सुदूर नेपाललाई विश्वसँग जोड्दै

साइबर क्राइमको उजुरी कहाँ र कसरी गर्ने ?

२०७९ असोज ३०, ११:१३

दान बहादुर सुनार : एकजना कलेज पढ्ने युवतीलाई अपरिचित युवकको फ्रेन्ड रिक्वेस्ट आउँछ। झट्ट प्रोफाइल हेर्दा आकर्षक देखिने युवकको रिक्वेस्ट युवतीले तुरुन्तै एक्सेप्ट गर्छिन् । मेसेन्जरमा बाक्लै कुराकानी हुन थाल्छ । युवकले युवतीलाई ललाई फकाई नग्न तस्बिरर पठाउन अनुरोध गर्छ। धेरै जिद्दी गरेपछि युवतीले पनि आफ्नो नग्न तस्बिर पठाई दिन्छिन् ।

त्यसपछि युवकले ब्ल्याकमेलिङ् गर्न शुरु गर्छ । आफूसँग शारीरिक सम्बन्ध राख्न दबाब दिन्छन् । यदि भनेको नमाने आफन्त साथीभाईहरुलाई नग्न तस्बिर पठाईदिने भन्दै धम्की दिन्छन् ।युवतीले केहि सीप नलागेर बाध्य भएर सम्बन्ध राख्न पुग्छिन् । यसरी युवकले पटक पटक ब्लाकमेलिङ गर्दै शारीरिक सम्बन्ध राख्छ । यो घट्नाले युवतीलाई ठूलो मनोवैज्ञानिक असर पर्दछ । अन्तिममा बाध्य भएर यो घट्ना घरमा सुनाउँछिन् र घरको मान्छेले तुरुन्तै प्रहरीमा खबर गरी युवकलाई पक्राउ गराउँछन् ।

एउटा अर्को घट्ना छ । एकजना व्यापारीलाई अपरिचित युवतीको फ्रेन्ड रिक्वेस्ट आउँछ । सुन्दर युवतीको फ्रेन्ड रिक्वेस्ट देख्ने वित्तिक्कै ती व्यापारीले रिक्वेस्ट एक्सप्ट गर्छन् । रिक्वेस्ट एक्सेप्ट गरेको केहि मिनेटमा मेसेज आउँछ। कुराकानी हुँदै जाँदा युवतीले भिडियो कल गर्छिन् । सुरुमा अर्धनग्न पहिरनमा रहेकी युवती बिस्तारै आफ्ना सबै बस्त्र खोल्दै पुरै नग्न हुन्छिन् । युवकलाई पनि निर्वस्त्र हुन अनुरोध गर्छिन् । युवकले पनि आफ्नो भित्री बस्त्र खोल्छन् ।

यो सबै दृश्य ती युवतीले रेकर्ड गरेकी रहिछिन् । एकछिनमा त युवतीले भिडियोयुवकलाई पठाउँछिन् र लाखौ रुपैयाँको बार्गेनिङ्ग शुरु गर्छिन् । तुरुन्त पैसा नपठाए आफन्त साथीहरुलाई भिडियो पठाईदिने धम्की दिन्छिन् । सुरुमा भनेजति रकम पठाए पनि ब्यालमेलिङ् गर्ने क्रम रोकिएन। अन्तिममा बाध्य भएर ब्यापारी प्रहरीको शरणमा पुग्छन् ।

यी त प्रतिनिधिमूलक घट्ना हुन् । यस्ता कैयन घट्नाहरु छन् । कतिपयले त फेक आइडि बनाएर विभिन्न अश्लिल हर्कत गरी हैरानी दिने गर्छन्। फेक आइडि बनाएर मेसेन्जरबाट अश्लिल हर्कत गर्ने, यौन प्रस्ताव राख्ने, रकम असुल्ने लगायतका अपराधहरु दिनानुदिन बढिरहेका छन् । कतिपयले महिलाहरुलाई विभिन्न अश्लिल मेसेज, फोटो भिडियो पठाउने, यौन प्रस्ताव राख्ने लगायतका हर्कत गरेर दुःख र हैरानी दिने गरेको पनि पाइन्छ । यतिसम्मको हैरानी र दुःख बेहोरेपनि धेरै जसोलाई यस सम्बन्धमा के कसरी कानूनी उपचार लिने, उजुरी र अनुसन्धान प्रकृया के कस्तो हुन्छ भन्ने बारे जानकारी नभएर पनि पीडा लुकाएर बसेका हुन्छन्। कतिपयले त भए भरको धन सम्पत्ति गुमाउनु परेको छ । यसैकारणले कतिपयलाई मनोवैज्ञानिक असर परेको छ भने कतिपयले अकालमै ज्यान गुमाउनु परेको छ । यस्ता घटनाले धेरैको दाम्पत्य सम्बन्धमा दरार पैदा भएका छन् । यिनै समसामयिक घट्ना र परिवेशलाई मध्यनजर गरेर मैले साइबर क्राइम सम्बन्धी उजुरी के कसरी गर्ने र यस सम्बन्धी कानूनी व्यवस्था के कस्तो छ भनेर संक्षिप्त जानकारी दिने प्रयास गरेको छु ।

साइबर क्राइम के हो ?

कम्युटर, मोबाइल, ईन्टरनेट र सामाजिक सञ्जालका माध्यमबाट कल बाइपास गर्ने,फेक आइडी बनाउने, धम्की तथा गाली गलौज दिने,पासवर्ड ह्याकिङ गर्ने, अश्लिल फोटो भिडियो पठाई हैरानी दिने, जिस्काउने, गाली बेइज्जती गर्ने, चरित्र हत्या गर्ने,ब्ल्याकमेल गर्ने, तथ्यांक चोरी,जातिय घृणा, यौनजन्य हिंसा र अश्लील हर्कत गर्ने आदि जस्ता कार्यहरुलाई नै साइबर क्राइम भनिन्छ ।

उजुर गर्ने हदम्याद र सजाय कति हुन्छ ?

साइबर क्राइम बारे थाहा भएको मितिले पैतीस दिनभित्र उजुरी गरी सक्नु पर्छ । अपराध पुष्टि भएमा बढीमा पाँच वर्षसम्म कैद सजाय र तीन लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।अपराधको प्रकृति र कसूरको गाम्भिर्यता हेरेर सजाय घटी वा बढी गर्ने अधिकार न्यायकर्तालाई हुन्छ । अपराधबाट पीडितलाई पर्न गएको क्षति र हैरानीलाई बिचार गरेर पीडितलाई उचित क्षतिपूर्ति भराईदिने कानूनी व्यवस्था रहेको छ ।

उजुरी कहाँ र कसरी गर्ने?

साइबर क्राइमको उजुरी सिआईबी र महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंमा मात्र दर्ता गर्न पाइन्छ। उजुरी गर्न प्रहरी कार्यालयमै पुग्नु पर्ने भन्ने छैन । अनलाइन मार्फत पनि उजुरी दिन सकिन्छ । अनलाइनबाट उजुरी दिँदा लिखित निवेदन र प्रमाण सहित साइबर ब्युरोको इमेल आइडीमा इमेल गरी पठाउन सकिन्छ । प्रमाणको रुपमा स्क्रिन सर्ट, परिचयपत्र, भिडियो लिंक, अडियो, फोटो लगायतका प्रमाण निवेदनसँगै राखेर पठाउन सकिन्छ । यसका साथै साइबर ब्युरोले उपलब्ध गराएको फोन नम्बनरमा फोन गरेर पनि घट्नाको बारेमा उजुर दिन सकिन्छ । अन्य अपराधको जसरी साइबर अपराधका मुद्दाहरु जुनसुकै अदालतमा दर्ता हुने व्यवस्था छैन । हाल काठमाडौं जिल्ला अदालतमा मात्रै साइबर अपराधका मुद्दा दर्ता हुन्छन् । तुरुन्तै साइबर ब्युरोमा अपराधको उजुरी दर्ता गर्न नसकेपनि नजिकको प्रहरी कार्यालयमा यस्ता अपराधिक गतिविधिको जानकारी दिएर पनि आवश्यक सहयोग लिन सकिन्छ ।

अनुसन्धा प्रकृया कसरी हुन्छ ?

साइबर ब्युरोमा लिखित, मौखिक वा इमेलबाट उजुरी परेपछि प्रहरीले सुक्ष्म अनुसन्धान गर्दछ । अपराध अनुसन्धान गर्नकै लागि साइबर ब्युरोको स्थापना गरी डिजिटल फरेन्सिक ल्याबको समेत व्यवस्था गरिएको छ ।अपराधीले कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेको हुन्छ भने प्रहरीले पनि मोवाइलको लोकेसन, कल डिटेल या सामाजिक सञ्जालका क्रियाकलापको चेकजाँच गरी प्रारम्भिक अनुसन्धान सुरु गर्दछ । आरोपित व्यक्तिको संलग्नता देखिए निजलाई पक्राउन गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाउँछ र प्रारम्भिक अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा साइबर क्राइमको अभियोग दर्ता हुन्छ । अदालतमा अभियुक्तको बयान तथा पीडितको बकपत्र लगायतका बाँकी अनुसन्धान कार्य पूरा गरि अदालतले फैसला सुनाउने गर्दछ।

साइबर क्राइमबाट बच्न के गर्ने ?

साइबर क्राइमबाट बच्न  विभिन्न खालका प्रलोभनमा नपर्ने र झट्ट कसैलाई बिश्वास गरी नहाल्ने । फेसबुक वाल वा मेसेन्जरमा अनौंठो वा शंकास्पद लिंक छन भने त्यसमा क्लिक नगर्ने । अपरिचित व्यक्तिहरुसँग फेसबुकमा नजोडिने, जोडिनै परे फेसबुक प्रोइफाइलको राम्ररी चेकजाँच गरी उचित लागेमा मात्र जोडिने । मोबाइल र मोबाइलको म्यासेज बक्समा गोप्य कुरा सेभ गरेर नराख्नुहोस्। जथाभावी अश्लिल र यौन सम्बन्धी म्यासेज नगरौँ । कसैको प्रलोभन वा विश्वासमा परेर आफ्ना अश्लिल तस्वीर अथवा भिडियो अरुलाई नपठाऔँ । त्यस्ता व्यक्तिहरुलाई ब्लक गरिदिउँ ।

निष्कर्शः

माजिक सञ्जालको दुरुपयोग कोही कसैले नगरौँ । कम्प्युटर, मोवाइल र इन्टरनेटको गलत प्रयोग नगरौँ । सामाजिक सञ्जालमा कोही कसैसँग आफ्ना गोप्य र व्यक्तिगत कुराहरु श्यर नगरौँ। अपरिचित व्यक्तिहरुसँग सकेसम्म नजोडिउँ, जोडिनै परे प्रोफाइल हेरी विश्वासलायक भए मात्र साथी बनौँ । कसैको विश्वास र प्रलोभनमा परेर आफ्ना अन्तरंग तस्वीर र भिडियोहरु पठाउने नगरौँ । साइबर अपराध वा ब्ल्याकमेलको सिकार भइहालेमा साइबर व्युरोमा लिखित, मौखिक वा अनलाईनबाट उजुरी गरौँ । त्यति पनि गर्न सकिएन भनि नजिकको प्रहरी कार्यालयमा सम्पर्क राखी प्रहरीको सहयोग लिऔँ । कानूनी राज्यमा हरेक अपराध नियन्त्रणका लागि कानून बनेका छन् । उजुरी र अनुसन्धानका आफ्नै विधि र पद्धति छन् । कानूनको सामान्य जानकारी सबैले राख्ने प्रयास गरौँ । कानूनी शासनको पूर्ण पालना गरौँ । अनुशासित, मर्यादित र नैतिकवान बनौँ ।

(लेखक नेपाल सरकारका कानून अधिकृत हुन् )

 

कमेन्ट लोड गर्नुस