सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गेटा मेडिकल कलेज, अस्पतालको भवनबाटै काम सुरु

२०७९ कार्तिक २, ०३:०८ खबर संवाददाता

धनगढीः कैलालीको गेटा मेडिकल कलेज, अस्पताल भवनबाट काम सुरु भएको छ। मेडिकल कलेज, अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बुधबारदेखि काम सुरु भएको बताएका छन्। अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण जडान लगाएतको काम गर्न सहजताका लागि अस्पताल भवनमा नै कार्यालय स्थापना गरिएको उनले बताए।

जोशीका अनुसार चार जना कर्मचारीसहित कार्यालय स्थापना गरिएको हो। सरकारले अस्पतालको निर्देशकमा जोशीलाई नियुक्त गरेको थियो।

जोशीका अनुसार सुरुमा २ सय शय्याको अस्पताल सञ्चालनका लागि पानी, विद्युत र ढल व्यवस्थापन आवस्यक छन्। नेपाल सरकारले अस्पतालका आवस्यक उपकरण खरिद तथा जडानका लागि बजेट विनियोजनसमेत गरेको छैन। प्रस्ताविक मेडिकल कलेजको प्रारुपमा अन्योल रहेका बेला दरबन्दी, उपकरणका लागि बजेट अभाव रहेको हो। ६ सय शय्याको अस्पताल सुरुमा २ सय शय्यामा सञ्चालन गरिनेछ।

२ सय शय्याका लागि ५० देखि ६० चिकित्सक, नर्स, अहेव लगाएतका पाँच सय बढी स्वास्थ्यकर्मी तथा प्रशासन तिरका कर्मचारी अस्पताल सञ्चालनका लागि आवश्यक छन्। तर प्रारुपमा अल्झिएकाले दरबन्दीको टुंगो लागेको छैन्। 

प्रस्ताविक गेटा मेडिकल कलेजको अस्पतालमा आकस्मिक, ओपिडी, अप्रेशन थेटर लगाएतका सेवा सञ्चालन हुनेछन्। अस्पताल सेवा सञ्चालनका लागि बजेटको भने अभाव देखिएको हो। नेपाल सरकारले अस्पताल सञ्चालन तथा उपकरण खरिद र जडानका लागि बजेट विनियोजन नगरेको हो।

अस्पतालका अन्य भौतिक संरचना निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ।
 

कमेन्ट लोड गर्नुस