सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रद्धाञ्जलि एक, सम्झना अनेक

२०७५ फाल्गुन २७, ०१:३३

ब्रह्मा विष्णु महेशको छ महिमा हुन् सृष्टिकर्ता भनी 
गर्छौ कोटि प्रणाम भूतल भरी जानी नजानी पनि ।
जन्मिन्छन् यहि सृष्टिमा कति कहाँ प्राणी हजारौँ थरी 
त्यस्मा मानव जन्म उत्तम लिई जन्मे अनेकौँ थरी ।।१।। 

छन् कैयौँ दुखमा र कोहि सुखमा क्वै निर्धनी क्वै धनी 
जो मानिन्छ प्रकृतिको नियम नै होला स्वभाविक् भनी । 
हाम्रा भौतिक देहको पनि त्यसै जेठो न कान्छो कुनै 
छोडी जानु छ लोकबाट सबले भोली कुनै आज नै ।।२।। 

जो हो ईश्वरको अपूर्व रचना त्यो जन्म मृत्यू जहाँ 
अन्तिम सत्य छ बुझ्नु नै छ सबले लीला प्रभूको यहाँ । 
सोही क्रम्सित जोडिएर अघिका जो–जो गएथे जहाँ 
सायद् त्यो परलोक हो किनकि संस्कारै छ हाम्रो यहाँ ।।३।। 

उन्नाइस त्रियानबै सुदिन जो आठ् मार्गमा जन्मिए
माता दिव्य बसुन्धरा अनि पिता ज्यातिष् पुरन्धर थिए ।
जस्का कोखमहाँ लिई जनम त्यैँ हुर्के दीनानाथ जी १
डोटी दक्षिणको घरा गडसिरा शैल्कोटिला हःने ती ।।४।।

हुन् ती शिक्षक सत्रसाल तिर श्री नवकोट प्रा।वि। महाँ 
मात्रै मासिक खान्कि पच्चिस लिई सेवा गरे गाउँमा ।
त्याइस सालतिरै नि।मा।वि। पनि भो अध्यक्ष ती छानिए 
तत्काल वार्ड अध्यक्ष फेरि उ।प्र।पं।रजि।पं।स। नै छानिए ।।५।। 

हुन् संस्थापक मध्यका प्रमुख ती जो भो मनोहर बजार 
त्यस्तै श्री नवज्योति प्रा।वि। तिरका हुन् मुख्य शिल्पी मुहार । 
पञ्चायत् जुन थ्यो त्यसै बखतमा रा।पं।स। निर्वाचन
लड्ने साहसिला जुझारु जसको थ्यो हौशिलो जोवन ।।६।। 

ती हुन् गाउँ समाजका प्रतिनिधी जस्ले चिनारी दिए 
आफ्ना दुखसुखमा निरन्तर खटी सामान्य नै भैरहे । 
आवत् जावत बर्दिया पनि भयो जोडेर जग्गा त्यता 
अन्तिम् धनगढीमा बसाइ हुन गो विक्रि गरेछन् उता ।।७।। 

जग्गा दान दिएर मन्दिर बन्यो गौरा– महेश्वर जहाँ
संस्थापक जुन ती अध्यक्ष पनि थे तारानगर माझमा ।
दीनानाथ समाजमा अनुभवी पाका थिए ती जुन
भण्डारी निज क्यै अस्वस्थ रहँदै बस्थे लगाई गुन ।।८।। 

पीडा बोध भयो दुख्यो विगत झैँ राती अघिल्लो दिन
सेती अञ्चल अस्पताल लगिए भोली सबेरै जुन ।
फाल्गुण कृष्ण दुईहजार पचहत्तर जो गते पन्ध्रमा 
साइत् भो नवमी तिथी र बुधबार पारी गए स्वर्गमा ।।९।।

कम्रेड भैकन हालका दिन थिए सत्ता नजीकै तिनी 
पार्टीबाट मिलेन सायद खुशी, झण्डा मिल्यो तैपनि । 
दाजू भाइ सखा दिदी र बहिनी आफन्त औ मित्रका 
छाती भित्र अटाउँथे कति कुरा ती कल्पनाकारका ।।१०।। 

सामाजिक जनचेतना सकलमा फैलाउने अग्रणी 
आफ्नै तर्क प्रयोग गर्न बहुतै बाठा सिपालू तिनी । 
जस्को उज्वल मोहडा झलझली सम्झी रहन्छु सदा 
स्वप्नामा पनि देख्छु–सुन्छु कहिल्यै ती ऐतिहासिक कुरा ।।११।। 

पत्नी जेष्ठ थिइन् र ती अघि गइन् बच्चा गुम्यो गर्भमा 
कान्छीबाट किशोर पुत्र नि गयो अल्पायु भै स्वर्गमा । 
पुत्री तीन र पुत्र एक अनि पत्नी आज छोडी गए 
सारा इष्ट कुटुम्ब भाइ–भतिजा छोडेर एक्लै गए ।।१२।। 

फर्किन्नन् अब स्वर्गमा गई बसुन् ती शान्तिका साथमा 
आफ्ना पूर्वज पितृका बिच रहुन् त्यो रम्य स्वर्लोकमा ।
अर्पण गर्दछु लेखनी हृदयको दिन्छु म श्रद्धाञ्जलि 
शोकैमा समवेदना छ परिवार आफन्तलाई पनि ।।१३।। 

-तेह्रौँ दिनको पुण्य तिथिका अवसरमा प्रेषित 

 

कमेन्ट लोड गर्नुस