सुदूर नेपाललाई विश्वसँग जोड्दै

उग्रतारा मन्दिर पुरातन शैलीमा पुर्ननिर्माण हुने

फोटो: राजेन्द्र थापा
फोटो: राजेन्द्र थापा
२०७९ असोज १०, ०९:१२ खबर संवाददाता

डडेल्धुरा: सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपिठका रुपमा रहेको विश्व सम्पदा सूचीमा सूचिकृत उग्रतारा मन्दिरको पुरातन शैलीमा पुर्ननिर्माण गरिने भएको छ। सिमेन्टजन्य सामग्रीबाट निर्माण भएको उग्रतारा मन्दिरलाई विश्व सम्पदा सूचीबाट हटाइएपछि पुरातत्व विभागले सिमेन्टजन्य सबै सामग्री हटाएर काठ तथा बलियो ढुंगा प्रयोग गरेर पुरानै स्वरुपमा पुर्ननिर्माण गर्न थाल्ने भएको हो।

उग्रतारा मन्दिरलाई आकर्षक रुपले पुरातन शैलीमा चालु आर्थिक वर्षमै पुर्ननिर्माणको काम सम्पन्न गर्न पुरातत्व विभागले काम अघि बढाएको छ। उग्रतारा मन्दिर पुर्ननिर्माण परियोजनाका प्रमुख हरिप्रसाद भुषालले चालु आर्थिक बर्षभित्रै मन्दिर पुर्ननिर्माणको काम सम्पन्न गरिने जानकारी दिए। उनले जिल्लास्थित सबै सरोकारवालाहरुसँग समन्वय बैठकको आयोजना गरेर उग्रतारा मन्दिरको पुर्ननिर्माण कार्य थालनीका लागि सुझाव माग गरिएको बताए।  

उग्रतारा मन्दिरको पुर्ननिर्माण र पुरातन शैलीका संरचना निर्माण गर्न पुरातत्व विभागबाट विनियोजित रकम कार्यान्वयनका लागि सर्वपक्षीय सहमति भइसकेको र अविलम्व पुर्ननिर्माणको प्रकृया थालनी हुने उग्रतारा क्षेत्र विकास समिति डडेल्धुराका अध्यक्ष तेज बहादुर साँकीले जानकारी दिए। 

उग्रतारा मन्दिर पुर्ननिर्माणका लागि पुरातत्व विभागबाट विनियोजित रकम एक करोड बासठ्ठी लाख अन्र्तगत नापनक्सा लागत ईष्टिमेट तयार गरेर चालु आर्थिक वर्षभित्रै पुर्ननिर्माण कार्य सम्पन्न गर्न यथाशिघ्र टेण्डर प्रकृया थालनी गरिने विभागका प्रतिनिधि तथा  परियोजना प्रमुख भुषालले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस