सुदूर नेपाललाई विश्वसँग जोड्दै

मासु पसलबाट बेचिन्छ ५ महिना पहिले मारिएका माछा !

२०७९ असोज १४, ०९:१७ खबर संवाददाता

काठमाडौंः विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मेयर नागेश कोइराला बिहान ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन्। अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ।

मेयर कोइरालाको नेतृत्वमा गरिएको आकस्मिक अनुगनका क्रममा खसीको मासुकै मूल्यमा बाख्राको मासु बिक्री गरेर व्यापारीहरूले उपभोक्ता ठगी गर्ने गरेको पाइएको हो। दशैंमा बढी माछा–मासु बढी खपत हुने भएकाले सोही मौका छोपेर व्यापारीले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको गुनासो आएको थियो। कतिपय उपभोक्ताले घरमा लगेर पकाउँदा नपाक्ने, एकछिन राखेपछि गन्हाउने गरेको हटलाइनमा गुनासो टिपाएका थिए। 

विराटगर–२ तीनपैनी स्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ। अनुगमन टोलीले बाख्राको मासु जफत गरेर तत्कालै नष्ट गरेको थियो। त्यसैगरी विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्ममा ५ महिनादेखि डी फ्रीजमा राखेको माछासमेत फेला परेको छ। उक्त माछा पूरै गन्हाएको थियो। पसलका कर्मचारीले समेत ५ महिनादेखि मरेको माछा फ्रिजमा राखेको स्वीकारेका थिए। 

महानगरले बिहान ६ बजे नै गुद्रीमा पुगेको थियो। अनुगमन टोली आएको थाहा पाएपछि अधिकांश पसल बन्द गरेर भागेका थिए। मेयर नेतृत्वको टोलीले गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनीचोक, देवकोटा चोक, हाटखोलालगायतका स्थानमा सञ्चालित करिब डेढ दर्जन माछा–माछा मासु पसलको अनुगमन गरेको थियो। 

खान मिट, गाउँले मिट सेन्टर, जाकिर मिट पसल, रोयल मल्लिक मिट सेन्टरलगायतका पसलमा फ्रिजभित्र गन्हाएको मासु फेला परेको थियो। टोलीले बाख्राको मासु, गन्हाएको मासु र माछालाई फिनेल लगाएर तत्कालै नष्ट गरेको थियो। 

कमेन्ट लोड गर्नुस