सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मुख्य सडकका संरचना छठ लगत्तै भत्काइने

२०७९ कार्तिक १, ०५:४९

वीरेन्द्र भट्ट, धनगढीः धनगढीमा मुख्य सडकको सवारी चाप न्यूनीकरण गर्न छठपर्व लगत्तै उपमहानगरपालिकाले सडक फराकिलो बनाउने योजना कार्यान्वयनमा ल्याउने भएको छ। तिहार र छठ पर्व लगत्तै सडक क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना हटाउने कामको सुरुवात गरिने उपमहानगरले जनाएको छ। मुख्य सडक फराकिलो बनाउने योजनालाई कार्यान्वयनमा ल्याउने गरी आवश्यक काम अघि बढाइने उपमहानगरले जनाएको छ। 

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सवारीको चाप बढ्दै गएको छ। सबैभन्दा बढी सवारी चाप धनगढीको मुख्य सडकमा हुने गरेको छ। ट्राफिक जाम बढ्दै गएपछि आवागमनमा समस्या भइरहेको नगरवासीको गुनासो छ। असंख्य सवारी साधन र साँघुरो सडकका कारण धनगढीमा ट्राफिक जाम बढ्दै गएको हो। मुख्य सडक क्षेत्रमै ट्राफिक जाम बढेपछि यात्रु र सवारी साधन चालकहरु हैरान छन्। 

विशेष गरी मुख्य सडक क्षेत्र लक्ष्मीनारायण चोक, पार्कमोड र चौराहादेखि बसपार्कसम्मको सडक जाम हुने गरेको स्थानीय नेता केपी चौधरीले गुनासो गरे। ‘उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना खालि गराएर सडक फराकिलो बनाउने निर्णयलाई तत्काल कार्यान्वयन गर्नुपर्ने देखिन्छ।’ मुख्य सडकमा सवारी चापकै कारण दुर्घटनाको जोखिम समेत उत्तिकै बढेर गएको छ, उनले भने।

साँघुरो सडक, त्यसमाथि भएका खाल्डाखुल्डीले थप समस्याको सामना गर्नु परेको नागरिकको गुनासो छ। बढ्दो जनसंख्यासँगै सवारी चापले सडकमा जाम बढ्दै गएपछि दुर्घटनाको जोखिम बढेको छ। धनगढीको सबैभन्दा मुख्य सडक चौराहादेखि क्याम्पस रोड भएर दैनिक सयौँको संख्यामा सवारी साधनहरु गुड्ने गर्छन्। वर्षौँ पहिलेको सवारी चाप र जनसंख्यालाई मध्यनजर गरेर निर्माण गरिएको मुख्य सडक निकै साँघुरो  छ।

सहज आवागमन र सहरी सौन्दर्य बढाउन मुख्य सडकलाई फराकिलो बनाउनुपर्ने देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका वरिष्ठ सई शोभानसिंह कार्की बताउँछन्। ‘लक्ष्मीनारायण चोकदेखि पार्कमोडसम्म प्रायः दैनिक रुपमा सवारी जाम लागेकै हुन्छ, बढ्दो जनसंख्या, साँघुरो सडक र त्यसमाथि थपिदै गएका अटो–रिक्साका कारण ट्राफिक व्यवस्थापनमा  समस्या हुँदै आएको  छ।’

उपमहानगरपालिकाले मुख्य सडकको दायाँबायाँ सडक क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना हटाउन  निर्देशन दिइसकेको छ। उपमहानगरपालिकाको वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्म सडक दायाँबायाँ रहेका संरचना हटाउन निर्देशन दिइएको हो।

सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्तसम्म हटाइसक्न सूचना जारी गरिएको थियो। तर संरचना भत्काउने काम छठपर्वपछि मात्र सुरु हुने उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख दिजराज भट्टले बताए।

‘धनगढीको मुख्य सडक चौडा बनाउन रेखांकनको काम जारी नै छ। तिहारसम्म रेखांकन गर्न इच्छुक घरधनीका लागि उपमहानगरले प्राविधिक तयारी अवस्थामा राखेको छ, छठ पर्वपछि भने सडक फराकिलो बनाउने निर्णय कार्यान्वयनमा ल्याउने गरी आवश्यक प्रक्रिया अघि बढाइसकेका छौँ।’
 

कमेन्ट लोड गर्नुस