सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवरात्रीको वैज्ञानिक सिद्धान्त र नेपाली समाजमा दसैँको महत्त्व

२०७९ असोज ११, ०९:१०

-भगवान कलौनी

हाम्रो बैदिक सनातन हिन्दू धर्मसँग अनेकौं चाडपर्व र संस्कृतिहरू जोडिएर आउँछन्। तिनीहरूको आ–आफ्नै महत्त्व, सिदान्त र विशेषता हुने गर्दछ। जसमध्ये एक हो शरादीय  नवरात्री, जसको अर्थ हुन्छ नव(९) रात। 

हिन्दू धर्मअनुसार यी नवरात्र दुई प्रकारका हुन्छन्। एउटा शरद ऋतु असौज महिनामा र अर्को वसन्त ऋतु चैत्र महिनामा यस पर्वलाई नारी बर्त (स्त्री पूजा) भनेर पनि बुझ्न सकिन्छ। यस पर्वमा विशेष गरेर हिन्दू धर्मकी तिन  प्रमुख देवीहरूको पूजा हुन्छ। जसमा पार्वती, लक्ष्मी र सरस्वतीको नव (९) रूप प्रथम शैलीपुत्री, द्वितीय ब्रहृमचारिणी, तृतीया चन्द्रघण्टा, चतुर्थ कुष्माण्डा, पञ्चम स्कन्दमाता, सष्ठम कात्यायिनी, सप्तम कालरात्री, अष्टम महागौरी र नवम सिद्धिदात्री जसलाई नवदुर्गा भनेर विधि विधानका साथ पूजाआजा गर्ने गरिन्छ। 

नवदुर्गाको दशौं दिन विजयादशमी मनाउँदछन्। विशेषगरि दसैंसँग हाम्रो मौलिक, धार्मिक र साँस्कृतिक पक्ष जोडिएर आउँछन्। महिषासुर राक्षसको वध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्यहरू चण्ड–मुण्ड, रक्तबीज तथा शुम्भ–निशुम्भलाई बध गरेको खुसियालीमा दसैं मनाउने गरिएको मान्यता छ। दसैं वा बडा दसैं (दशहरा, नवरात्री, विजयादशमी) पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ। 

राष्ट्रिय चाड समेत मानिने दसैं हिन्दू धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म नवरात्री शक्तिको आराधना गरी मनाउँछन्। र दशौं दिन बिहान आफूभन्दा ठूला मान्यजन, ब्राहमण र गुरुवर्गको हातबाट आशीर्वाद ग्रहण गर्छन्।

विशेषतः घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्रिको विधिले प्रत्येक दिन फरक–फरक देवीहरूको पूजाका साथ साथै जमरामा शुद्ध जल, पुष्प, द्रव्य, धूप, दीप र नैवद्य चढाएर प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै दुर्गासप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ।

यसरी बनाएको जमराको प्रसाद एउटा शुद्ध तामाको, कासको,माटाको या शुद्ध पातहरुबाट निर्माण गरिएको टोकरीमा जौ उब्जाएर बनाइएको हुन्छ। जमरालाई  भगवती देवीको मनपर्ने अन्न हुनाले या जौ विभिन्न धार्मिक यज्ञमा समावेश गर्नेहुनाले जौंबाट मात्रै जमराको प्रसाद बनाउने गरिन्छ। 

जौंलाई हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक भनेर  पनि चिनिन्छ। व्यक्ति र समाजको रगतमा वीरता तथा जोसजाँगर प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो। दसैंले दश प्रकारका पापहरू काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिने विश्वास विभिन्न शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। भागवत महापूराण अनुसार मर्यादा पुरुषोत्तम श्री रामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजययात्रा गरेर रावणमाथि विजय प्राप्त गरेका थिए। त्यहाँ आश्विन शुक्ल पक्षको नौ अहोरात्रलाई  व्रत  भनी प्रतिपादन गरेको पाइन्छ।   

दसैंभित्र पर्ने महत्त्वपूर्ण दिनहरु
फूलपातीः नवरात्रीको सातौं दिनलाई फुलपाति भनेर चिनिन्छ। दशैंमा यो दिनको महत्व अधिक रहेको हुन्छ यस दिनमा  बेलपत्र, धानको गाभो, अनार, पुङ्ग्यो, जौ तिल हल्दो , उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्राउने भनिन्छ। वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्राउँदा घरभित्र रहने रोग वृद्धिकारक छल कपट (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक किटाणु र जीवाणु हरू औषधीय पालूवाको प्रभावले घरमा रहन सक्दैनन् र घरमा सुख शान्ति समृद्धि र लक्ष्मीको बास हुन्छ  भन्ने किंवदन्ती रहेको छ।

महाअष्टमीः  नवरात्रीको आठौं दिनलाई महाअष्टमी भनिन्छ। यस दिनमा महाकाली (भद्रकाली) को विशेष पूजाआराधना गरिन्छ। देवीभागवत अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली वीरभद्रका साथ भद्रकाली अष्टमीका दिन उत्पन्न भएको विश्वासमा पूजा गर्ने चलन छ। पूजापश्चात यी देवीलाई बोका, खसी, कुखुरा, हाँस, माछो, राँगो आदि बली दिने गरिन्छ। 

यसैदिन सुदूरपश्चिमको प्रख्यात ठाउँ मेलौली भगवती मन्दिर, निङ्गलाशैनी भगवती मन्दिर, त्रिपुरासुन्दरी भगवती मन्दिर, यस्तै बैतडीका ससाना शिवनाथ गाउँपालिका भित्रपर्ने उदयदेव महाराज (कफाडी) र पञ्चेश्वर गाउँपालिका भित्र पर्ने उदयदेव मंदिर (आमचोरा) मा पनि बलि दिने गरिन्छ। र, यस्तै अरु प्रदेशका प्रमुख महाकाली (भद्रकाली) मन्दिरमा पनि बली दिने गरिन्छ। 

महानवमीः नवरात्रीको नवौं दिनलाई महानवमी भनिन्छ। यस दिनमा विशेषगरि सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ। यसैदिन बिहान कलकारखाना, हातहतियार तथा सवारीका साधन आदिलाई बली दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यसदिन विशेषगरि दुई वर्षदेखि दस वर्षसम्मका नव (९) कन्याहरूलाई नव देवी मानेर पूजाआराधना गरिन्छ। बलीको अर्थ त्याग, बली दिनु अर्थात् त्यागि दिनु। काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट गरि दश प्रकारका विकारहरू त्यागेर विकार पदार्थबाट मुक्ति पाउनु हो। 

बेकार चिजबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ र नवदुर्गाका प्रसादले यी अवगुणहरू हटुन्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो भनेर जान्नुपर्दछ। कामको प्रतिक बोको, क्रोधको प्रतिक राँगो, लोभको प्रतिक भेडो र मद तथा मात्सर्यको प्रतिक कुखुरो र हाँसलाई मानिन्छ। 

यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ। त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाऊँ अर्थात त्यागौं भन्ने शास्त्रीय मान्यता दसैंको छ। तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलीका रूपमा चढाउन थालेपछि दसैंमा बलीको सुरुवात भएको हो भन्ने विभिन्न धार्मिक पुस्तक वेद पुराण र ऋषिमुनी, विद्वान अग्रजहरुबाट लिन सकिन्छ।

विजया दशमीः नवरात्री दशौ दिनलाई विजयादशमी भनिन्छ।  यस दिनमा विशेषगरि आफूभन्दा ठूला र मान्यजनका हातबाट टीका तथा प्रसाद ग्रहण गरिन्छ। नातासम्बन्ध स्थायी राख्न र आशीर्वाद ग्रहण गर्नका लागि  ब्राहमणको घर, मठ मन्दिर, मामाघर, ससुराली, इष्टमित्र आदिकोमा गइन्छ। यस दिनमा टीका लगाउँदा पुरुषहरूका लागि निम्न मन्त्र उच्चारण गरिन्छः

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्चपवने मानञ्च दुर्योधने ।
शैर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्चनारायणे  

महिलाहरूका लागि निम्न मन्त्र उच्चारण गरिन्छ
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
जयत्वं देवी चामुण्डे जयभूतार्तिहारिणि ।
जय सर्वगते देविकालरात्रिनमोऽस्तु ते ।।

नवरात्री पूजाको वैज्ञानिक महत्त्व
नवरात्री पूजासँग वैज्ञानिक महत्त्व जोडिएको छ। विज्ञानको सिदान्त अनुसार पृथ्वी सूर्यको परिक्रमा गर्छ। परिक्रमा गर्ने बेला वर्षमा चारपटक पृथ्वीको लागि साँझ पर्छ। अथवा रात्री हुन्छ अरु दिन दिनमै घुम्छ। जो असोज महिना र चैत्र महिनाको गोलमा सालमा हुने २ मुख्य नवरात्री पर्न जान्छन्। यी दुई शरद ऋतु र वसन्त ऋतुमा रोगव्याधिको प्रकोप बढ्ने सम्भावना धेरै हुन्छ। 

यी दुई महिनामा मान्छेलाई शारीरिक बिरामले धेरै समात्ने गर्छ। मौसमी बीमारी फैलिने अधिक सम्भावना हुन्छ। त्यसैले विरामबाट बच्न निर्मल चञ्चल मन राख्न, शुद्ध भोजन खाना सफा, शुद्ध रहन यी दुई शरद ऋतु र वसन्त ऋतुमा शुख शान्ति समृद्धिको लागि पूजाआराधना गर्न नवरात्री नाम राख्न गएको हो। 

हाम्रो शरीरको नव (९)वटा मुख्य द्वारमा यी नव (९)देवीहरूको बास हुन्छ भन्ने ज्योतिष विज्ञानमा उल्लेख गरिएको छ। ती नव (९) द्वारमा अनुशासन, स्वच्छता, पारदर्शीता स्पष्टता, मितबेय आदि स्थापित गरेर नव (९) दिनसम्म नवदुर्गाको पूजआराधना गर्न छुट्याएको हुन्छ। 

बाहिरी सफाई त हामी दैनिक गर्ने गर्छौ, भित्री सफाइको लागि ६ महिनाको अन्तरमा नव (९) दिनको अभियान वर्षमा दुई (२) चोटी चलाएको पाइन्छ।  यस्तो गर्दा तन, मन, वचन, कर्म शुद्ध भएर पूजापाठ गरिन्छ। सदा सर्वदा सुखी वुद्धि विवेक ज्ञान वैभव सम्पतिदाता र अशान्ति हटेर जान्छ। भनिन्छ, शुद्ध तन, मन सफा र शुद्ध मान्छेलाई मन्दिरमा इश्वरले  निवास दिन्छन्।

सम्मान दिन्छन् र मनोकामना पूर्ण गर्छन्। इश्वरले मानसम्मान निवास दियो भने मान्छेको वास्तविक जीवन पनि इश्वर समान नै हुन्छ। त्यसैले वर्षको दुई महिनामा नवदुर्गाको पूजाआराधना गर्ने महिनाको रूपमा विज्ञानले पनि स्वीकारेको छ। जय विज्ञान जय ज्योतिष !
 (लेखक कलौनी पञ्चेश्वर गाउँपालिका–१ बैतडीका ज्योतिषी हुन्।)
 

कमेन्ट लोड गर्नुस