सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्दको शिक्षा शाखामा तालाबन्दी

फाइल फोटो
फाइल फोटो
२०७९ असोज ७, ०८:२१ खबर संवाददाता

धनगढीः बैतडीको दशरथचन्द नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ। बढेको तलब नपाएको भन्दै आन्दोलित भएका नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत बालविकास सहजकर्ताहरुले नगरपालिकाको शिक्षा शाखामा शुक्रबार तालाबन्दी गरेका हुन्।

बालविकास सहजकर्ता मञ्जु भट्टले गएको वर्ष बढेको तलब नपाएकोमा यो वर्ष पनि नगरपालिकाले तलब दिन आनाकानी गरेपछि तालाबन्दी गरेको बताइन्। माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने उनीहरुले चेतावनी दिएका छन्। गत वर्ष नै नगरपालिकाले संघीय सरकारले दिएको तलबमा ७ हजार थप गर्ने निर्णय गरेको भएपनि अहिलेको नगर सरकारले त्यो सुविधा समेत कटौती गरेकोले आन्दोलन गरिएको अर्की बालविकास सहजकर्ता भागरथी भण्डारीले बताइन्।

बैतडीको दशरथचन्द नगरपालिकाभित्र ७१ जना बालविकास सहजकर्ता रहेका छन्। आफूहरुका मागका विषयमा नगर सरकारले सुन्नै नचाहेको बालविकास सहजकर्ताहरुले बताएका छन्। माग पूरा नभए आइतबार नगरपालिकामा समेत तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिएका छन्।
 

कमेन्ट लोड गर्नुस