सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा काँग्रेस निरीह, एमाले ढुक्क, समाजवादी मक्ख !

त्रिपक्षीय महाभिडन्त

२०७९ कार्तिक ४, १०:४५ रोशन भट्ट

धनगढीः मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव घोषणापछि सत्तारुढ दलहरुले  गठबन्धन गरेरै चुनावमा होमिने निर्णय गरे। केन्द्रमा गठबन्धनको प्रमुख नेपाली काँग्रेस सहितका दलहरुले गठबन्धनको निर्णय गरेसँगै डोटी काँग्रेस बिच्कियो। बिच्किनुको कारण यहीँ गठबन्धन नै थियो। 

त्यो समयदेखि नै डोटी काँग्रेसले उठाएको मुद्दा हो, गठबन्धन अस्वीकार। तर, निर्वाचन नजिकिएसँगै डोटी काँग्रेस पार्टी केन्द्रका अगाडि निरीह बनेको छ। गठबन्धन नगर्ने नै रटान रेटिरहेको डोटी काँग्रेसले उम्मेदवारी दर्ता गराउन उम्मेदवार नै खडा गरेको थियो। तर, केही समयमै ब्याक हुन बाध्य भयो। डोटीको प्रतिनिधिसभा सदस्यका लागि समाजवादीले सीट पाउँदा, प्रदेश–१ मा काँग्रेस र प्रदेश–२ मा माओवादीले पायो। 

लामो समय गठबन्धनलाई सहयोग नगर्ने हल्ला पिटेको डोटी काँग्रेस अहिले ‘कलम’ र ‘हसिया हतौडा’ का लागि पनि भोट मागिरहेको छ। पार्टी केन्द्रले गरेको निर्णय मान्न बाध्य भएको नेपाली काँग्रेस डोटीका नेता भरत खड्काले बताए। ‘हामी गठबन्धन दलहरुसँगै छौं। पार्टी केन्द्रको निर्णय मान्नुपर्ने बाध्यता छ। केही तिक्तताहरु छन्। तर, पनि कार्यकर्ता वृतमा माहोल बन्दै गएको छ,’ उनले भने।

डोटीमा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि एकीकृत समाजवादीका प्रेमबहादुर आले मैदानमा छन्। प्रदेश–१ मा काँग्रेसका नरेन्द्रसिंह तथा प्रदेश–२ मा माओवादीका शिवसिंह ओली चुनावी मैदानमा छन्। स्थानीय तहको निर्वाचनमा मुस्किलले ३२ सय मत कटाएको समाजवादी भने मक्ख छ। डोटीको एक सीटमा गठबन्धनका तर्फबाट टिकट पाएपछि समाजवादी मख्ख परेको हो। 

तर, अन्तिम समयसम्म यी उम्मेदवारलाई भोट नदिन आग्रह गर्दै आएको डोटी काँग्रेस अहिले आफैँ मतदाताको घरदैलो गरिरहेको छ। तिहारको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर गठबन्धनका उम्मेदवार भोट मागिरहेका छन्। जसको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको छ।

जिल्लास्तरका नेताहरु गठबन्धनका लागि भोट माग्न गाउँ-गाउँ पुगेपनि अधिकांश कार्यकर्ताहरु भने यसको पक्षमा छैनन्। उनीहरु विद्रोह गर्ने बताउँदै आएका छन्। काँग्रेस कार्यकर्ताले विद्रोह गरे स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्कालाई फाइदा पुग्ने आकलन गरिएको छ। 

डोटीमा गठबन्धनको मुख्य प्रतिस्पर्धी नेकपा एमाले पनि घरदैलो अभियानमा छ। एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि गौरी ओली उम्मेदवार छन्। प्रदेश–१ मा चक्र मल्ल र प्रदेश–२ मा टेक बम प्रदेश सांसद बन्ने दाउमा छन्। एक्लै चुनावी मैदानमा उत्रिएको एमालेले जित निकाल्न भने सजिलो छैन। स्थानीय तह निर्वाचनलाई आधार मान्दा जिल्लाका ९ स्थानीय तह मध्ये ७ काँग्रेस, एक एमाले र एक माओवादीले जितेको छ। यसकारण पनि डोटीमा एमाले कमजोर देखिएको हो। तर, एमाललेले डोटीमा हार मानेको स्थिति छैन।

सबै सीट आफैँले जित्ने भन्दै डोटी एमाले ढुक्क छ। प्रतिनिधि सभामा महिला उम्मेदवार भएका कारण पनि डोटीमा एमालेको जित निश्चित भएको दाबी नेता दुर्गा ओझाको छ। ‘प्रदेश र प्रतिनिधि सभामा एमालेको जित निश्चित छ,’ उनले भने, ‘अहिले नागरिकहरु पनि जागेका छन्। एमालेको पक्षमा लहर चलेको छ।’

जिल्लामा एक स्वतन्त्र उम्मेदवार पनि बलियो रुपमा प्रस्तुत भएका छन्। डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका नरेन्द्र खड्का स्वतन्त्र रुपमा आएपछि अन्य उम्मेदवारलाई भारी हुने संकेत देखिएको छ। डोटीमा गठबन्धन, एमाले र स्वतन्त्रबीच हुने भिड्न्तको मूर्तरुप भने मंसिर–४ गतेपछि देखिने छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस