेदवार वीरबहादुर बलायरको मुख्य एजेन्डा सुदूरपश्चिमको स्थायी राजधानी देखिएको छ। प्रदेशको स्थायी राजधानी गोदावरीमै बनाउने भन्दै दुबै नेता मतदातालाई रिजाउदैछन्। तर उम्मेदवारहरुका आधिकारी घोषणापत्र तयार भएका छैनन्। पूर्वमन्त्री तथा काँग्रेस सुदूरपश्चिमका सभापति बलायर पनि घोषणापत्रबिना नै भोट माग्दैछन्।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको ६ महिनाभित्रै स्थायी राजधानी निर्माणको प्रक्रिया सुरु हुने सत्ता गठबन्धनका उम्मेदवार वीरबहादुर बलायरको दाबी छ। ‘गोदावरीमा स्थायी राजधानी निर्माण र ४ नम्बर निर्वाचन क्षेत्रको समग्र विकासका लागि गठबन्धनको जित भए मात्र अधुरा विकास निर्माणका कामलाई अगाडी बढाउन सकिन्छ।’
प्रदेशसभाले गरेको सुदूरपश्चिमको स्थायी राजधानीको निर्णय प्रतिनिधिसभा सदस्यका उम्मेदवारको समेत मुख्य चुनावी एजेण्डा बनेको छ। एमालेका उम्मेदवार भट्टले प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरूले प्रदेशको राजधानी पहाडमा लैजाने दाबी गर्दैछन् भने काँग्रेस नेता बलायर भट्ट मन्त्री हुँदा पनि केही काम गर्न नसकेको भन्दै आलोचना गर्दैछन्। प्रदेशको स्थायी राजधानी डोटीमा हुनुपर्ने धारण राख्दै आएका बलायरले चुनाव लड्न कैलाली आएपछि मात्र बोली फेरेका हुन्।