सुदूर नेपाललाई विश्वसँग जोड्दै

अख्तियार कञ्चनपुरमा साढे चार सय उजुरी दर्ता

२०८२ मंसिर २८, ०२:११ खबर संवाददाता

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर दोस्रो सातासम्म ४४४ नयाँ उजुरी दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ४६२ उजुरीसमेत गरी हालसम्म कार्यालयमा जम्मा ९०६ उजुरी दर्ता भएको आयोगले जनाएको छ।

कार्यालयका सूचना अधिकारी चेतराज भट्टका अनुसार दर्ता भएका उजुरीमध्ये शिक्षासम्बन्धी भ्रष्टाचारका उजुरी सबैभन्दा बढी छन्। मङ्सिर दोस्रो सातासम्म शिक्षाक्षेत्रका १७४ उजुरी दर्ता भएका छन्। विद्यालयको दिवा खाजा, शिक्षक सरुवा, भवन निर्माण, सामग्री खरिद, पुस्तकालयलगायतमा भएका अनियमिततासम्बन्धी उजुरी अख्तियारमा परेका छन्।

यसैगरी स्थानीय तहसम्बन्धी १०३, वन तथा वातावरण क्षेत्रका १०६, भौतिक पूर्वाधारसम्बन्धी ११४ र स्वास्थ्य क्षेत्रका ५३ उजुरी दर्ता भएका छन्। कुल उजुरीमध्ये करिब ५० प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको सूचना अधिकारी भट्टले जानकारी दिनुभयो।

जिल्लागत रूपमा कैलालीबाट सबैभन्दा बढी २२० उजुरी दर्ता भएका छन्। तीमध्ये ६६ उजुरी फछ्र्यौट भइसकेका छन् भने १५४ उजुरीमाथि छानबिन भइरहेको छ। कञ्चनपुरबाट १६६ उजुरी दर्ता हुँदा ६७ फछ्र्यौट र ९९ बाँकी छन्। अछामबाट ९० उजुरीमध्ये १९ फछ्र्यौट र ७१ अनुसन्धानमा छन्। बैतडीका ८० उजुरीमध्ये १५ फछ्र्यौट भएका छन् भने ६५ बाँकी छन्।

त्यसैगरी दार्चुलाका ७४ उजुरीमध्ये १५ फछ्र्यौट र ५९ बाँकी, बझाङका ६७ उजुरीमध्ये १५ फछ्र्यौट र ५२ अनुसन्धानमा छन्। डोटीबाट ६४ उजुरी दर्ता हुँदा १३ फछ्र्यौट र ५१ बाँकी छन्। डडेल्धुराबाट सबैभन्दा कम ५५ उजुरी दर्ता भएका छन्, जसमा २१ फछ्र्यौट र ३४ बाँकी छन्।

कुल ९०६ उजुरीमध्ये २५४ उजुरी फछ्र्यौट भएका छन् भने ६५८ उजुरी प्रक्रियामा रहेको सूचना अधिकारी भट्टले जानकारी दिनुभयो। अख्तियार कञ्चनपुरका प्रमुख वेदप्रकाश भण्डारीका अनुसार १५० उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको छ।

सुदूरपश्चिमका नौ वटै जिल्ला र ८८ वटै पालिकाबाट आउने भ्रष्टाचारसम्बन्धी उजुरी यही कार्यालयमा दर्ता हुँदै आएका छन्। हाल कार्यालयमा १५ अनुसन्धान अधिकृत तथा सहायक अनुसन्धान अधिकृतसहित ६३ कर्मचारी कार्यरत छन्। जनशक्ति अभावका कारण कार्यसम्पादनमा समस्या भइरहेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो।
 

कमेन्ट लोड गर्नुस