सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पहिरोले घर बगायो, स्थानीयमा त्रास

२०७९ असोज १०, ०१:३८ खबर संवाददाता

बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिका–२, बडियामा पहिरो खस्दा एक घर बगेको छ। प्रहरीका अनुसार स्थानीय देबसिंह महराको घर बगेको हो। यस्तै गोठमा रहेका गाई र बाख्रा पुरिएका छन्। पहिरो खस्दा घर परिवारले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। 

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय अत्तरियाका अनुसार असोज ८ गते शनिबारदेखि १० गते सोमबारसम्म तीन दिन सुदूरपश्चिमको कञ्चनपुर, बैतडी र दार्चुलामा भारी वर्षा हुने भएकाले सजगता अपनाउन सूचना जारी गरेको छ।  

शनिबार रातिदेखि लगातारको वर्षाले सेती नदीमा पानीको बहाव बढेको छ। बैतडीको सिगास गाउँपालिका –५, ढुङ्गाढ क्षेत्रमका १०३ घरपरिवारमा बाढीको त्रास बढेको छ। सेती नदीमा पानीको बहाव बढ्दा ढुङ्गाढका १०३ घर परिवार बर्सेनि सेतीको भँगालोमा फस्ने गरेका छन्। 

ढुङ्गाढमा गत वर्ष कात्तिक पहिलो साता आएको बाढीले १० घरमा क्षति गर्नुकासाथै सात सय रोपनी खेतीयोग्य जमिन र सेतीको झोलुङ्गे पुल बगाएको थियो। बाढी पीडितले अहिलेसम्म राहत नपाएको बाढी पीडित लोकबहादुर चन्दले बताए। नदीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि स्थानीयको चिन्ता बढेको छ। बर्सेनि आउने बाढीले ढुङ्गाढ क्षेत्रको सात सय रोपनी खेत बगाइसकेको स्थानीयले बताएका छन्।

बैतडीमा भारी वर्षा भइरहेकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थानमा प्रहरी युनिट मार्फत सतर्कता अपनाउन निर्देशन दिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 


 

कमेन्ट लोड गर्नुस