सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका सबै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना

२०७९ असोज २१, ०९:५२ खबर संवाददाता

धनगढीः कैलालीका सबै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्। आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका हुन्।

मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृतको कार्यालय धनगढीमा र अन्य निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालय सम्वन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिएका प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेम भट्टले बताए। निर्वाचन आयोगले असोज २० गतेभित्र कार्यालय खोलीसक्ने निर्णय गरेको थियो। सोही अनुसार दशैंलगत्तै बिहिवार कैलालीको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालय धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रमा स्थापना गरिएको छ। कार्यालयको निर्वाचन आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले उदघाटन गरेकी हुन्। कैलालीको मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत कैलालीका न्यायाधीश ओमप्रसाद अर्याल रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय टीकापुरस्थित नापी कार्यालयमा स्थापना गरिएको छ। निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारी छन्। निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय लम्कीचुहा नगरपालिका कार्यालय भल्कामा स्थापना भएको छ। निर्वाचन अधिकृत तेजप्रकाश जोशी छन्। निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय इलाका हुलाक कार्यालय अत्तरियामा छ। क्षेत्र नम्ब्र ४ मा निर्वाचन अधिकृत इन्द्र कठायत अधिकृत छन्। निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भजनी रोड सुख्खडमा स्थापना भएको छ। त्यहाँ निर्वाचन अधिकृत लक्ष्मीनारायाण दाहाल छन्। क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय असोज १५ गते नै स्थापना भएको हो।

प्रदेश  निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेम भट्टका अनुसार मतदाता नामावली, उम्मेदवारको मनोनयनपत्र सहितका निर्वाचन सामग्रीहरु लिएर अधिकृतहरु निर्वाचन क्षेत्रमा गएका हुन्। अब निर्वाचन अधिकृतले निर्वाचन कार्यालय छोडन पाउने छैनन्। असोज २३ गते आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

पाँच वटा प्रतिनिधसिभा र १० वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार ५ सय १४ मतदाता रहेका छन्। जसमा दुई लाख ७३ हजार ८८३ महिला र दुई लाख ६१ हजार ६२० पुरुष छन् । 

कमेन्ट लोड गर्नुस