सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा गठबन्धनका कारण ‘हेभी वेट’ नेता अलपत्र पर्ने संकेत

२०७९ असोज ८, ११:३१ रोशन भट्ट

धनगढीः नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह क्षेत्र डडेल्धुरा हो। मंसिर–४ मा हुने निर्वाचनका लागि देउवा डडेल्धुराबाटै प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा एकल सिफारिसमा परेका छन्। २०४८ साल पछिका सबै निर्वाचनमा अपराजित देउवा यसपटक पनि चुनाव लड्ने भएका हुन्।

२०६४ मा माओवादीको दबदबा हुँदा होस् या ०७४ मा बाम गठबन्धनको रापताप हुँदा, भिन्न अवस्थामा चुनाव जितेका देउवा यसपटक सत्ता गठबन्धनबाट साँझा उम्मेदवार बन्न लागेका छन्। डडेल्धुराबाट देउवाको उम्मेदवारी पक्का भएपछि माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई व्यवस्थापन गर्न चुनौती देखिएको छ।

आउने निर्वाचनमा देउवाका लागि भट्टले निर्वाचन क्षेत्र नै छोड्नुपर्ने अवस्था आएको छ। अन्य निर्वाचन क्षेत्रमा समेत उम्मेदवारी पक्का नभएका कारण भट्ट यस पटक अलपत्र बन्ने संकेत देखिएको छ। तर, माओवादीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्ट भने, पार्टीले आफ्नो व्यवस्थापन गर्नेमा ढुक्क छन्। ‘पार्टी केन्द्रले प्रतिकुल निर्णय गरेपनि म स्वीकार गर्न तयार छु,’ उनले भने, ‘तर, यस पटक पार्टीले मलाई त्यस्तो गर्दैन। मेरो उम्मेदवारी छिट्टै पक्का हुन्छ।’

निर्वाचन घोषणा भएसँगै चर्चामा रहेको अर्को क्षेत्र डोटी पनि हो। एक मात्रै निर्वाचन क्षेत्र रहेको डोटी काँग्रेसका वीरबहादुर बलायर र समाजवादीका प्रेमबहादुर आलेका कारण चर्चामा रहेको हो। दुवै नेता सत्ता गठबन्धनमा आवद्ध भएका कारण एक जनाले मात्रै टिकट पाउने निश्चित छ। बलायर प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा र आले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नजिक रहेका छन्। त्यसकारण पनि दुवै नेताले टिकट लिनका लागि भरपुर प्रयास गरिरहेका छन्।

अहिलेसम्मको चर्चा अनुसार डोटीको एक सिटमा आलेले टिकट पाउने लगभग पक्का भएको उनका कार्यकर्ता बताउँछन्। त्यसकारण बलायरले यस पटक डोटी त्याग गर्नुपर्ने देखिएको छ। यद्यपी अहिलेसम्म आधिकारिक निर्णय भने भएको छैन। यता काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायरले पनि पार्टी केन्द्रको निर्णय मान्ने बताएका छन्। ‘केन्द्रीय समितिको बैठकमा म पनि सहभागी थिए। गठबन्धन गर्ने विषयमा कसैले विरोध गरेन। जित्ने आधार हेरेरै केन्द्र निर्णय लिन्छ,’ उनले भने।

कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ पनि बहसको विषय बनेको छ। माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबनधका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी विना मगरको निर्वाचन क्षेत्र भएका कारण कञ्चनपुर–१ बहसको विषय बनेको हो। उक्त क्षेत्रमा पनि काँग्रेसका दिवानसिंह विष्टले उम्मेदवारी दाबी गरेका छन्। तर, प्रचण्डकी बुहारी बिनाले उक्त क्षेत्रबाट टिकट पाउने भएपछि विष्टले त्याग गर्नुपर्ने देखिन्छ।

कञ्चनपुर–१ मा गठबन्धन नै नगर्ने निर्णय गरेको काँग्रेसले टिकट नपाए विद्रोह गर्ने जनाएको छ। तर, गठबन्धन जोगाउनका लागि काँग्रेसका सभापति देउवा भने, प्रचण्डसँग जस्तो पनि सम्झौता गर्न तयार रहेका देखिन्छन्। त्यसकारण पनि कञ्चनपुर १ बाट चुनाव लड्ने योजना बनाएका काँग्रेसका नेताले ‘सहीद’ बन्नुपर्ने देखिन्छ।

काँग्रेस नेता दिवानसिंह विष्टले पनि कञ्चनपुर–१ मा गठबन्धन आवश्यक नपर्ने बताए। ‘कमजोर अवस्था भएको ठाउँमा गठबन्धन गर्ने हो। हामी यता बलियो छौं। यहाँ एक्ला–एक्लै चुनाव लड्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने।

काँग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द पनि प्रतिनिधि सभा सदस्यको निर्वाचनमा चुनाव लड्ने तयारीमा छन्। तर, उक्त क्षेत्रमा पनि गठबन्धनको तर्फबाट माओवादीले टिकट पाउने चर्चा छ। गठबन्धनका कारण सिट बाँडफाँटमै ठुला दलहरुले सहमती गर्दा केहीले त्याग गर्नुपर्ने अवस्था सिर्जना भएको छ। तर सहज रुपमा सहमती हुने अवस्था भने छैन।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस